
कोरोना महामारीका कारण आर्थिक समस्यामा परेका उपत्यकावासी दैनिक उपभोग्य वस्तुमा भएको अत्यधिक मूल्यवृद्धिको मारमा समेत परेका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लाले बुधवारदेखि निषेधाज्ञा जारी गरेसँगै उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्दा उपभोक्ता मारमा परेका हुन् ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बुधवार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै तरकारी, फलफूल लगायतमा चरम मूल्यवृद्धि भएको छ ।
निषेधाज्ञापछि उपत्यकामा अत्यावश्यकबाहेक सबै क्रियाकलाप बन्द गरिएको छ । तरकारी तथा फलफूल अत्यावश्यक सामग्रीअन्तर्गत राखिएको छ भने आयातमा पनि कुनै रोक लगाइएको छैन ।
यद्यपि बजारमा भने तरकारी तथा फलफूल आयात नभएको भन्दै व्यवसायीहरूले मूल्यवृद्धि गरेका छन् । केही व्यवसायीहरूले काठमाडौं उपत्यका छिर्ने मुख्य नाका नागढुंगामा फलफूल तथा तरकारी रोकिँदा मूल्यवृद्धि गर्नुपरेको बताएका छन् ।
कीर्तिपुरस्थित एक तरकारी तथा फलफूल व्यवसायी नागढुंगामा तरकारी रोकिएको बताउँदै माग धान्न मूल्य बढाउनुपरेको बताउँछन् ।
लोकान्तरसँग उनले भने,‘नागढुंगामा तरकारी रोकिएको छ, आयात नरोक्ने भनेपनि प्रहरीले रोकेका छन्, त्यसकारण तरकारी अभाव छ, अनि मूल्य त बढ्ने नै भयो ।’
यता त्रिपुरेश्वरमा फलफूल बिक्री गर्दै आएका अर्का व्यवसायी पनि निषेधाज्ञाका कारण बजारमा फलफूल अभाव रहेको र मूल्य बढाउनुपरेको बताउँछन् ।
कालिमाटी फलफूल तथा तरकारी बजारले भाद्र ४ गते न्यूनतम १९० देखि अधिकतम २०० रुपैयाँ अनारको मूल्य कायम गरेको थियो । तर ती व्यवसायीले बजारमा अनार अभाव रहेको भन्दै प्रतिकेजी ३३० देखि ४०० रुपैयाँ हाराहारीमा निकै जोडतोडका साथ बिक्री गरिरहेका थिए ।
अनारको मूल्य किन यति धेरै ? लोकान्तरको प्रश्नमा उनले भने, ‘कालिमाटीमा भन्दा यहाँ थोरै त बढी हुन्छ नै, तर अहिले फलफूल अभाव छ, आयात छैन भन्छन्, यो मूल्यमा त सबैले लगेका छन् ।’
बजारमा स्याउको मूल्य पनि उस्तै महंगो छ । बजारअनुसार व्यवसायीले एक सय वा सोभन्दा बढी मूल्य बढाएर तरकारी तथा फलफूल बिक्री गरिरहेका छन् भने उपभोक्ता पनि किन्न बाध्य छन् ।
कालिमाटीमा नै बढ्यो ९० रुपैयाँसम्म मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नै तरकारी तथा फलफूलको मूल्यमा १० देखि ९० रुपैयाँसम्म वृद्धि गरेको छ ।
उपत्यकामा निषेधाज्ञा जारी गर्नुअघि भाद्र २ गते न्यूनतम १२० देखि १३० रहेको हरियो लसुनको थोक मूल्य भाद्र ६ गते १० रुपैयाँले बढेको छ ।
यस्तै रायो, पालुंगो तथा चम्सुरको सागको मूल्य पनि १० रुपैयाँले बढेको छ । यस अवधिमा हरियो प्याजको मूल्य ३० रुपैयाँले बढेको छ भने परबलमा पनि ३० देखि ३५ रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।
यस अवधिमा कागतीको मूल्य सर्वाधिक उचाइमा पुगेको छ । कागतीको मूल्य ९० रुपैयाँले वृद्धि भई न्यूनतम २४० देखि अधिकतम २५० रुपैयाँसम्म कायम भएको छ ।
बजार विकास समितिका उपनिर्देशक एवं सूचना अधिकारी विनोद श्रेष्ठले १०/१५ रुपैयाँ मूल्य वृद्धि हुनु सामान्य भएको बताउँदै बजारमा त्यतिधेरै मूल्यवृद्धि नभएको जिकिर गरे । उनले भने, ‘१०/१५ रुपैयाँ मूल्यवृद्धि सामान्य नै हो, केही वस्तुमा बाहेक अरूमा त्यस्तो ठूलो मात्रामा मूल्यवृद्धि भएको छैन ।’
उनका अनुसार निषेधाज्ञाले तरकारी तथा फलफूलको आयातमा बाधा उत्पन्न भएको छैन । बीचमा केही बिचौलियाहरू सक्रिय हुँदा बजारमा मूल्यवृद्धि भएको हुनसक्ने उनी बताउँछन् ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बिचौलिया सक्रिय हुँदा पनि अधिकारप्राप्त स्थानीय निकाय मौन रहँदा उपभोक्ता मूल्यवृद्धिको मारमा पर्ने गरेको बताउँछन् ।
स्थानीय तहमा संविधानले बजार अनुगमनको अख्तियारी दिएपनि उनीहरूले त्यसलाई बेवास्ता गर्दा उपभोक्ता दिनहुँ ठगिएको उनको भनाइ छ ।
लोकान्तरसँग उनले भने, ‘स्थानीय निकाय, काठमाडौं महानगरपालिका वा अरूलाई पनि अधिकार छ बजार अनुगमन गर्ने र नियन्त्रण गर्ने, तर उनीहरूले न कानून बनाउन सके न काम गर्न नै ।’
उनले थपे, ‘वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अनुगमनमा धेरै सक्रिय छैन, अधिकार पाएको सरकारले नै काम गर्दैन भने विभागलाई कति गाली गर्ने ? अब कानून बनाएरै अगाडि बढ्नेतर्फ ध्यान दिनुपर्छ ।’
यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी निषेधाज्ञाको शुरूआती दिनमा बजार खुल्ने समय निर्धारण नहुँदा अनुगमनमा समस्या परेको बताउँछन् ।
‘बजार कुन बेला खोल्ने ? यसबारे केही भनिएन, अहिले बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्ने भनिएको छ, अब अनुगमन सहज होला,’ उनले भने ।
उनले आफूहरू नियमित अनुगमनमा खटिएको बताउँदै अनुगमनका क्रममा कसुर भेटिए तत्काल कारवाही गरिने दाबी गरे । उनले बजार अनुगमनमा स्थानीय निकाय पनि सक्रिय ढंगले लाग्नुपर्नेमा जोड दिए ।
मूल्यसूची :
