पोस्ट कोभिड सिन्ड्रोम के हो ? कसरी व्यवस्थापन गर्ने ?

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

कोरोना भाइरसबाट हुने कोभिड–१९ निको भएपछि पनि अधिकांश व्यक्तिलाई त्यसको असर लामो समयसम्म हुने विश्वका विभिन्न अध्ययन तथा हाम्रो आफ्नै अनुभवले देखाएका छन् ।

पीसीआर नेगेटिभ आउँदैमा पूर्व स्वास्थ्य लाभ भइसकेको अवस्था हुँदैन । पीसीआर नेगेटिभ आएपछि वा अस्पतालबाट डिस्चार्ज भएर घरमा आएपछि केही हप्तादेखि केही महिनासम्म विभिन्न स्वास्थ्य समस्या देखिन्छन्, त्यसलाई पोस्ट कोभिड सिन्ड्रोम वा लङ कोभिड भनिन्छ ।


Advertisement

सामान्यतया कोभिड निको भएपछि यी १२ समस्या देखा पर्दछन् –

१. सास फेर्न गाह्रो हुने 
२.    छातीमा दबाब महसूस हुने 
३. एकदम थकाइ लाग्ने र ओछ्यानबाट उठ्न समेत गाह्रो हुने 
४. जाडो हुने वा पसिना आउने 
५. शरीर दुख्ने 
६. सुख्खा खोकी लाग्ने 
७. तापक्रम बढ्ने (९८.८ देखि १०० डी फा सम्म)
८.    टाउको दुख्ने 
९.    दिमागमा कुहिरो लागेजस्तो अनुभव हुने र एकाग्रता नहुने 
१०.    स्वाद र बासना कमी हुने वा नहुने 
११.    तौल घट्ने 
१२.    पाचनक्रियामा समस्या हुने 


Advertisement

कोभिड निको भएपछि हुने शारीरिक तथा मानसिक थकानको कारण बेडबाट उठ्न गाह्रो हुने, सिंगारपटार गर्न मन नलाग्ने, नुहाउन मन नलाग्ने, खाना बनाउने जाँगर नहुने, काम गर्न मन नलाग्ने, कमाइ घट्दै जाने, काममा जाने व्यक्तिले धेरै छुट्टि लिने, पटक–पटक स्वास्थ्य जाँच गर्ने इच्छा हुने, चिन्ता र तनाव र उदासिनता हुने लगायतका समस्या पनि देखिन्छ ।

श्वासप्रश्वास सम्बन्धी समस्या, कपाल झर्ने, छालामा बिबिरा आउने, निद्रा नलाग्ने, संज्ञा तथा स्मृति समस्या, डिप्रेसन, चिन्ता, मूड परिवर्तन आदि लक्षण पनि देखिन्छन् । धेरैजसोको केही हप्तामै पूरै ठीक हुन्छ । थोरै निको भएका संक्रमितलाई लामो समयसम्म पनि समस्या देखा पर्छन् । दीर्घ बिरामी तथा ज्येष्ठ उमेरका व्यक्तिमा थकाई लाग्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, जोर्नी दुख्ने, छाती दुख्ने अनि लामो समयसम्म मांशपेशी तथा टाउको दुख्ने, छिटोछिटो र गहिरो मुटुको धड्कन बढ्ने, स्वाद र गन्ध नफर्किने एवं स्मृति, एकाग्रता तथा निद्रामा समस्या देखिएको विभिन्न अध्ययनले देखाएका छन् ।

कोभिड–१९ का कारण मुटु, फोक्सो तथा मस्तिष्कमा कोषहरू नष्ट हुन सक्छन् । यस्तो भयो भने मुटुको मांशपेशी नष्ट भएमा हृदयाघात हुने वा मुटुको दीर्घकालीन समस्या हुने हुनसक्छ । निमोनिया भएका कतिपय व्यक्तिमा फोक्सोका स–साना थैली नष्ट हुन सक्छन्, जसले गर्दा फोक्सोका तन्तुमा दाग बस्छ ।

कोभिडले मस्तिष्कमा असर गरेका व्यक्तिमा स्ट्रोक हुने, बेहोस हुने, अस्थायी प्यारालाइसिस हुने, पार्किन्सन तथा अल्जाइमर हुने हुनसक्छ । कोभिड १९ ले रक्तकोषहरूलाई खण्डित गरेर ढिका जम्ने अवस्था आउँछ । रगतको ढिक्का ठूलो भएमा हृदयाघात तथा स्ट्रोक हुनसक्छ । त्यस्तै मुटुमा रगत सप्लाई गर्ने स–साना नशालाई रगतका ढिकाले ब्लक गरेर मुटुलाई असर हुन्छ । त्यस्तै फोक्सो, कलेजो र मिर्गाैलालाई पनि रक्तअवरोध गरेर असर गर्न सक्छ । आईसीयू र भेन्टिलेटरमा बसेर निको भएका अधिकांश व्यक्तिमा चिन्ता, डिप्रेसन तथा पोस्ट ट्राउमाटिक स्ट्रेस सिन्ड्रोम हुनसक्छ । 

सन् २००२ मा चीनमा फैलिएको सार्स (कोरोना भाइरसको अघिल्लो प्रजाति) भएका केही व्यक्तिहरूमा अहिलेसम्म पनि थकाइ लाग्ने, मांशपेशी दुख्ने तथा एन्जाइटी हुने पाइएको छ ।

