
प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोभिड- १९ बाट ५४ जना सङ्क्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका-२ का दुई महिला र बुढीगंगा र धनपालका एक-एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
हालसम्ममा यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ। ती मध्ये यस प्रदेशका स्थायी ठेगाना भएका २७ र प्रदेश बाहिरका १२ रहेका छन्।
पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेमा एक हजार ७६१ जनाको पिसीआर परीक्षण गरिएको छ। ती मध्ये २३ महिला र ३१ पुरुष गरी ५४ को रिपोर्ट पोजेटिभ आएको छ।
कोरोना पोजेटिभ देखिनेमा मोरङका ३४, सुनसरीका १३, झापाका पाँच, इलामका एक र प्रदेश बाहिरका एक रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सङ्क्रमितमा मोरङ विराटनगरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका दुई, लेटाङ, कटहरी र रंगेलीका एकएक पुरुष र जहदाका एक महिला, सुनसरीको इटहरीका दुई महिला र ६ पुरुष, धरानका चार महिला र एक पुरुष, झापाको दमकका एक महिला र दुई पुरुष, विर्तामोडका एक र स्थानीय तह नखुलेका एक पुरुष, इलामको चुलाचुलीका एक पुरुष तथा प्रदेश बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएकोे छ।
हालसम्म प्रदेशमा तीन हजार र ८७९ कोरोनाबाट सङ्क्रमित भइसकेका छन्। शनिबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट १६ निको भएर घर फर्केका छन् भने हालसम्ममा एक हजार ८३५ जना कोरोनाबाट मुक्त भइसकेका छन्।
हालसम्ममा यस प्रदेशमा ९७ हजार २२१ पिसीआर परीक्षण गरिएको छ।
जनकपुर-प्रदेश २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो।
यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिराहामा आठ/आठ, रौतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन्।
यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११ हजार ६१ पुगेको छ। सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन्। उपचार गराइ निको भएर घर फर्कनेको सङ्ख्या पाँच हजार ६०२ पुगेको छ।
यस प्रदेशमा १७७ क्वारेन्टिनस्थलमा ५६६ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७१८, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ४४४ जना रहेको सो मन्त्रालयले जनाएको छ।
कर्णाली( कर्णाली प्रदेशमा आज नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्ति अनुसार नौ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या दुई हजार ६०० नजिक पुगेको छ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा जाजरकोटका तीन, बाँकेका दुई, सुर्खेत र सल्यानका एकएक जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।
त्यसैगरी, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुई जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको उनले बताए। उनका अनुसार कोरोना सङ्क्रमणबाट निको भएर शनिबार ४२ जना घर फर्किएका छन्।
सल्यान वनगाड कुपिण्डे आइसोलेशन सेन्टरबाट २१, रुकुपश्चिमको मुसिकोट आइसेलशनबाट नौ, आठबीसकोट आइसोलेशनबाट ६, रुकुमपश्चिम अस्पतालबाट चार र कर्णाली प्रदेश अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए।
शनिबार ४२ जना डिस्चार्ज भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई हजार २८१ पुगेको उनको भनाइ छ।
डोल्पा, मुगु र हुम्ला बाहेक अन्य सात जिल्लामा विभिन्न आइसोलेशनमा ३०२ जना सङ्क्रमितहरुको उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखा प्रदेशले जनाएको छ।