
कपिलवस्तु नगरपालिका - २ र कृष्णनगर नगरपालिका - १० का दुई पुरुषको गत साउन २८ गते कोभिड– १९ संक्रमणका कारण निधन भयो ।
४० र ४२ वर्षका ती पुरुषमा कुनै दीर्घरोग थिएन । दुवै जनाको कुनै ट्राभल हिस्ट्री पनि थिएन । हट्टाकट्टा उमेरका उनीहरू स्थानीय संक्रमणको शिकार भए र ज्यान गुमाए ।
लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले उनीहरू दुवैमा अन्य कुनै रोग नभएको जानकारी दिए । 'उहाँहरूमा अन्य कुनै रोग देखिएको थिएन,' डा. थापाले भने, 'यहाँ मृत्यु हुने ५ जनामध्ये २ जनामा अरू रोगको लक्षण थिएन ।'
कोभिड १९ को सबैभन्दा ठूलो असर दीर्घरोगी र वृद्धावस्थाका व्यक्तिहरूलाई मात्र पर्छ भन्ने भाष्य पछिल्लो समय गलत प्रमाणित हुन थालेको छ । २० देखि ४०-४५ उमेर समूहकै धेरै व्यक्तिहरूलाई कोरोनाले शिकार बनाएको छ ।
कोरोनाले उमेर पुगेका र अन्य रोग भएकाहरू मात्र होइन, कुनै रोग नै नभएका र उमेर पनि नपुगेका व्यक्तिहरूको मृत्युदर नेपालमा बिस्तारै बढाउँदै लागिरहेको छ ।
सेती प्रादेशिक अस्पतालमा करीब २ महिनाअघि त्यस्तै दीर्घरोग नभएका एक व्यक्तिको मृत्यु भयो । कैलालीको गोदावरी नगरपालिका बस्ने उनी ४६ वर्षका बस व्यवसायी थिए । 'उनको व्यवसाय नै यात्रुहरूलाई यता उता लैजाने भएकाले उनमा अन्यबाट संक्रमण सरेको थियो तर कुनै दीर्घरोग भने थिएन,' अस्पतालका फोकल पर्सन डा. जगदीश जोशीले लोकान्तरसँग भने ।
माथिका केही उदाहरण मात्र हुन् । पछिल्लो समय उमेर नपुगेका र दीर्घरोग नदेखिएका धेरै संक्रमितहरूको मृत्यु हुने क्रम बढिरहेको छ । यसले सुरक्षित मानिएको युवा उमेर समूहलाई 'थ्रेट' गरेको छ ।
'थ्रेट' कति डरलाग्दो ?
कतिपय विज्ञहरूले कोभिड– १९ कै कारण मात्र हुने मृत्यु बढ्न थालेकोमा चिन्ता व्यक्त गर्न थालेका छन् । क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संयोजक डा. शेरबहादुर पुनले उमेर नपुगेका र दीर्घरोग नभएकाहरूको मृत्यु हुनु बढी दु:खद् रहेको बताए ।
'मृत्यु त कसैको पनि हुनुहुँदैन, तर युवावस्था र दीर्घरोग नभएको अवस्थामा नितान्त कोभिड– १९ कै कारण मृत्यु भएको भन्ने खबर आइरहेको छ, यो हाम्रा लागि बढी गम्भीर छ,' डा. पुनले लोकान्तरसँग भने, 'यो दर अगाडि बढ्छ कि यत्तिकै रहन्छ भनेर मैले पनि नजिकबाट हेरिरहेको छु ।'
उनले युरोप, अमेरिका जस्ता देशहरूमा पनि दीर्घरोगीहरूको मृत्यु बढी भएको पाइएको बताए । 'कोरोनाका कारण मृत्यु हुनेहरूमा दुईवटा अब्जरभेसन महत्त्वपूर्ण हुन्छ,' डा. पुनले भने, 'पहिलो उमेर र दोस्रो दीर्घरोग । रक्तचाप, मधुमेह, मिर्गौला रोग, अन्य स्नायूसम्बन्धी रोग भएकालाई कोरोनाले बढी सिकिस्त बनाउँछ । अनि ६५-७० वर्ष कटेकाहरूको इम्युन सिस्टम कमजोर हुने हुनाले उनीहरूलाई पनि छिटो असर गर्छ ।'
के दीर्घरोग नभएकामा पनि रोग प्रतिरोधात्मक क्षमता कम हुन सक्छ ?
कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले दीर्घ रोग नभएकाहरूमा पनि रोग प्रतिरोधात्मक क्षमता कम हुन सक्ने भएकाले कोरोनाले छिटै असर देखाउन सक्ने बताए ।
'हाम्रोमा नियमित स्वास्थ्य जाँच गर्ने परिपाटी छैन,' डा. थापाले भने, 'त्यहाँमाथि न्यून आय भएकाहरूको खानपीन रहनसहन त्यति राम्रो छैन । कतिपय मदिरा, खैनी, चुरोट सेवन गर्नेहरू पनि हुन्छन् । निश्चय नै त्यस्ता मानिसहरू स्वस्थ देखिएपनि संक्रमणको छिटै शिकार हुन सक्छन् ।'
उनले कोरोनाका कारण देशैभर भएको मृत्युमध्ये ३० देखि ४० प्रतिशत स्वस्थ र निरोगी देखिने मानिसहरू परेको हुनसक्ने अनुमान गरे । 'कोरोनाले कम उमेरका मानिस र कुनै रोग नभएका मानिसहरूलाई आक्रमण नै गर्न सक्दैन भन्ने होइन तर त्यस्तो समूहमा मृत्युदर बढ्दै जानु निश्चय नै राम्रो होइन,' उनले भने ।
त्यस्तै सेती प्रादेशिक अस्पतालका फोकल पर्सन डा. जोशीले पनि यो संकेत राम्रो नभएको टिप्पणी गरेका छन् । 'रोग प्रतिरोधात्मक क्षमता कम हुनेहरू कोरोनाको निशानामा सबैभन्दा पहिला पर्छन्,' डा. जोशीले भने, 'स्वस्थ नै भएपनि कुन व्यक्तिमा यो क्षमता कति छ भनेर भन्न सकिँदैन ।'
भाइरसको लोड, अर्को प्रमुख कारण
कोरोनाले कति छिटो असर गर्न शुरू गर्छ भन्ने कुरा भाइरसको लोडमा पनि भर पर्ने विज्ञहरू बताउँछन् । सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालका डा. केएन पौडेलले स्वस्थ व्यक्तिमा प्रवेश गर्ने भाइरसको संख्या पनि महत्त्वपूर्ण हुने बताए ।
डा. पौडेलले लोकान्तरसँग भने, 'भाइरसको लोड फरक–फरक हुन सक्छ । संक्रमित व्यक्तिबाट निरोगी व्यक्तिमा भाइरस सर्दा कति संख्यामा सरेको छ भन्ने कुरा प्रमुख हो । बढी संख्यामा सरेको छ भने त्यसले छिटै असर गर्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको निरोगी मान्छेमा सर्यो भने कम संख्यामा भाइरसको प्रवेशले पनि ठूलो समस्या निम्त्याउन सक्छ ।'
उनले सुर्खेतमा देखिने भाइरसको प्रकार र काठमाडौंमा देखिने भाइरसको प्रकार फरक फरक हुन सक्ने बताए । 'भाइरसकै स्ट्रेन पनि कमजोर र कडा हुन सक्छ । यी विषयहरूमा डिटेल र गहिरो अध्ययन नगरी धेरै कुराहरू भन्न सकिँदैन,' डा. पौडेलले भने ।
कोरोनाले मात्र मान्छे मार्ने होइन, अर्को केही न केही कारण पक्कै हुन्छ : डा. दीक्षित
जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षित मान्छे मर्नुमा कोरोना मात्र कारण हुने सम्भावना अत्यन्त न्यून रहेको बताउँछन् ।
दीक्षितले लोकान्तरसँग भने, 'कोरोना संक्रमण भएपछि मृत्यु हुनेहरूलाई दीर्घरोग थिएन भन्न मिल्दैन । नितान्त कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या निकै कम छ ।'
उनले कोही कुपोषित छ भने कसरी पत्ता लगाउने भनेर प्रतिप्रश्न गरे । '६० वर्ष भन्दा कम उमेर समूहका मानिसहरूको संक्रमणका कारण मृत्यु भयो भने त्यहाँ अन्य कुनै न कुनै समस्या छ भन्ने बुझ्नुपर्छ,' डा. दीक्षितले भने, 'कोरोनाका कारण अवश्य मृत्यु भएको छ तर त्यो कोरोनाको कारण मात्र हुँदै होइन ।'
उनले उल्लेख्य संख्यामा नेपालीहरूले नियमित स्वास्थ्य जाँच नै नगर्ने र आफ्नो स्वास्थ्यमा के समस्या थियो भनेर थाहा नै नपाउने परिस्थिति रहेको बताए ।
'कतिपयमा के समस्या छ भन्ने नै थाहा हुँदैन,' उनले भने, 'त्यसपछि कोरोना लाग्छ अनि मृत्यु हुन्छ । त्यस्तोलाई दीर्घरोग नभएको भनेर भन्न मिल्दैन । नितान्त कोरोनाकै कारण मृत्यु हुनेको संख्या संसारमै निकै कम छ ।'
हालसम्म १६४ ले गुमाए ज्यान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार नेपालमा कोभिड– १९ का कारण मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।
शुरू-शुरूमा स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेहरूमा दीर्घरोग भए नभएको, उमेर, ठेगाना लगायतका जानकारीहरू दिन्थ्यो भने केही दिनयता मृतकको संख्या र जिल्ला मात्र आम जानकारीका लागि बाहिर ल्याउने गरेको छ ।
मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार हालसम्म मृत्यु हुनेमा प्रदेश १ मा १९, प्रदेश २ मा ६८, वागमती प्रदेशमा ३५, गण्डकी प्रदेशमा ८, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणमा संक्रमण दर ५ दशमलव ४ प्रतिशत रहेको र संक्रमितमध्ये मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको जनाएको छ ।
जम्मा मृत्युदर प्रति दश लाखमा ५ दशमलव ६ प्रतिशत रहेको छ ।