१० साउन २०८३, आइतबार
सत्ताको खेल

दोहोरो कार्ड खेल्दा चिप्लिए देउवा !

बैशाख २४, २०८१
काठमाडौं
दोहोरो कार्ड खेल्दा चिप्लिए देउवा !

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । 

देउवाले एमालेसँग छलफलका लागि दोस्रो तहका नेतालाई खटाएर एउटा माहोल बनाइरहेका थिए । तर, यही बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई विश्वासमा लिएर वैकल्पिक गठबन्धनको प्रयास गरेपछि सभापति देउवा रणनीतिक रूपमा अप्ठ्यारोमा परेका हुन् । 

यसबीचमा कांग्रेसले भित्रभित्रै वैकल्पिक गठबन्धनको प्रयासका लागि गोप्य बैठक चलायो, जसको अगुवाइ उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए । कांग्रेसको यस्तो प्रयासपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल आइतबार फुटेको छ । तत्काल अर्को गठबन्धन हुन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको साझा रणनीतिअनुरूप जसपा फुटेको हो, जसको असर देउवालाई पनि परेको छ । 

ओलीले कांग्रेससँग संवाद गरे पनि आफू अनुकूल परिस्थितिका लागि मात्रै कुराकानीको प्रयास गरेका थिए । तर, जसपाका यादव र नेकपा एकीकृत समाजवादीका माधव नेपालले देउवासँग गोप्य भेटघाट गर्ने, एक–एक वर्ष प्रधानमन्त्री बन्नेसम्मको योजना बनाए । 

एमाले र माओवादीलाई समेत झस्काउने गरी कांग्रेसका ८८, राप्रपाका १४, जसपाका १२, समाजवादीका १०, जनमतका ६, लोसपा र नागरिक उन्मुक्तिका ४/४ गरी १३८ सांसद पुर्‍याउने अभियान स्वरूप अर्को गठबन्धनको प्रयास भइरहेको थियो । यसमा राष्ट्रिय जनमोर्चाको एक सिट थप्दा बहुमतमाथि पुग्ने हिसाब निकाल्दै यादव र नेपालले कांग्रेससँग छलफल गरेका थिए । 

null

यादव र नेपाल एक–एक वर्ष प्रधानमन्त्री बन्ने, यसमा कांग्रेस पनि मिसिने गरी छलफल अगाडि बढेपछि ओली र प्रचण्ड एकैपटक झस्किएका हुन् । त्यसपछि विकसित घटनाक्रमअनुसार आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १२ मध्ये ७ सांसदले जसपा गठन गरेका छन् । 

अब एमाले वा माओवादीबिना अर्को गठबन्धनमा बहुमत पुर्‍याउने बाटो तत्कालका लागि बन्द भएको छ । अब एमाले, माओवादी र रास्वपाबिना प्रतिनिधिसभामा १३८ पुर्‍याएर बहुमत जुटाउन त्यति सहज देखिँदैन ।

‘प्रचण्डदेखि माधव नेपालको बार्गेनिङ अति नै भयो । केन्द्रदेखि प्रदेशसम्मै अस्थिरता भयो भन्ने भएपछि कांग्रेसमा एउटा धार एमालेसँग मिलेर निर्वाचन प्रणाली बदल्नेगरी सरकार बनाएर जाऊँ भन्नेमा छ,’ देउवानिकट स्रोत भन्छ, ‘होइन, कम्युनिस्टभन्दा डेक्रोक्रेटिक एलायन्स बनाएर जानुपर्छ भन्ने पनि छ । तर, यी दुवै विकल्पलाई सभापतिले नजिकबाट हेर्नुभएको छ । कुनै टुंगो दिइसक्नुभएको भएको पनि होइन । उहाँ पर्ख र हेरको स्थितिमै हुनुहुन्थ्यो । तर, जसपा फुटेपछि परिस्थिति केही बदलिएको छ ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत जसपा फुटे पनि नफुटे पनि सरकारको जग नै कमजोर भएकाले केही समय प्रतीक्षा मात्र गर्नुपर्ने तर्क गर्छन् ।

‘यो सरकारको जग र धरातल नै कमजोर छ,’ महतले लोकान्तरसँग भने, ‘जसपा फुट्यो । यसको ज्यादै धेरै असर परिहाल्छ भन्ने अवस्था छैन । तर, केही समय प्रतीक्षा गर्नुपर्छ ।’  

कांग्रेस र एमाले मिल्नुपर्छ भनेर बहस भइरहेका बेला कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको अगुवाइमा केही दिनअगाडि अर्को गठबन्धनका लागि छलफल भएको थियो । छलफलमा देउवा, नेपाल र खड्का सहभागी भएको स्रोत बताउँछ । पुरानै गठबन्धनमा आबद्ध दलको फेरि अर्को समीकरण बनाउने विषयमा कुराकानी भए पनि देउवाले त्यतिखेर कुनै निर्णय नदिएको नेताहरू बताउँछन् । 

