
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललगायत नेताहरूबीच आइतवार बालुवाटारमा भएको भेटवार्ता कुनै ठोस निष्कर्षविना टुंगिएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न वरिष्ठ नेता नेपाल तथा उनीपक्षीय स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त आइतवार बालुवाटार पुगेका थिए ।
यसक्रममा प्रधानमन्त्री ओलीले पार्टी फूटको संघारमा रहेको बताएका थिए ।
'ठोस कुरा केही भएन, तर प्रधानमन्त्रीले पार्टी फूटको संघारमा रहेको बताउनुभयो,' बैठकमा सहभागी नेता सुरेन्द्र पाण्डेले लोकान्तरसँग भने ।
जवाफमा नेता नेपालले 'त्यसो हो भने रोक्ने जिम्मा तपाईंकै हो, ठोस प्रस्ताव ल्याऊनुस्' भनेको नेता पाण्डेले जानकारी दिए ।
अघिल्लोपटक पार्टी विवाद समाधानका लागि गठित कार्यदलको सदस्य रहेको नाताले आफूले पनि केही कुरा राखेको पाण्डेले बताए।
प्रधानमन्त्री ओलीले अघिल्लोपटक कार्यदल बन्दाको समयमा भन्दा अहिले पार्टी जटिल अवस्थामा रहेको बताएका थिए ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीले नेता नेपाललगायतसँग छलफल गरेका हुन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा नेता नेपालसहित सचिवालयका ५ जनाले ४८ घण्टाभित्र सचिवालयको बैठक बोलाउन शनिवार ओलीलाई पत्र बुझाएका थिए ।