कोरोनाविरुद्ध विश्वभर १८ वटा खोप मान्छेमा परीक्षण, गरीब देशमा कहिले पुग्छ ?

कोरोना भाइरसको त्रास सम्भवतः अब धेरै रहने छैन । यसलाई रोक्ने सम्भावित खोपहरू विश्वभर विकसित भइरहेका छन् ।

रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका लागि प्रक्रिया पूरा गर्ने तयारीमा रहेको जनाएको छ ।


Advertisement

रुसी वैज्ञानिकहरूले उक्त खोपको प्रारम्भिक परीक्षण पूरा भइसकेको र यसका परिणामहरू सफल आएका बताएका छन् । यो खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए इनकोडिङमार्फत आवश्यक प्रतिरक्षा कोषिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

गत साता अक्सफोर्ड युनिभर्सिटीकी प्राध्यापक सेरा गिल्बर्ट विश्वभर निकै चर्चामा रहिन् । तीन सय जनाको ठूलो समूह बनाएर कोरोना भाइरस विरुद्धको खोप बनाउने अभियानमा नेतृत्व गरिरहेकी गिल्बर्टको समूहले ‘ठूलो सफलता पाएको’ बताइएको छ ।


Advertisement

सामान्यतया खोप विकासमा ५ वर्ष लाग्ने चरणहरू गिल्बर्टको समूहले ४ महिनामै पूरा गरेको थियो । उनको समूहले १ हजार ७७ जनामा खोपको क्लिनिकल परीक्षण गरिरहेको छ ।

उनीहरूले परीक्षण गरेको खोप मानव स्वास्थ्यका लागि सुरक्षित रहेको र कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकासमा मद्दत पुगेको बीबीसीले जनाएको छ । चिम्पाञ्जीलाई रुघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसको अनुवांशिक सुधार गरेर बनाइएको यो खोप बेलायतले अहिले नै १० करोड मात्रा (डोज) माग गरिसकेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले आगामी १५ अगस्टमा पर्ने स्वतन्त्रता दिवसमा कोरोनाविरुद्ध खोप मानिसमा प्रयोगका लागि ल्याउने योजना अघि सारेको थियो । खोप विकासको प्रक्रियागत चरण र मापदण्ड पूरा नगरी हतारमा खोप ल्याउन खोजेको भन्दै व्यापक विरोध भएपछि उक्त संस्थाले ‘समयसीमा नतोकिएको’ स्पष्टीकरण दिए पनि खोपको तयारी तीव्र पारिरहेको छ । चीनमा कोरोना भाइरसविरुद्ध बनिरहेको खोपमध्ये एउटा सन् २०२० भित्रै मानव प्रयोगका लागि तयार हुन सक्ने समाचारहरू आएका छन् ।

चिनियाँ कम्पनीले संयुक्त अरब इमिरेट्समा तेस्रो चरणको मानव परीक्षण गरिरहेको छ । अर्को कम्पनीले ब्राजिलमा त्यही विधिमा परीक्षण गरिरहेको जनाएको छ । जर्मनी, अस्ट्रेलिया र अमेरिकामा पनि थुप्रै समूहले खोप विकासमा निकै मेहनत गरिरहेका छन् । बेलायतकै इम्पिरियल कलेजको एउटा समूहले पनि सन् २०२१ को प्रारम्भमै कोरोना भाइरसविरुद्ध मानिसमा प्रयोग गर्न सक्ने गरी खोप विकास गरिरहेको छ । अहिले धेरै खोपहरू भाइरसलाई परिमार्जित गरेर वा त्यसलाई निस्तेज पारेर बनाइँदैछ ।

भाइरसको अंश प्रयोग गरेर पनि यस्तो खोपको विकास भइरहेको छ । तर यो समूहले कोरोना भाइरसको नक्कल गर्ने कृत्रिम अनुवांशिक संरचना ‘निर्माण’ गरेर खोप बनाउन प्रयोग गरेको छ । अहिले विश्वभर करिब २०० वटा समूहमा अनुसन्धानकर्ताहरू कोरोना भाइरसविरुद्धको खोप बनाउनमा लागिपरेका छन् । त्यसमध्ये १८ वटा खोप मानवमा परीक्षण भइरहेका छन् । २२ वटा सम्भावित खोप क्लिनिकल परीक्षणको चरणमा छन् भने १०० भन्दा धेरै खोप प्रारम्भिक अनुसन्धानकै चरणमा छन् ।

धेरैले चाँडोमा सन् २०२१ को मध्येतिर मात्रै संसारले पर्याप्त खोप प्राप्त गर्न सक्ने आकलन गरेका छन् । कोरोना भाइरसविरुद्ध खोपमा बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको परिपालना नगर्ने विश्व सहमति बनिसकेकाले यसको उपलब्धता चाँडो हुन सक्ने अपेक्षा छ । तर अर्बौं डोज उत्पादन गर्नुपर्ने भएकाले विकसित मुलुकले खोपको प्रयोग गरेपछि पनि गरीब देशमा लामो प्रतिक्षा गर्नुपर्ने हुन सक्छ । तथापि, त्यस्तो प्रतीक्षा अबको एक वर्षभन्दा लामो नहुने अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् ।

कसरी बन्छ खोप ?