‘उहाँ (माधव नेपाल)को पुरानै गठबन्धन ब्युँताउने कुरा सुने पनि देउवाले हुन्छ वा हुन्न केही भन्नुभएको थिएन,’ स्रोतले भन्यो । एमालेसँग पनि कुराकानी भएपछि देउवाले कुनै टुंगो नदिएको उनीनिकट स्रोत बताउँछ । तर, यसैमा ओलीले जोखिम देखेका हुन् । 

जसपा फुट्नेबित्तिकै सबै विकल्प सकिइहालेको मान्न कांग्रेस नेताहरू तयार छैनन् ।

null

‘अब यो सरकार रहँदैन भन्नेमा सबै दलका नेताहरू करिब–करिब पुग्नुभएको छ । अब नयाँका लागि कसले कसलाई गलाउने र को हाबी हुने भन्नेजस्तो मात्रै देखिन्छ,’ देउवानिकट स्रोत भन्छ, ‘प्रतिस्पर्धी पार्टी एमालेलाई तत्काल प्रधानमन्त्री दिएर जान कांग्रेसलाई गाह्रो छ । प्रचण्डलाई खेलाउन पाएर सजिलै बलियो रहेको र पुरानो शक्ति कांग्रेसलाई त्यत्तिकै प्रधानमन्त्री दिइहाल्न ओली मानिनहालेको तरल स्थिति हो । यसमा अब पार्टी फुटेपछि केही समय कुर्नैपर्ने भएको छ ।’

जसपा मात्रै होइन, १० सांसद भएको माधव नेपालको पार्टी फुट्ने र कांग्रेसमा पनि विग्रह निम्तिने जिकिर स्रोतको छ । फागुनमा आफूसहितको गठबन्धन तोडिएपछि अर्को दाउ हेरिरहेका देउवालाई पछिल्लो राजनीतिक घटनाक्रमले थप अप्ठ्यारो परेको छ ।

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री बन्नका लागि एकीकृत समाजवादीका माधव नेपाल र जसपाका उपेन्द्र यादवले गर्दै आएको कारोबारी राजनीति अन्त्य भएको टिप्पणी गरे । कांग्रेसलाई पार्टीगतरूपमा भने त्यसको खासै असर नपर्ने उनको दाबी छ ।

‘जसमा फुटले के देखायो भने प्रधानमन्त्री बन्ने उपेन्द्र र माधवको कारोबारी राजनीतिको बाटो बन्द भएको छ,’ रिजालले लोकान्तरसँग भने, ‘यही विषय बढेर कांग्रेसमा विग्रह हुँदैन, किनकि कांग्रेसमा खुलमखुला मारामार हुन्छ, तर सत्ताका लागि आन्तरिक विग्रह आउँदैन । त्यस खालको विग्रह कांग्रेसको संस्कार होइन ।’ 

एमालेसँग मिल्ने कुरा पनि सत्ताका लागि नभएको उनको तर्क छ । 

‘सत्ताका लागि २ ठूला दल मिल्ने कुरा उचित होइन । तर, सत्तामा एमाले र कांग्रेस सँगै बस्नुपर्छ भन्ने बहस संरचनागत सुधारका लागि हो,’ रिजालले भने, ‘कांग्रेस–एमालेले हिजो संविधान बचाए । १२ देखि १५ महिनासँगै बसेर निर्वाचन प्रणाली बदल्ने, समानुपातिक प्रणालीलाई ११० बाट घटाएर ६० मा झार्ने अनि चुनाव गरेर देशलाई आर्थिक समृद्धिको बाटोमा लाने काम गरौं भनेको हो । निर्वाचन प्रणाली सुधार चुनावी गठबन्धन गर्नुपर्ने प्रक्रिया तोड्न एक ठाउँमा उभिनुपर्छ भन्ने हाम्रो मत हो ।’

कांग्रेस युवा नेता प्रदीप पौडेल सत्तामा बसेर साना दल फुटाउने विषय अनैतिक र अमर्यादित भएको बताउँछन् ।

‘उपेन्द्र यादवले सत्ता गठबन्धनलाई असहयोग गरेको देखिएको थिएन । उहाँ आफैं सरकारमा मन्त्री हुनुहुन्छ । सत्तामा रहेको सानो दललाई फुटाउने र कमजोर बनाउने खेल खेल्नु अमर्यादित एवं अनैतिक हो,’ पौडेलले लोकान्तरसँग भने, ‘एमालेले पहिले पनि कांग्रेस फुटाउन नेता विशेषलाई प्रधानमन्त्रीको अफर गरेकै हो । ओली अरू पार्टीलाई कमजोर बनाएर आफू हावी हुन खोज्दैछन् भन्ने विषय कांग्रेसजस्तो पार्टीका नेताका पक्कै बुझ्छन् ।’ 

salt training

कमेन्ट गर्नुहोस्