०४ साउन २०८३, सोमबार

गण्डकी प्रदेशको बजेट आज, स्वास्थ्य र कृषिका कार्यक्रममा प्राथमिकता

असार १, २०७७
गण्डकी प्रदेशको बजेट आज, स्वास्थ्य र कृषिका कार्यक्रममा प्राथमिकता

गण्डकी प्रदेश सरकारले आव २०७७/०७८ को बजेट आज सार्वजनिक गर्दैछ । चालु आवकै हाराहारीमा आउने बजेटले स्वास्थ्य र कृषिका कार्यक्रमलाई प्राथमिकता राखेको जनाइएको छ । 

स्रोतका अनुसार आगामी आवको लागि ३१ अर्ब रुपैयाँ बराबरको बजेट आउने भएको छ । गत वर्ष चालु आवको लागि ३२ अर्ब १३ करोड ४७ लाखको बजेट ल्याइएकोमा आव २०७५/०७६ मा २४ अर्ब २ करोडको बजेट आएको थियो । 
अर्थ मन्त्रालयले ३० अर्बभन्दा बढीको बजेट नल्याउन भने पनि अन्य मन्त्रालयले थप्न जोड दिएका हुन् । आगामी वर्षको लागि सामाजिक विकास मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको बजेट बढ्ने देखिन्छ । 

स्वास्थ्यमा पूर्वाधार एवं जनशक्ति न्यून रहेकोले सामाजिक विकास मन्त्रालयको बजेट बढ्ने छ भने उद्योगको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिने भएको छ । 

कोरोनाको महामारी बेला रोगविरुद्ध लड्दै प्रदेशको अर्थतन्त्र चलायमान बनाउन बजेट केन्द्रित हुने अनुमान छ । गत वर्ष सुरु निर्वाचन क्षेत्र विकास कार्यक्रम आगामी आवमा पनि निरन्तरता पाउने जनाइएको छ । यस्तै मुख्यमन्त्री वातावरणमैत्री कृषि कार्यक्रमले निरन्तरता पाउने छ । 

कोरोना महामारीका कारण विदेशबाट धेरै नेपालीहरू फर्किन सक्ने भएकोले उनीहरूलाई रोजगार दिलाउन कृषिमा नयाँ प्याकेज ल्याउने जनाइएको छ । 

प्रदेशको प्रथम पञ्चवर्षीय योजनासँग मेल खाने गरी बजेट आउने पूर्व तयारी रहे पनि कोरोना महामारीका कारण सो लक्ष्य प्राप्तिको अवधि भने बढ्न सक्ने अनुमान छ । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सोमबार दिउँसो ४ बजे प्रदेशसभामा आगामी आवको बजेट प्रस्तुत गर्दैछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्