खोप भनेको नयाँ औषधि बनाएर शरीरमा पठाउने होइन कि रोग लगाउने भाइरसलाई नै शरीरमा पठाएर प्रतिरोधी क्षमता विकास गराउने पद्धति हो ।

यसका लागि सामान्यतया घातक भाइरसलाई वैज्ञानिकहरूले प्रयोगशालामा हुर्काउँछन् । प्राणीको शरीरभन्दा निकै चाँडो हुर्काउने र प्रजनन गराउने प्रक्रियाबाट भाइरसलाई कमजोर पारिन्छ । यस्तो प्रक्रियालाई वैज्ञानिकहरू ‘भाइरस कल्चर गर्ने’ भन्छन् । त्यसरी कमजोर पारिएको भाइरसलाई थोरै थोरै मात्रामा मानव शरीरमा खोपमार्फत पठाइन्छ । ताकि, त्यो भाइरसले मानव शरीरमा पूर्ण रूपमा संक्रमण गर्न नसकोस् । त्यसरी शरीरमा नयाँ भाइरस प्रवेश भएपछि शरीरले औसत २ हप्तामा त्यस्तो संक्रमणविरुद्धको प्रतिरोधी क्षमता तयार पार्छ ।

भाइरससम्बन्धी विज्ञहरूका अनुसार मानव शरीरले त्यस्तो नयाँ भाइरससँग मुठभेड भएको तीन सातासम्ममा प्रतिरोधक क्षमता विकास गरेर प्लाज्मा (रगतमा हुने सुक्ष्म कण) सम्म पुर्‍याउँछ ।

त्यसपछि प्रतिरोधी शरीर त्यस्तो भाइरसविरुद्ध लड्न तयार हुन्छ । तर कोरोनाको हकमा भाइरसको अनुवांशिक कोड वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन् । अब यो भाइरस वैज्ञानिकहरू प्रयोगशालामै बनाउन सक्छन् । त्यसैकारण यसको खोप पुष्टि भएमा व्यापक उत्पादन गर्न सम्भव हुने देखिएको छ । कतिपय वैज्ञानिकहरूले भिन्न विधिबाट पनि खोप बनाउन प्रयत्न गरिरहेका छन् ।

केही वैज्ञानिकले यो भाइरसको अनुवंश (डीएनए) लाई प्रयोग गरेर मानव शरीरमा ‘भाइरल प्रोटिन’ बनाउने विधिको खोजी गरिरहेका छन् । कतिपयले भने कोरोनाको अनुवांशिक कोडलाई अरू हानिरहित भाइरसमा राखेर मानव शरीरमा पठाउने विकल्पमा पनि काम गरिरहेको बीबीसीले लेखेको छ । त्यसो गर्दा हामीलाई हानी नगर्ने सामान्य भाइरस मानव शरीरमा पठाएर कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न सकिन्छ । 

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले रुसलाई भाइरस खोपसम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह गरेको छ । रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्काले यही अक्टोबरमा कोरोना भाइरसविरुद्ध सामूहिक खोप अभियान शुरू गर्ने घोषणा गरेपछि डब्लूएचओले रूसलाई सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्ने निर्देशनहरू पालना गर्न सुझाएको हो ।

संगठनका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले मंगलबार जेनेभामा पत्रकारसँग कुराकानी गर्दै भने, ‘उत्पादनका लागि कुनै पनि खोप वा औषधिले अनुमतिपत्र प्राप्त गर्नुपर्छ । उनीहरूले विभिन्न परीक्षणहरू पार गर्दै अघि बढ्नुपर्छ ।’ कहिलेकाहीँ अनुसन्धानकर्ताहरूले केही नयाँ कुरा पत्ता लगाएको दाबी गर्नु वास्तवमै खुसीको कुरा रहेको बताउँदै उनले थपे, ‘हुन सक्छ कसैले खोप पत्ता लगाउने काम गर्‍यो । तर यसको आधिकारिकताका लागि धेरै चरणहरू पार गर्नपर्छ ।’ खोप विकासको मार्ग भेट्नु र विभिन्न चरण पार गरेर सबै काम गर्ने खोप बनाउनुमा ठूलो भिन्नता रहेको पनि उनले प्रष्ट्याए ।

रुसले तयार पार्दै गरेको भ्याक्सिन डब्लूएचओको ६ वटा मान्यता प्राप्त खोपको सूचीमा भने परेको छैन । तीन चरणका क्लिनिकल परीक्षण पूरा गरेका र मानिसमा व्यापक परीक्षण भएका खोप डब्लूएचओको सूचीमा परेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

रुसी मिडियाले स्वास्थ्यमन्त्री मुरास्कोलाई उद्धृत गर्दै उक्त खोप सबैभन्दा पहिले डाक्टर र शिक्षकहरूलाई दिइने पनि जनाएको छ । समाचार एजेन्सी रोयटर्सले अज्ञात स्रोतलाई उद्धृत गर्दै रुसको पहिलो सम्भावित खोपलाई यसै महिना नियामकहरूले अनुमोदन गर्ने बताएको छ । यद्यपि रुसको उक्त ‘फास्ट ट्र्याक’ कदममा केही विशेषज्ञहरू भने चिन्तित रहेका छन् ।
 
गत शुक्रवार अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौसीले रुस र चीनले वास्तवमै खोपको परीक्षण गरिरहेका छन् भन्नेमा आफू आशावादी रहेको जनाएका थिए । यसै वर्षको अन्त्यसम्म अमेरिकासँग सुरक्षित र प्रभावकारी खोप हुनुपर्छ भन्नेमा डा. फौसीको अडान छ ।

‘खोप हाम्रो पहुँचभन्दा धेरै टाढा हुनेछ र यसलाई उपलब्ध गर्न हामी अन्य देशहरूप्रति निर्भर रहनुपर्नेछ भन्ने मलाई विश्वास लाग्दैन,’ उनले अमेरिकी सांसदहरूलाई भने । (एजेन्सीको सहयोगमा)

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्