पहिलो परीक्षणमा कैलालीमा ३ जनामा कोरोना संक्रमण भेटियो, दोस्रो परीक्षण हुँदै : स्वास्थ्य सचिव

नेपालमा एकैसाथ थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पहिलो चरणको परीक्षणमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार कैलाली र कन्चनपुरमा थप तीन जनामा संक्रमण देखिएको छ । 'उनीहरूको पहिलो चरणको परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो,' लोकान्तरसँग कुरा गर्दै उनले भने,'दोस्रो चरणको परीक्षण हुँदैछ । त्यसको नतिजा अबको ३ घन्टा भित्रमा आउँछ । त्यसपछि मात्रै मन्त्रालयले आधिकारिक जानकारी गराउँछ ।'


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनाका अनुसार कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यससँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९ पुगेको छ । जसमध्ये १ जना निको भइसकेका छन् । अन्यको उपचार जारी छ । 


Advertisement

मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने अन्य २ जना विदेशबाट आएका हुन् । जसमध्ये भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय युवक रहेका छन् भन् भारतकै उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय पुरुष रहेका छन् । 

यस्तै कैलालीको ३४ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्त भएको पाइएको मन्त्रालयले बताएको छ । 

मन्त्रालयको आधिकारिक फेसबूक पेजमा सूचना राखिएको भए पनि वेबसाइटमा भने यो समाचार तयार पार्दासम्म सूचना राखिएको छैन । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्