गत २ हप्तादेखि बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिको महामारीको कारण विश्व त्रस्त बनेको छ । यो प्रजातिको कोरोना भाइरस के हो ? के सावधानी अपनाउनु पर्ने हो भन्ने विषयमा बुँदागत तथ्य यसप्रकार छन् ।
– यो कोरोना भाइरस नै हो । अर्को नयाँ भाइरस हैन । भाइरस पटकपटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो । कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ।
– लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका अनुसार बेलायतमा फैलिएको नयाँ भेरिएन्ट कोरोना भाइरस विद्यमान भाइरसभन्दा ५० % बढी संक्रामक अर्थात् बढी सर्ने प्रकृतिको छ ।
– अर्को अध्ययनले ५६ % बढी सर्ने प्रकृतिको बताएको छ भने बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ७० % बढी संक्रामक रहेको बताएका छन् ।
– यो कति घातक छ भन्ने अझै पुष्टि भएको छैन । तथापि यो शीघ्र फैलिने भएको हुँदा अस्पतालमा भर्ना हुने तथा मृत्यु हुनेको संख्या बढ्ने जनाइएको छ ।
– यो भाइरस कति खतरनाक छ ? कति घातक छ ? अहिले बनेका खोपले यो प्रजातिलाई काम गर्छ कि गर्दैन ? भन्ने बारे अध्ययन भइरहेको छ । विज्ञहरूले यो भाइरस त्यति घातक नभएको तथा विद्यमान खोपले काम गर्ने बताएका छन् ।
– यो नयाँ प्रजातिलाई ‘VUI – 202012/01’ नाम दिइएको छ । VUI भनेको भेरिएन्ट अन्डर इन्भेस्टिगेसन हो ।
– बेलायतको दक्षिणी र पूर्वी क्षेत्रमा गत १३ डिसेम्बरमा ११०८ नयाँ प्रजाति संक्रमित व्यक्तिको पहिचान भएको थियो ।
– यो भाइरस निकै छिटो सर्ने भएकोले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् ।
– पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार भाइरसको म्युटेसन हुँदा स्पाइकमा पनि म्युटेसन भएको हुँदा बढी संक्रामक भएको हो । यो खालको म्युटेसन पटकपटक भएमा कोरोना भाइरसविरुद्धको खोप फ्लुको खोप जस्तै प्रत्येक वर्ष लगाउनु पर्ने हुनसक्छ ।
– कोरोना भाइरस देखिएपछि करीब ४ हजारपटक यसको स्पाइक प्रोटिन जिनको म्युटेसन भएको छ । कोरोना भाइरस आरएनए भाइरस भएको हुँदा यो पटकपटक म्युटेसन हुँदै प्रजनन् हुन्छ ।
– यसअघि पश्चिम युरोप र उत्तर अमेरिकामा म्युटेसन भएको D614G प्रजाति छिटो फैलिएपनि त्यति हानिकारक देखिएको थिएन ।
– यसअघि नोभेम्बरमा स्विडेनको कृषि फार्ममा तथा जुन र जुलाइमा स्पेनको फार्ममा पनि म्युटेसन भएको थियो ।
– अहिले बेलायत लगभग लकडाउनको अवस्थामा छ भने बेलायतसँग अन्तर्राष्ट्रिय जगतले ओहोरदोहोर बन्द गरेको छ । गत बुधवार बेलायतमा एकदिनमा ४० हजार व्यक्ति संक्रमित भएका थिए ।
– फ्रान्स, जर्मनी, आयरल्याण्ड, नेदरल्याण्ड, स्पेन, स्विडेन अमेरिका, दक्षिण अफ्रिका, जापान, लेबनानलगायतका देशमा यो नयाँ प्रजातिको कोरोना भाइरस पुगिसकेको छ ।
– भारतमा पनि बेलायतबाट आएका धेरै व्यक्तिहरू संक्रमित भएका छन् । उनीहरूलाई आइसोलेसनमा राखेर भाइरसको जिनोम सिक्वेन्स गरिँदैछ ।
– नेपालमा हालसम्म यो भाइरस आएको पुष्टि भएको छैन । विगत १० दिन यता बेलायतबाट आएका करीब २८० जना (बेलायती तथा नेपाली )लाई खोज्ने काम भइरहेको छ । उनीहरूको स्वाब लिएर कोरोना भाइरसको जिनोम सिक्वेन्स गरेपछि मात्र यहाँ आए /नआएको पुष्टि हुन्छ ।
– नेपालले पनि बेलायतसँग सम्पर्कविच्छेद गरेको छ । तथापि यो भाइरस अन्य देशबाट आउने व्यक्तिमा पनि सरेको हुनसक्छ । त्यसैले एयरपोर्ट तथा भारतीय सीमानाकामा परीक्षण तथा आइसोलेसन प्रभावकारी गराउनु जरुरी छ ।
– यो प्रजातिको कोरोना भाइरस नेपालमा पनि आउनसक्ने सम्भावना छ । अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, दुरी कायम गर्ने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने तथा हात नियमित रूपमा धुने गरेमा हामी यो भाइरसबाट बच्न सकिन्छ । यसको घातक प्रभाव कम भएकाले डराउनु आवश्यक छैन ।
अन्त्यमा,
जब भाइरसले आक्रमण गर्ने तरिका परिवर्तन गर्छ, हामीले पनि सुरक्षाको उपाय परिवर्तन गर्नुपर्दछ । भाइरस नियन्त्रण गर्ने प्रभावकारी उपाय अबलम्बन नगरेमा हामी धेरै संक्रमित हुनेछौं, हाम्रा अस्पतालको क्षमताले धान्ने छैनन् तथा धेरै व्यक्तिको ज्यान जानेछ । - बोरिस जोन्सन
डा. रवीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।