०७ साउन २०८३, बिहीबार

निजी अस्पताल बन्द गरेर चिकित्सक बेपत्ता, सञ्चालितमा पनि नर्सकै भर !

चैत २६, २०७६
निजी अस्पताल बन्द गरेर चिकित्सक बेपत्ता, सञ्चालितमा पनि नर्सकै भर !

अत्यावश्यक सेवा मानिएको अस्पताल बन्द गरेर २ नम्बर प्रदेशको जनकपुरधामका चिकित्सक बेपत्ता भएका छन् ।

कोरोना भाइरस संक्रमणको महामारी रोक्नका लागि सरकारले लकडाउन सँगसँगै सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ तर जनकपुरका कतिपय निजी अस्पताल तथा नर्सिङ होम बन्द गरिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयकै छेउमा रहेको बछार प्रसूती सेवा केन्द्र प्रालि नर्सिङ होम विगत २ हप्तादेखि बन्द छ । जनकपुरका चर्चित चिकित्सक डा. कल्पना बछारद्वारा सञ्चालित प्रसुती सेवा लकडाउन घोषणा भएदेखि नै बन्द देखिएको स्थानीय फेकन साह र देब मण्डलले बताए । ‘प्रत्येक दिनजसो प्रसुती हुने महिला आउने गर्छन्,’ ती स्थानीयले भने, ‘तर प्रसुती सेवा नै बन्द भएपछि अन्यत्र अस्पताल जाने गर्छन् ।’

नर्सिङ होमका २ वटा मुख्यद्वार छन्, दुवै द्वारमा भित्रबाट ताला लगाइएको छ ।

बाहिरबाट चर्काे स्वरमा बोल्दा नर्सिङ होमकी सञ्चालिका डा. कल्पना बछारकी देवरानी नगिना बछार गेटमा आइन् । उनले भनिन्, ‘लकडाउन भएका कारण डाक्टर सा’प बाहिर जानुभएकाले अस्पताल विगत २ हप्तादेखि बन्द छ । यहाँ आउने बिरामीलाई अस्पताल बन्द छ, प्रादेशिक अस्पतालमा जानुस् भनेर उता पठाइदिने गरेकी छु ।’

जनकपुरकै रामानन्द चोकमा डा. नमिता यादवले सञ्चालन गरेको आराध्या हस्पिटल पनि बन्द देखियो । अस्पताल सुनसान थियो । अस्पतालका २ जना कर्मचारी मात्र अस्पतालको रेखदेखका लागि औषधि पसलमा सुतेर बसेका थिए ।

‘बिरामी नै छैनन्, फेरि लकडाउन पनि छ, त्यसैले अस्पताल बन्द गरिएको छ,’ कर्मचारी रामहृदय ठाकुरले लोकान्तरसँग भने, ‘लकडाउन भएको दिनमा अस्पताल सञ्चालनमै थियो तर डाक्टर सा’पको निजी काम भएकाले बन्द गरिएको हो ।’ भर्ना भएका बिरामीलाई समेत डिस्चार्ज गरेर तथा अन्यत्र रेफर गरेर पठाइएको उनले बताए । उनका अनुसार हस्पिटल नेपाल सरकारद्वारा मान्यता प्राप्त २५ शय्याको अस्पताल हो । 

जनकपुरको रामानन्द चोकमा रहेको जनक मेमोरियल हस्पिटल समेत पूर्णरुपमा बन्द छ । बाहिर गेटमा तालाबन्दी गरिएको अस्पतालभित्र केही डकर्मीले काठका काम गरिरहेका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले बन्द रहेका अस्पतालको सम्बन्धन खारेजी गर्ने तथा उपचार नगर्ने चिकित्सकको लाइसेन्स समेत खारेजीको लागि नेपाल सरकारलाई अनुरोध गर्ने चेतावनी दिएपछि कतिपय बन्द भएका अस्पताल खुलेका छन् । स्थानीयका अनुसार जनकपुरमा सञ्चालनमा रहेका समर हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुर सिटी हस्पिटल प्रालि पनि बन्द थिए तर २ दिन अघिदेखि अस्पताल सञ्चालनमा आएका छन् । 

डा. सुमित यादवले सञ्चालन गरेको समर हस्पिटलमा पुग्दा ५ जनाजति बिरामी भर्ना भएका थिए । हेल्थ असिस्टेन्ट सुभाष मुखियाले सामान्य सर्जिकल गाउन लगाएका थिए । २५ शय्याको अनुमति प्राप्त अस्पतालमा प्रसुतीसहित आकस्मिक सेवा प्रदान गरिरहेको उनले बताए । जनकपुरका अधिकांश निजी अस्पतालमा १ देखि ५ जनासम्म बिरामी भर्ना भएका थिए ।

विनय तारा फाउन्डेसन क्यान्सर सेन्टर, जनकपुर सिटी हस्पिटल प्रालि, धनुषा अस्पताल प्रालि, देविक इन्टरनेसनल हस्पिटल, श्रीराम हस्पिटल प्रालि, केयर मेडिकल सेन्टर प्रालि, मिथिला अस्पताल प्रालि, आस्था हस्पिटल, गोदावरी हस्पिटल, जनकपुर बाल अस्पताल, रामजानकी हस्पिटल, जानकी मेडिकल कलेज सिटी हस्पिटल, जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटल प्रालिसहित दर्जनौं निजी अस्पताल खुलेका थिए तर २ देखि ३ वटा अस्पतालबाहेक कुनै पनि अस्पतालमा राम्रो बन्दोबस्त देखिएन ।