अमेरिकामा भएको एउटा अध्ययनले देखाएको छ कि कोभिड–१९ निको भएका व्यक्तिमा देखिएका समस्याहरूमध्ये ५५% ले अत्यधिक थकाइ लागेको, ४२% ले सास फेर्न गाह्रो भएको, ३४% ले स्मरण शक्ति कम भएको, ३०.८% ले निद्रामा समस्या भएको तथा २८% ले काममा एकाग्रता नभएको बताएका थिए । (एकै व्यक्तिमा धेरैवटा लक्षण देखिने भएकाले प्रतिशत यस्तो आएको हो ।)

आईसीयूबाट फर्केका व्यक्तिमा थकाइ (५३%), सास फेर्न गाह्रो (४३%), जोर्नी दुख्ने (२७%), छाती दुख्ने (२२%) तथा जीवनको गुणस्तर अत्यन्तै खराब भएको (१%) समस्या देखिएका थिए । इटलीमा भएको अध्ययन पनि यो अध्ययनको नजिक देखिएको थियो ।

यसबाहेक यौन दुर्बलता, हीनताबोध, काममा जाने मन नलाग्ने, पढाइ तथा काम छाड्ने, परिवार तथा समाजबाट विभेद सहनुपर्ने, युवतीमा प्रजनन् शक्ति गुम्छ कि भन्ने चिन्ता हुने, जुन समस्या देखिए पनि कोभिडको शंका गर्ने तथा निष्क्रिय जीवनशैली अपनाउनेको संख्या बढिरहेको अध्ययनले देखाएका छन् ।

‘पोस्ट कोभिड सिन्ड्रोम’ कसरी व्यवस्थापन गर्ने ?

– समय–समयमा स्वास्थ्य परीक्षण गर्ने ।

– नष्ट भएका कोषको निर्माण तथा शक्ति आर्जनको लागि पोषण सबैभन्दा महत्त्पूर्ण कुरा हो । जतिसक्यो, त्यति बढी नेचुरल भेराइटीयुक्त खाना खानाले शरीरलाई चाहिने पोषण पुग्दछ । हरियो सागसब्जी, फलफुल, गेडागुडी, दूध, अण्डा, माछामासु लगायत नियमित खानुपर्दछ । पानी, सुप, ग्रीन टी तथा अन्य झोलिलो खानाले शरीरमा पानीको मात्रा पुग्छ ।

– आफ्नो अवस्था अनुसार क्रमशः व्यायामलाई बढाउँदै गर्ने तथा हिँड्ने गर्नाले शरीरको स्टामिना बढ्छ ।

– २ घण्टा बिहानको न्यानो घाम ताप्ने ।

– राति ८ घण्टा सुत्ने ।

– योग, ध्यान, संगीत श्रवण गर्ने ।

– चिकित्सकको सल्लाह अनुरुप मल्टिभिटामिन, भिटामिन डी, भिटामिन ए, भिटामिन इ लगायतको सेवन गर्ने ।

– चिन्ता, तनाव तथा मानसिक समस्याको लागि मनोपरामर्शदाता, मनोरोग विज्ञसँग परामर्श तथा उपचार लिने ।

– बेलुन फुक्ने, प्राणायाम गर्ने आदिबाट फोक्सोको फिजियोथेरापी गर्ने ।

– थकान, मांशपेसी दुखाइको लागि मालिस गर्ने, फिजियोथेरापी गर्ने ।

– कोभिड तथा त्यसको लागि प्रयोग गरेका स्टेरोइड लगायतका औषधिले ब्लड सुगर, रक्तचाप बढेको तथा  मिर्गाैला एवं कलेजोको कार्यक्षमता घटेको हुनसक्छ । यस्तो अवस्थामा सम्बन्धित चिकित्सकसँग सम्पर्क राखेर निदान तथा उपचार गर्ने ।

– पाचन प्रणालीको समस्या देखिएमा हल्का खाना पटक–पटक खाने ।

– सास फेर्न गाह्रो भएमा चिकित्सकको सल्लाह अनुसार अक्सिजन लिने वा सास फेर्न सजिलो हुने औषधि सेवन गर्ने ।

– स्मरण शक्ति तथा एकाग्रता बढाउनको लागि ध्यान गर्ने । चिकिसकको सल्लाह अनुसार मेधाबर्द्धक तथा रसायनको सेवन गर्ने ।

– सकारात्मक सोच तथा उच्च मनोबलको अभ्यास गर्ने । काममा व्यस्त हुने । हाँसोठट्टा गर्ने । आफ्नो रुचिका काम गर्ने ।

कोभिड जितेका व्यक्तिको लागि यी समस्या सामान्य हुन् । स्वस्थ जीवनशैली अवलम्बन गर्ने तथा आफ्नो नियमित दिनचर्यामा फर्किएपछि यी लक्षण हराउँदै जान्छन् । विभिन्न देशमा भएका अध्ययनले देखाएका छन् कि ९०% व्यक्तिलाई यी लक्षण केही हप्तामा हराउँछन् भने १०% लाई केही महिना लाग्न सक्छ । 

सम्यक आहार, बिहार, आचार तथा व्यवहारले यी सिन्ड्रोमलाई परास्त गर्न सकिन्छ । चढ्नुको अघिल्तिर शिखर स्वयं ओह्रालिएको हुन्छ ।

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्