१५ असार २०८३, सोमबार

पाण्डवको पालाको धार्मिक स्थल भ्यूदुला, संरचना निर्माणमा बल्ल पुग्यो सरकारको ध्यान

साउन २७, २०७७
पाण्डवको पालाको धार्मिक स्थल भ्यूदुला, संरचना निर्माणमा बल्ल पुग्यो सरकारको ध्यान

हुम्ला जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तब्य भ्यू दुलाको महत्व बचाउन प्रदेश सरकारको बल्ल  ध्यान पुगेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपालिकाको सीमानामा पर्ने समुद्री सतहबाट पाँच हजार मिटरको उचाइमा रहेको भ्यू दुलामा पुग्न मार्ग निर्माण गरिएपछि पाँच पाण्डवका पालामा पहाडमा परेको प्वालको संरक्षणमा सरकारको ध्यान पुगेको हो । 

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत हुम्लामा रहेको डिभिजन बन कार्यालयका सव इन्जिनियर दिपक रावतका अनुसार १०८ वटा सिमेन्टको सिँढी, ३६ वटा सिमेन्टको पक्की पिलर, ढलानसहित दुइ वटा चौर निर्माण गरिएको छ । यस्तै, १८ सय मिटर बाटो निर्माण भएको छ भने पचास एमएमको स्टेनलेस स्टिलका ३६० मिटर रेलिङको प्रयोग गरिएको हो ।

मानसरोवरको तालबाट तत्कालिन पाण्डव मध्येका भीमसेनले अग्ला डाँडालाई सम्म बनाउन भन्दै ढुंगा हानेका थिए । त्यो पहाडमा एक हल गोरु छिर्ने प्वाल बनेको छ । स्थानीय गोरखबहादुर विष्टले भने, उक्त ढुंगा शीव मन्दिर नजिक पुगेको भन्ने किंवदन्ती छ । ढुंगामा भीमसेनको चित्रसमेत कोरिएको छ ।

भ्यूदुला निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम रोकायाका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा निर्माण कार्य हिउँ परेको समयमा नै गरिएको बताए । हामीले त्यहाँ वरिपरि रहेका १२ वटा देवताको मन्दिरमा सानो चौर बनाएका छौं । ताकी यहाँ आउने पर्यटकलाई बस्न समस्या नहोस । उनी भन्छन्, अब त्यहाँ धर्मशाला बनाउन सकेको भए धार्मिक पर्यटकको ओइरो लाग्ने थियो ।

उनका अनुसार भ्यू दुलामा एक बोरा सिमेन्ट लैजान १३ हजार परेको थियो । कार्यालयबाट ५० लाख बजेट भुक्तानी भएकोमा कन्टिजेन्सी काटेर थप पाँच लाख रुपैंयाको खार्पुनाथमा धर्मशाला निर्माण गरिएको छ । भ्यू दुलाबाट सिमिकोट, चंखेली, मुगु जिल्लाका केहि भाग र हुम्लाका अधिकांश भागको दृश्यावलोकन गर्न सकिन्छ ।

डिभिजन  वन कार्यालय हुम्लाका प्रमुख निरज झाका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्र भएका कारण त्यहाँ लगानी गरिएको बताए । अपेक्षा गरेको भन्दा काम राम्रो भएको बताउँदै उनले त्यति उचाइमा पनि यति राम्रो संरचना निर्माण गर्नु ऐतिहासिक भएको बताए ।

उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ऐतिहासिक र धार्मिक महत्व बोकेका हरेक पर्यटकीय स्थलको निर्माणमा सरकार प्रतिबद्ध भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्