![हिजो निर्मला, आज सम्झना, भोलि हजुरको कोहि...? [तस्वीरसहित]](https://lktcdn2.prixacdn.net/media/120998155_389519548741485_3488294335921695321_n_l6CqnAcFiy.jpg)
पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि त्यसविरुद्ध सुर्खेतका युवायुवतीहरूले शान्तिपूर्ण र्याली निकालेका छन् ।
बलात्कारीलाई कारबाहीको माग गर्दै उनीहरूले शनिबार वीरेन्द्रनगरमा शान्तिपूर्ण र्याली निकालेका हुन् ।
'बलात्कारीले पाउने सजाय कम भएन र डियर सरकार ?, सरकार ! कुर्ची बचाउने लोभमा अपराधी बचाउने कहिलेसम्म ?, जब हामी अरुको लागि बोल्छौं तब हाम्रो लागि पनि कोही बोल्दिन्छ, आऊ मेरो परिपुरक हौँ । हातेमालो गरेर एक अर्काे युद्ध आरम्भ गरौं,' बलात्कार विरुद्ध लेखिएका प्लेकार्ड बोकेर शनिबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा शान्तिपूर्ण र्याली निकालेको आन्दोलनको नेतृत्व गरेकी दीपा आचार्यले बताइन् ।
‘पछिल्लो समय घरबाटै बालिका तथा किशोरी असुरक्षित छिन्,’ उनले भनिन्, ‘जसका विरुद्ध हामी सबै बोल्नुपर्छ ।’
दिनानुदिन बलात्कारका घटना घट्दै गए पनि सरकार भने गम्भीर नभएको उनको भनाइ छ । दोषीहरू खुलेआम हिँडिरहेको भन्दै उनले भनिन्, ‘कुर्ची टिकाउन सरकारले दोषी देखे पनि नदेखेझैं गरिरहेको छ ।’
आफ्नै घर, गाउँ, समाजमा बलात्कार रोक्न सबै एकताबद्ध भएर आवाज उठाउनु पर्ने अर्की सामाजिक अभियान्ता लक्ष्मी खत्रीले बताइन् । उनका अनुसार उक्त र्यालीमा सुर्खेतका युवायुवती स्वतस्फूर्त ढंगले सहभागी भएका छन् ।
र्यालीमा सुर्खेत ओमन रोम रिलोडेट, मोटे ग्याङ नेपाल, ९९३ रेसिङ टीम, परिवर्तन समूह लाटीकोइली, तनाव छ जिन्दगी फाउण्डेसन, कैंची ग्याङ, जीवन विज्ञान, लियो क्लब, बिएफडीएम, आरुष क्रियसनलगायतले सहयोग गरेका थिए ।


