
चालकहरूलाई रोगको संक्रमणबाट जोगाउन एम्बुलेन्सहरूमा सेफ्टी क्याबिन जडान गरिएको छ । कोरोना भाइरसले महामारीको रुप लिएपछि एम्बुलेन्सले जस्तोसुकै बिरामी पनि बोक्नुपर्ने अवस्था आउने भन्दै चालकलाई सुरक्षित राख्न गाडीहरूमा धमाधम पार्टेसन गर्न थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देही र जनस्वास्थ्य कार्यालयले एम्बुलेन्स चालकहरूलाई चालक र बिरामीबीचको दूरी कायम राख्न गाडीमा पार्टेसन गर्न निर्देशनसमेत दिएको छ । केही स्थानीय तहले आफै एम्बुलेन्सहरूको पार्टेसन गरिदिएका छन् ।
संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष सुरज तिवारीले रुपन्देहीका ३५ वटा भन्दा बढी एम्बुलेन्सहरूमा पार्टेसन गरिएको बताए । उनले भने, ‘हामीले जस्तोसुकै बिरामी पनि बोक्नुपर्ने अवस्था आउँछ । जसले गर्दा रोग संक्रमणको जोखिम बढने भएकोले बिरामी राख्ने र चालक सिटको दूरी बढाउने पार्टेसन गराएका छौं ।’
उनले थपे, ‘जोखिममा पर्नुभन्दा सुरक्षित हुन आवश्यक ठानेर केही चालकहरूले आफ्नै लगानीमा प्लाइउड र केहीले आल्मुनियले गाडी पार्टेसन गरेका छन । यसले गर्दा केही हदसम्म भए पनि सुरक्षित हुन सकिन्छ ।’
रुपन्देहीमा ८० भन्दा बढी एम्बुलेन्स सञ्चालनमा छन् । पश्चिम नवलपरासीको सुवनल नगरपालिकाले आफ्ना नगरभित्रका १० वटा एम्बुलेन्समा पार्टेसन गरिदिएको छ । रुपन्देहीबाट एम्बुलेन्सहरू बिरामी, भरतपुर, भैरहवा र काठमाडौंसम्म पुयाउने गर्छन् ।
लु १ च ४७५५ नम्बर एम्बुलेन्सका चालक हरि कार्कीले जोखिमपूर्ण अवस्था पनि काम गर्ने चालकहरू खटिनुपर्ने भएकोले क्याविन जडान गरेको बताए । उनले भने, ‘बिरामी बोक्दिन भन्न मिल्दैन । त्यसैले सुरक्षित रहन मेलै व्यक्तिगत खर्चमा क्याविन जडान गरे ।’
ग्यारेज बन्द हुँदा एम्बुलेस मर्मत हुन पाएका छैनन् । जसले गर्दा कहाँ पुगेर बिग्रिने हुन् भन्ने चालकहरूलाई चिन्ता छ । आफ्नै खर्चमा संस्थाले सुनवल नगरपालिकामा १० वटा एम्बुलेन्समा पार्टेसन गरिदिएको छ । पार्टेसन नगरेका एम्बुलेन्स संक्रमणको जोखिम हुन्छ । केही दिन अगाडि बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका रुपन्देहीका सैनामैनाका बाबुराम थापाको शव बोक्न एम्बुलेन्स चालकहरूले मानेका थिएनन् । उनलाई कोरोना नभएको पुष्टि भए पनि संक्रमणको जोखिम हुने भन्दै सबै त्रसित भएका थिए ।
रुपन्देहीका ३५ वटा गाडीमा पाटेसन गरिएको छ । एम्बुलेन्स चालक संघका पहलमा पीपीई उपलब्ध गराइएको छ । जस्तोसुकै कठिन अवस्थामा पनि एम्बुलेन्सले बिरामी बोक्न सक्दिन भन्न पाइँदैन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले अगाडि र पछाडिको भाग अलगाउन एम्बुलेन्सलाई पार्टेसन गर्न निर्देशन दिइएको बताए । उनले भने, ‘पछाडिको संक्रमण अगाडि नफैलियोस् भनेर निर्देशन दिइएको हो । के भइरहेको छ फलो गर्न पाइएको छैन ।’
स्वास्थ्य शिक्षा तथा सामुदायिक स्वाथ्य संस्था राप्ती गाउँपालिकाका एम्बुलेन्स चालक सुवास चौधरीले पनि २० दिन अगाडिदेखि गाडी पार्टेसन गरेर चलाएका छन । उनी भन्छन्, ‘संक्रमणबाट जोगिन गाडी पार्टेसन गरेको हुँ । बिरामीबाट भाग्न मिल्दैन । बिरामी बोकेर कहिले काठमाडौं । त कहिले भरतपुर पुग्नुपर्छ । आज बुटवल आएँ ।’
एम्बुलेन्स चालकहरूलाई पीपीई पनि पर्याप्त छैन । रुपन्देही एम्बुलेन्स चालक संघको पहलमा केही चालकहरूलाई वितरण गरिए पनि सबैलाई उपलब्ध छैन ।