
फूटको संघारमा रहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन दोस्रो पुस्ताका नेताहरू सक्रिय भएका छन् ।
गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि उनीइतर समूहले दबाब बढाएका छन् ।
अहिलेको विवाद त्यतिबेलै उत्कर्षमा पुगेको संकटको पराकम्प हो ।
त्यतिबेला पार्टी फूटनजिक पुगेपछि दोस्रो तहका नेताहरू विवाद मिलाउन सक्रिय भएका थिए ।
महासचिव विष्णु पौडेल, जनार्दन शर्मा, सुवास नेम्वाङ लगायतका अलावा कृषिमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, हालका सञ्चारमन्त्री पार्वत गुरुङ, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, देवेन्द्र पौडेलसहितका नेताहरू सक्रिय भएर पार्टी विभाजन नगर्न नेतृत्वलाई ताकेता गरेका थिए ।
अहिले पनि त्यही परिस्थितिको सिर्जना भएको छ । 'हामी औपचारिक र अनौपचारिक दुवै हिसाबले कुराकानी अघि बढाइरहेका छौं,' स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले लोकान्तरसँग भने । उनी कोरोना संक्रमणका कारण यसअघि २१ दिनसम्म आइसोलेसनमा बसेका थिए ।
उनले आफू निको भएको र राजनीतिक सक्रियता बढाउन थालेको बताए । 'नेकपाभित्र बाहिर देखाइएजस्तो ठूलो विवाद छैन । समाधानउन्मुख नै छ । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गरेर अघि बढ्ने प्रतिबद्धता नेतृत्वबाट हुनासाथ विवाद समाधान हुन्छ ।'
गत शनिवार आफ्नै निवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव राखेको खुलासा गरेपछि नेकपाभित्रको शक्तिसंघर्ष सतहमा आएको थियो ।
प्रचण्डको खुलासाले नेकपामा एक किसिमको हलचल नै पैदा भयो । प्रचण्डका अनुसार बालुवाटारमा शनिवार भएको छलफलमा ओलीले सँगै बस्न नसकिने भए आ-आफ्नो बाटो लाग्न प्रस्ताव गरेका थिए ।
स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले कुनै नेताले चाहेर नेकपा फुट्न नसक्ने बताएका छन् । लोकान्तरसँग कुरा गर्दै उनले भने, 'यदि पार्टी फुट्यो भने कुन मुख लिएर जनतासँग जाने हो ? यो प्रश्नको जवाफ दुवै अध्यक्षसँग छैन । त्यसैले पार्टी फुट्दैन ।'
प्रचण्डले शीर्ष ५ नेतासामु ओलीको प्रस्तावबारे ब्रिफिङ गरेपछि उत्पन्न भएको राजनीतिक हलचल पछिल्ला २ दिनमा केही सामान्य भएको अनुभव गर्न सकिन्छ । सोमवार प्रचण्डनिवास खुमलटारमा सामान्यबाहेक ठूला भेटघाट भएनन् ।
प्रचण्ड-नेपाल पक्षले तत्काल सचिवालय बैठक बोलाएर समस्या समाधानका विषयमा छलफल गर्न माग गरेको छ । तर प्रधानमन्त्री ओली बैठक बोलाउन तयार छैनन् । 'हामीले बैठकमै सबै छलफल हुनुपर्छ भनेर माग गरेका हौँ,' प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकान्तरसँग आइतवार भनेका थिए ।
खुमलटार यतिबेला ओलीबाट बैठकका लागि ग्रीन सिग्नल माग गरिरहेको छ ।
यता प्रधानमन्त्री ओलीपक्षीय नेताहरू पनि आफ्नो रणनीति बनाउन व्यस्त छन् । दैनिकजसो नेताहरू र प्रधानमन्त्रीका सल्लाहकारहरूबीच भेटघाट हुने गरेको छ । स्थायी कमिटी बैठकले गरेको निर्णयमा थप स्पष्टता चाहिने निष्कर्ष बालुवाटारको रहेको बताइएको छ ।
'स्थायी कमिटी बैठकले गरेको अध्यक्षद्वयबीचको कार्यविभाजनमा थप स्पष्टता आवश्यक रहेको हामीले महसूस गरेका छौं,' प्रधानमन्त्री ओलीनिकट एक नेताले लोकान्तरसँग भने, 'अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकार दिइएको भएपनि पार्टीका काम अघि बढाउन छोडेर सरकारले के गर्छ भन्दै हेरिरहनुभएको छ । त्यो सही होइन । प्रधानमन्त्री ओलीले पनि सहमतिमा गर्नुपर्ने कतिपय काम आफ्नो कार्यक्षेत्रको हो भनेर दाबी गरिरहेको स्थिति छ । स्थायी कमिटी बैठकले गरेको निर्णयलाई थप परिभाषित गरेर अघि बढियो भने समस्या समाधान हुन सक्छ ।'
स्रोतका अनुसार सोमवार अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई फोन गरेर थप मिडियाबाजी नगर्न आग्रह गरेका थिए । 'हामी थप छलफल गर्न सक्छौं, विवादलाई अघि नबढाऔं,' प्रचण्डलाई ओलीको प्रस्ताव रहेको स्रोतको दाबी छ ।
जवाफमा प्रचण्डले बैठकमै सबै छलफल हुनुपर्ने सुझाए । बैठकका सन्दर्भमा ओली केही बोलेनन् ।
प्रवक्ता श्रेष्ठले पार्टी नेतृत्वलाई पटक–पटक बैठक बोलाउन आग्रह गरिरहेका छन् ।
'बैठक नै हो मुख्य विकल्प, यो बसेन भने के गर्ने, कसरी अघि बढ्ने भनेर त्यसपछि छलफल होला,' श्रेष्ठले भने ।
ओलीनिकट मानिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले नेकपाभित्रको विवाद मिलाउन दोस्रो पुस्ताका नेताहरूको जहिल्यै भूमिका रहने बताए ।
'जीवित पार्टीभित्र विवाद पनि हुन्छन् र त्यसलाई समाधान गर्ने सूत्र पनि हुन्छ,' गुरुङले लोकान्तरसँग भने, 'एउटै समस्या पटक-पटक दोहोरिएको परिस्थिति छ । तर अहिले बाहिर आएजस्तो पार्टी फुट्न लागेको होइन । अहिले शीर्ष नेताहरूबीच केही खटपट देखिएको सामान्य हो तर पार्टी फुट्दैन ।'
गत साउन २५ गते पार्टी विभाजन हुन नदिने उद्देश्यले नेकपाका ६१ सांसदले हस्ताक्षर गरेका थिए । हस्ताक्षरका अभियानकर्ता कृष्णप्रसाद दाहालले पार्टीको जग मजबुद भएकाले नफुट्ने प्रतिक्रिया दिए ।
'हामीले पार्टीलाई खण्डीकृत हुन नदिन जहिल्यै भूमिका खेल्ने गरेका छौं,' दाहालले लोकान्तरसँग भने, 'त्यतिबेला हस्ताक्षर अभियान चलाइएको थियो । अहिले पनि त्यो टीम पार्टी एकताकै पक्षमा छ ।'
उनले त्यतिबेला हस्ताक्षर गर्ने सांसदहरू बीच अनौपचारिक कुराकानी भइरहेको बताए ।