१० साउन २०८३, आइतबार

कोरोना महामारीले रुपन्देहीका मात्र सयभन्दा बढी होटल बन्द, धमाधम पलायन हुँदै व्यवसायी

असोज ४, २०७७
कोरोना महामारीले रुपन्देहीका मात्र सयभन्दा बढी होटल बन्द, धमाधम पलायन हुँदै व्यवसायी

बुटवल नयाँ बसपार्कस्थित सनराइज होटल कोरोना कहरले गर्दा बन्द भएको छ । 

विगत १६ वर्षदेखि होटल व्यवसायमा जमेका सञ्चालक रामप्रसाद गौतमले होटलको भाडा तिर्न नसक्दा होटल सधैँका लागि बन्द गरे । 

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका गौतमले भने, ‘होटल खुल्ने कुनै ठेगान भएन, घरभाडा तिर्न सक्ने अवस्था पनि भएन । कतैबाट कुनै पनि क्षेत्रमा छूटको पाइएन, त्यहीँ भएर होटल खाली गरिदिए ।’

उनले थपे, ‘पर्यटन क्षेत्रलाई राज्यले बुझ्न सकेन । व्यवसायी पलायन हुने अवस्था आयो । यही अवस्था अझै दुई महिना रह्यो भने धेरै व्यवसायी पलायन हुनेछन् ।’ 

बसपार्ककै मनकामना होटल पनि महामारीकै कारण बन्द भएको छ ।

त्यस्तै बुटवल बसपार्ककै लोकप्रिय, होटल श्रीनगर पनि महंगो घरभाडा तिर्न नसक्दा बन्द भएका होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए । अध्यक्ष जिसीले भने, ‘गएको जेठ महिनायता रुपन्देहीमा १ सयभन्दा बढी स्तरीय होटलहरू बन्द भए ।’ 

कोरोना संकटले कर्मचारी पाल्न नसकिएको भन्दै रूपन्देहीको एक मात्र सञ्चालनमा आएको ‘फाइभ स्टार’ होटल टाइगर प्यालेस रिसोर्टले ४ सय कामदारलाई कामबाट निकालेको छ ।


कामदारहरू पुनर्बहालीको माग गर्दै आन्दोलित छन् । टाइगर अस्ट्रेलियन ‘सिल्भर हेरिटेज’ कम्पनीको लगानीमा सञ्चालित रिसोर्ट हो ।

बुटवलको होटल हवको रूपमा विकास भएको इँटाभट्टा र बसपार्क क्षेत्रका धेरै होटल महामारीले बन्द भएका छन् । 

पर्यटनलक्षित गरेर रूपन्देहीमा स्तरीय होटल खुल्ने क्रम तीव्र बनेको थियो । तर, महामारीले धेरै होटल बन्द हुने अवस्थामा छन् ।

सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात र होटल तथा रेस्टुरेन्ट पनि सञ्चालन गर्न दिएको छ । तर ग्राहकको खडेरी रहेकाले व्यवसायीमा खासै उत्साह छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा निर्माणधीन सम्मेलन केन्द्र, प्रदेश ५ को राजधानी बुटवल भएसँगै रुपन्देही अर्बौं लगानीमा स्तरीय होटलहरू सञ्चालन गर्ने होडबाजी थियो । तर, महामारीले गर्दा ठूलो लगानी गरी सञ्चालनमा आएका र आउने तयारीमा रहेका धेरै रिसोर्टहरू ठूलो आर्थिक संकटमा फसेका छन् । त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीमा धेरै होटलहरू पनि आर्थिक संकटले जोखिममा परेका छन् । 

दैनिक २ हजारभन्दा बढी पर्यटक आउने विश्व शान्तिको मुहान लुम्बिनीमा विगत छ महिनायता पर्यटक आएका छैनन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले कोरोना संकटले प्रदेशभरका १५ प्रतिशत सानाठूला होटल पलायन भएको बताए । 

उनले भने, ‘नजिकै रहेको प्रदेश सरकारले अप्ठ्यारोमा परेका व्यवसायीको पक्षमा कुनै योजना ल्याउन सकेन । संघीय सरकारले पनि कर छुटदेखि घरभाडामा सहुलियत समेत दिने भन्ने समेत योजना ल्याएन । लकडाउन खुकुलो भए पनि महामारी झनै बढेको छ, होटलमा पर्यटन र ग्राहक आउन अझै ६ महिनाभन्दा बढी लाग्छ ।’ 

छ महिना लामो लकडाउनको सबैभन्दा ठूलो मारमा होटल व्यवसायी परेको छन् । 

संघका महासचिव माधवकुमार खनालले अब होटल खोल्नुको विकल्प नभएपछि सरकारले बाध्य भएर लकडाउनलाई खुकुलो बनाएको बताए ।

रूपन्देहीमा १ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । रुपन्देहीमा ३० हजारभन्दा बढी होटल मजदुरहरूले रोजगारी गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्