विनय तारा फाउन्डेसन क्यान्सर सेन्टरमा १ जना बिरामी मात्र भर्ना भएका थिए । अस्पताल भर्ना भएका ब्लड क्यान्सर तथा बोन क्यान्सर पीडितका छोरा रामकुमार साहले भने, ‘बिहान, बेलुका २ पटक चिकित्सक आएर हेरेर जानुहुन्छ । बाँकी काम नर्सले गर्छन् ।’ २५ शय्याको अस्पतालमा १ जना नर्स निधि झा मात्र थिइन् । ‘फोन कलमा चिकित्सक आउनुहुन्छ र चेक गरेर घर जानुहुन्छ,’ झाले भनिन्, ‘लकडाउनका कारण सिरियस बिरामीलाई अहिले हामीले भर्ना नै गर्दैनौं, अन्यत्र रेफर गरिदिन्छौं ।’ 

५० शय्याको केयर मेडिकल सेन्टर प्रालि नर्सिङ्ग होममा ३ जना बिरामी मात्र थिए । सेन्टरमा ओपीडी, इमर्जेन्सी, प्रसुतीसहित सुविधा सञ्चालनमा रहेका अस्पतालका सञ्चालक राहुल सिंघानियाले बताए । ‘सामान्य कपडाको मास्क तथा सर्जिकल गाउन दिएर स्वास्थ्यकर्मीबाट काम चलाइरहेका छौं,’ उनले भने, ‘बजारमा पीपीई नै पाइँदैन, किनेर कसरी दिने ?’

१५ शय्याको आस्था हस्पिटलमा १ जना बिरामी भर्ना भएका थिए । अस्पतालमा पुग्दा कुनै डाक्टर देखिएनन् । १ जना नर्स रन्जिता झा मात्र थिइन् । ‘अहिले हामीले इमर्जेन्सी सेवा मात्र दिने गरेका छौं,’ उनले भनिन्, ‘बिरामी नै छैन, त्यसैले डाक्टर सा’पहरू हुनुहुन्न ।’

५० शय्याको मिथिला अस्पताल प्रालिमा पुग्दा ४ जना बिरामी भर्ना थिए । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रानी झाले सञ्चालन गरेको अस्पतालमा १ जना पनि चिकित्सक थिएनन् । अस्पतालका प्रशासक उमेशकुमार यादव र १ जना नर्सको भरमा अस्पताल सञ्चालन गरिएको थियो । ‘आवश्यक परे फोन कलमा डाक्टर आउनुहुन्छ,’ यादवले भने ।

गोदावरी अस्पतालमा पुग्दा करीब २० जना बिरामी भर्ना थिए । अस्पतालमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीलाई न त मास्क दिइएको थियो, न त हातमा ग्लोब्स नै लगाइएको थियो । स्वास्थ्यकर्मीलाई गाउन, मास्क र ग्लोब्स दिएको भएपनि नलगाएको अस्पतालका प्रशासन हेर्ने कर्मचारी सुशीलकुमार साहले बताए ।

बाल रोग विशेषज्ञ चिकित्सक डा. जामुन सिंहले सञ्चालन गरेको जनकपुर बाल अस्पतालमा पुग्दा ५ जना बिरामी भर्ना थिए । अस्पतालमा चिकित्सकदेखि स्वास्थ्यकर्मीले कोरोनाको डर तथा जागिर नै नगर्नुपर्ने भन्दै राजीनामा नै गरेका छन् । ओपीडीमा कन्सल्टेन्ट डा. जाफर राइन रेनकोट लगाएर बसेका थिए । ‘अस्पताल सञ्चालकले पीपीई दिएको भएपनि अहिले जनकपुरमा कोरोनाको संक्रमण नदेखिएकाले पीपीई लगाएको छैन,’ डा. राइनले भने, ‘कोरोनाको डरका कारण ३ जना स्वास्थ्यकर्मीले अस्पतालबाट राजीनामा गरेका छन् ।’

प्रायःजसो निजी अस्पताल नामको लागि सञ्चालनमा त छन् तर अस्पतालमा चिकित्सक नै आउने गरेका छैनन् । स्टाफ नर्स, सीएमए, अहेब र प्रशासनका कर्मचारीको भरमा सामान्य बिरामीलाई भर्ना गरेर अस्पताल सञ्चालन गर्ने गरेका छन् । एक अस्पताल सञ्चालकले भने, ‘डाक्टर सा’पहरूलाई अहिले जति फोन गरेर बोलाएपनि आइरहेका छैनन् ।’ प्रायः अस्पतालमा सुरक्षा सतर्कता अपनाएको नै देखिएन ।

जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा डा. रमेशकुमार यादवसहित अन्य चिकित्सकले पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) लगाएका थिए ।

रामजानकी अस्पतालमा कार्यरत चिकित्सकले पनि पीपीई लगाएका थिए । जानकी मेडिकल कलेजको सिटी अस्पताल सबैभन्दा बढी व्यवस्थित देखिएको थियो । अस्पतालको मुख्य प्रवेशद्वारमा पीपीईसहित लगाएका नर्सले बिरामीको थर्मल गनले तापक्रम नापेर अस्पतालभित्र पठाउने गरेका थिए । भित्र विभिन्न वार्डमा चिकित्सक तैनाथ थिए ।

हेर्नुहोस्, थप फोटोहरू :

कमेन्ट गर्नुहोस्