०३ साउन २०८३, आइतबार

नाडा अटो शोलाई ‘मिस’ गर्दै व्यवसायी, दशैंतिहार लक्षित उपहार र स्किमको होडबाजी !

असोज १६, २०७७
नाडा अटो शोलाई ‘मिस’ गर्दै व्यवसायी, दशैंतिहार लक्षित उपहार र स्किमको होडबाजी !

कोरोना महामारी नहुँदो हो त यतिखेर ‘विवाह मण्डपमा सिंगारिएकी बेहुली’ जसरी काठमाडौंको भृकुटीमण्डप सिंगारिएको हुन्थ्यो, तर कोरोनाका कारण भृकुटीमण्डपमा पहिलेजस्तो रौनक छैन । 

दशैं नजिकिँदै गर्दा प्रायः भदौ महिनामा नै नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले अटो शो आयोजना गर्ने गर्दछ ।

हरेक वर्ष आयोजना हुने यस प्रकारको शोमा चारपाङ्ग्रे तथा २ पाङ्ग्रे सवारी साधनहरूको प्रबर्द्धन तथा व्यापार आक्रामक हुन्छ । 

यसपटक भने नाडा अटो शो हुन सकेन । मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले विभिन्न किसिमका निषेधाज्ञाहरू जारी गर्दा सवारी साधनको कारोवार ठप्प प्रायः नै बन्यो ।

अहिले विस्तारै बजार चल्दै जाँदा भने क्रमिकरूपमा व्यापार हुन थालेका छन्, तर नाडाले यसपालि कोरोनालाई नै कारण देखाउँदै अटो शो आयोजना गरेन । 

‘विश्वव्यापी रूपमा फैलिएको महामारीलाई मध्यनजर गर्दै अटो शो आयोजना हुन सकेन,’ लोकान्तरसँग नाडाका महासचिव सुनिल रिजालले भने ।

मुलुकमा हुने एकमात्र अटो शो हो नाडा अटो शो । ‘यो इतिहासमै पहिलोपटक हुन सकेन । अहिलेसम्म अन्य कुनै कारणले रोक्न नसकेको अटो शो यस वर्ष कोरोनाले रोक्यो,’ उनले भने । 

बजार बन्द हुँदा ठप्प भएको अटो बजार अब भने विस्तारै चल्ने क्रममा छ । उनले भने, ‘अहिले क्रमिक रूपमा बजार चल्दैछ । दशैंको समयमा थोरै भए पनि किनबेच हुन्छ भन्ने अपेक्षा छ ।’ 

*****

कोरोना महामारीका कारण हुन नसकेको अटो शोलाई अहिले अटो व्यापारीहरूले ‘मिस’ गरिरहेका छन् । अन्य अवस्थामा भए ग्राहकसँग आफ्ना गाडीहरूको बारेमा कुराकानी गर्न र बिक्री गर्न भ्याइनभ्याइ हुने बिक्रेताहरू अहिले हात बाँधेर बस्नु परेको छ । अग्नि ग्रुपका निर्देशक वरदान बस्नेत अटो शो हुँदा र नहुँदामा धेरै फरक परेको बताउँछन् ।

‘अटो शो नहुँदा हामीले ग्राहकलाई प्रत्यक्ष रूपमा गाडीबारे बुझाउन सकेका छैनौं,’ लोकान्तरसँग उनले भने, ‘महामारीमा व्यापार सबै प्रभावित छ, अटो शो मिस भइरहेको छ ।’

दशैं तथा तिहार नजिकिँदै गर्दा अन्य कम्पनीहरूले धमाधम स्किम तथा नयाँ गाडी लञ्च गर्ने घोषणा गर्दै गर्दा अग्निको भने त्यस्तो योजना छैन । 

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपले अहिले महामारीका समयमा ग्राहकहरू पनि किन्न नआउने भन्दै कुनै पनि योजना सार्वजनिक नगरेको निर्देशक बस्नेत बताउँछन्  । उनले भने, ‘महिन्द्रले चाडपर्वलक्षित त्यस्तो केही योजना बनाएको छैन, बजार चल्दै जाँदा केही त पक्कै आउला ।’

यस्तै, अटो शोले बजाजलाई खासै असर नपरेको बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.की असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंह बताउँछिन् । 

उनले भनिन्, ‘नयाँ शोकेस् ल्याउने तयारी छ भने एउटा प्ल्याटफर्म हुन्थ्यो अटो शो, नत्र खासै टच हुँदैनौं । अहिले अटो शो नहुँदा नि त्यस्तो असर परेको छैन ।’ 

उनले दशैंतिहार आउँदै गर्दा गत वर्षहरूमा जस्तै बजाजको कारोबार राम्रो भइरहेको बताइन् । उनले भनिन्, ‘फेस्टिभ सिजन शुरू हुँदा अहिले कारोबार पहिलेको जस्तै भइरहेको छ ।’

यता, किया मोटर्स नेपालका एजीएम अनिश लामिछाने अटो शो ‘मिस’ भइरहेको बताउँछन् ।

लोकान्तरसँग उनले भने, ‘दशैंअगाडि शो गर्ने, बुकिङहरू कलेक्ट तथा डेलिभरी गर्ने पहिलादेखिको ट्रेन्ड थियो, त्यो ‘मिस’ भएको जस्तो लागिरहेको छ ।’

अहिलेसम्म गाडीको बुकिङहरू भइरहेको बताउँदै अवस्था सामान्य हुँदै गए छिट्टै व्यापार बढ्ने उनले विश्वास व्यक्त गरे ।

दशैंतिहारको अवसरमा ‘किया सोनेट’ गाडी ल्याउन लागेको बताउँदै उनले यसलाई उपभोक्ताले रुचाउने बताए । 

कुन कम्पनीको कस्तो अफर ? 

