०२ साउन २०८३, शनिबार

लिदी पहिरोमा अभिभावक गुमाएका सात बालबालिका एसओएस बालग्राममा

लिदी पहिरोमा अभिभावक गुमाएका सात बालबालिका एसओएस बालग्राममा

सिन्धुपाल्चोककाे जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि बिहीबारदेखि काभ्रेसस्थित एसओएस बालग्राम पुगेका छन्। त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा सहित बस्नेछन्। 

यससँगै अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको हाे। यही भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुगेका सभामुख सापकोटाले विस्थापितसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताएका थिए।  

सभामुखको आग्रहमा एस ओ एस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईं सहितको टोली भदौ १६ जिल्लाको बाँसखर्क पुगेर वडा अध्यक्ष लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो। सबै प्रक्रिया पूरा भएपछि सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिए।  

पहिरोमा अभिभावक गुमाएका पाँचदेखि बाह्र वर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एसओएस बालग्रामका अधिकारीसँग पठाइएको जुगल २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिए। लामाका अनुसार बालग्राम पठाइएकामा ६ जना बालक र एक बालिका छन्। 

पहिरोबाट विस्थापित भएर जुगल गाउँपालिका-१ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको थियो। नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एसओसएस बालग्राम पनौतिका निर्देशक अमगाईं, विनोदमणी भट्टराई लगायतका टोलीसँग पठाइएको अध्यक्ष लामाले बताए। 

गत साउन ३० गते बिहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिकामध्ये १२ वर्ष माथिका ५ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबास स्थलमै संरक्षक मार्फत सहयोग गरिने एसओएस बालग्राम पनौतिका निर्देशक अमगाईले जानकारी दिए। 

जुगल गाउँपालिका- २ को लिदी पहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ। दुई जना अझै बेपत्ता छन्। 

salt training

कमेन्ट गर्नुहोस्