
डुंगामा चढेर सरर ... पुरै ताल शयर गर्न मिल्ने । तालकै माछा र हाँस तालकै पिकनिक स्पटमा विभिन्न परिकार बनाई मज्जा लिन सकिने । चारैतिर मनमोहक प्राकृतिक छटाले भरिएको कैलालीको पुरैना अब एग्रो टुरिज्मको रुपमा विकास हुँदै गएको छ ।
जिल्लाको कैलारी गाउँपालिका–३ स्थित पुरैना तालको पानी वर्षौदेखि खेती सिँचाइ गर्नमा मात्रै सीमित थियो । तर अब भने एग्रो टुरिज्म क्षेत्रको रुपमा विकास हुँदै गएको हो ।
पछिल्लो समय ‘कमलपोखरी’को नामले चिनिएको ताल व्यावसायिक माछापालन र हाँसपालन केन्द्रको रूपमा स्थापित हुन थालेको छ । ३५ विघा क्षेत्रफलमा फैलिएको सो तालमा ३ जना साझेदारले संयुक्त रूपमा माछा, हाँसपालन गर्दै ताललाई पर्यटकीय क्षेत्रमा रुपान्तरण गर्नमा जुटेका छन् ।
साझेदार मनिराम चौधरीले भने, ‘तालमा माछा मात्रै होइन, हाँसपालन व्यवसाय अगाडि बढाएका छौं । हाँसले माछालाई चाहिने अक्सिजन बढाउन सहयोग गर्ने भएकाले माछा र हाँसपालन व्यवसाय एकअर्काको परिपुरक व्यवसाय नै भन्नुपर्छ । हामीले एकै तालमा धेरै सम्भावना देखेका छौं । शुरूआतमा माछा, हाँसपालनसँगै तालमा डुंगा सञ्चालन गरी पर्यटन प्रवद्र्धनमा जुटेका छौं ।’
तालमा १ हजार ६०० हाँसको चल्ला हालेको बताउँदै अचेल करीब ५०० हाँसले अण्डा दिँदै आएको चौधरीले बताए । हाँसको संख्या अझ बढाउने योजना आफूहरूको रहेको साझेदारले बताएका छन् भने चालू वर्ष १ हजार क्वीन्टल माछा उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
साझेदार व्यवसायीले कैलारी गाउँपालिकाबाट वार्षिक १७ लाख रुपैयाँ तिर्ने गरी ठेक्कामा लिई व्यवसाय थालेका छन् । भूमिराज बिल्डर्स प्रालि र कैलारी गाउँपालिकाबीच ठेक्का सम्झौता भएको छ । तालको व्यवस्थापनदेखि पूर्वाधार निर्माण, माछाको भूरा र हाँसमा हालसम ५२ लाख रुपैयाँ लगानी गरेको जनाइएको छ ।

अर्का साझेदार राजुु चन्दले लगानी जारी राखेको बताउँदै अगाडि भने, ‘अझै लगानीकै फेजमा छौं । भविष्यमा राम्रो प्रतिफल लिन सक्ने सम्भावना देखेका छौं ।’
तालमा डुंगा सञ्चालन गरेकाले तालमा सयर गर्न सकिनेदेखि तालको माछा र हाँस तालमै खान सकिने सुविधालाई मध्यनजर गरी चमेना गृह सञ्चालनमा ल्याउने योजना रहेको चन्दले बताए । ताल क्षेत्रमै व्यावसायिक घरेलु कुखुरा, बंगुर पनि व्यावसायिक रूपमा पालन गर्ने योजना रहेको जनाइएको छ । ‘हामीले यहाँ एग्रो टुरिज्मको रूपमा पर्यटन विकास गर्न चाहेका छौं,’ चन्दले भने, ‘अझै धेरै व्यवस्थापन गर्न बाँकी नै छ ।’


तालको ऐतिहासिकता ओझेलमा
जैविक र सांस्कृतिक महत्त्व बोकेको ताल जंगली जनावरको पानी खाने प्रमुख स्थान हो । सामुदायिक वनमा अवस्थित ताल वरिपरि आदिवासी थारु समुदायको बसोबास छ । सो तालमा माछा मार्ने र तालमा भएको कमलको पात टिप्ने कार्य पहिलैदेखि हुँदै आएको थियो । थारु समुदायमा कमललाई पुरैनाको नामले चिनिन्छ । सोही जलीय वनस्पति पुरैनाबाट तालको नाम पुरैना रहन गएको स्थानीय छोटेलाल चौधरीले बताउँछन् । ताल बनाउन आफ्ना बाजेहरू लगायतले रगत–पसिना बगाउनुका साथै वन मुद्दा खेपेर जेल सजाय समेत पाएको तर पछि तत्कालीन गाविस कार्यालयमा कार्यरत कर्मचारीहरूले तालको पहिचान मेटाएर कमलपोखरी नामाकरण गरेको गुनोसो चौधरीले पोखे ।

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले तत्कालीन गाविस कार्यालयमा कार्यरत कर्मचारीले तालको पहिचान मेटाएको बताउँदै तर स्थानीय तथ्यसहित आएमा लेख्य रूपमा पनि पुरैना कायम गर्नमा समस्या नहुने बताउँछन् ।
पुरैना तथा कमलको नामले परिचित सो तालमा आजभोलि पुरैना पाउन छोडिएको छ । माछापालन हुँदै गएपछि सो पुरैना वनस्पति घट्दै गएको छ ।

सिँचाइको स्रोत तालको पानी
तालको पानी माछापालनमा मात्र नभई स्थानीयको खेत सिँचाइमा पनि प्रयोग हुँदै आएको छ । आफ्ना बुवाबाजेहरू २००८ सालदेखि सो तालको पानी खेती सिँचाइमा प्रयोग गर्दै आएको बताउँदै छोटेलाल चौधरीले गाउँपालिकाको लालपुर, खोनपुर, निमुवाबोझी, दक्षिण भररी र उत्तर भररी गाउँका करीब १ हजार ५०० हेक्टर बढी जमिनमा सिँचाइ सुविधा हुँदै आएको बताए ।