कोरोना महामारी कायमै छ, र पनि पहिलेजस्तो बजार बन्द गरेर बस्न सक्ने अवस्था अहिले छैन । त्यसैकारण २ पांग्रे तथा ४ पांग्रे सवारीसाधनहरूले विगतमा जस्तै दशैं तिहारका लागि ‘आकर्षक अफरहरू’ ल्याएका छन् ।

दशैं तिहारको समयमा केही न केही कारोवार हुने भन्दै उनीहरूले उपभोक्तालाई सहज हुनेगरी अफर ल्याइएको दाबी गरेका छन् ।

टाटा 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीले दशैंतिहारलाई लक्षित गरी आकर्षक योजना सार्वजनिक गरिसकेको छ । 

टाटा मोटर्सको नयाँ प्यासेन्जर भेहिकल खरिदमा उसले ४ लाखसम्मको नगद छुट योजना ल्याएको छ । यस्तै ५० हजारभन्दा बढीको एक्सचेञ्ज बोनको व्यवस्था गर्नुका साथै १ वर्षको ‘रोड ट्याक्स’ निःशुल्क गरिदिएको छ । यसका साथै सिप्रदीले सदाझैँ गाडीको खरिदमा आकर्षक उपहारको पनि व्यवस्था गरेको छ ।

‘यो दशैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर,’ यो स्लोगानमा सिप्रदीले कमर्सियल भेहिकलहरूका लागि विशेष छुटको व्यवस्था गरेको छ । 

असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म लागू हुनेगरी उसले सर्भिसमा प्रयोग हुने इन्जिन ओइल, गियर ओइल, ब्रेक चेञ्ज लगायतमा १२ प्रतिशत, लुब्रिकेन्ट्समा २० प्रतिशत, ब्याट्री एक्सचेञ्जमा २० प्रतिशत लगायतका छुटको घोषणा गरेको छ ।

सुजुकी 

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ११ असोजदेखि शुरू हुनेगरी दशैंतिहारलक्षित अफर ल्याएको छ । 

‘सुजुकी पर्वोत्सव’ अफरअन्तर्गत ग्राहकलाई सिजीले ३ लाख ५० हजार रुपैयाँ बाराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसरिजहरू निःशुल्क दिनेछ ।  

ह्युण्डाइ

​ह्युण्डाइ अटोमोबाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दशैंतिहार वेलकम टु ह्युण्डाइ परिवार’ योजना ल्याएको छ ।

असोज ५ देखि मंसिर ५ सम्म लागू हुनेगरी कम्पनीले योजना दशैं, तिहार र छठको अवसरमा ल्याएको हो । यस योजनाअन्तर्गत, ग्राहकहरूले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप रु. १ लाखसम्मको नगद छुट पाउन सक्नेछन् । त्यसका साथै ग्राहकहरूले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन् । 

किया 

कोरियन अटो निर्माता कियाको नेपालका लागि अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले दशैंतिहारको अवसरमा ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउने छन् । योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा सुविधा पाउनेछन् ।   

निशान

निशानले ‘धमाकेदार दशैं, तिहार तथा छठ’ अफर सार्वजनिक गरेको छ । जसमा शून्य प्रतिशत डाउनपेमेन्ट सुविधा रहेको छ । साथै ९ महिनासम्म ईएमआई तिर्नुपर्नेछैन ।

उक्त अफर नलिएमा अर्को अफर पनि कम्पनीले दिनेछ । यो अफरमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट, ग्राहकलाई ३५ हजार ९ सय ९९ रुपैयाँ बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइलफोन दिइनेछ ।

यस्तै हरेक निशान गाडीको खरिदमा ५० हजारसम्मको फ्री एसेसरिज, एक वर्षसम्मको निःशुल्क बीमा, १० वर्षसम्मको फाइनान्सिङ लगायतको सुविधा छ । ​

बजाज

​बजाजले दशैंतिहारका लागि ‘रोजेरै खुशी’ योजना सार्वजनिक गरेको छ । ‘खुशी खोज्ने होइन रोज्ने’ भन्दै कम्पनीले आवश्यकता अनुसार १० हजार रुपैयाँसम्मको छुट, ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदर तथा २० प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल खरिद गर्ने सुविधा दिएको छ ।​

टीभीएस 

नेपालका लागि टीभीएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ‘टीभीएस दशैँको आशा’ योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कूटरमा ७ हजार वा शून्य प्रतिशत व्याजदरमा खरिद गर्ने सुविधा छान्न सकिने छ ।  

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले आरआर ३१०  जित्ने अवसर पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्