कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अब्राहमले बिहानदेखि लाश गाड्न थालेका थिए । रात छिप्पिऊन्जेलसम्म उनले लाशहरू गाडिरहे ।
चर्चका सेता अनि त्यसमा रगत लागेर रातो भएका कपडामा लाशहरू बेरिएका थिए र बञ्जर भूमिमा यत्रतत्र फालिएका थिए । अन्य व्यक्तिहरूलाई हातमा पेटीले बाँधेर उनीहरूकै घरको दैलोमा गोली हानेर मारिएको थियो ।
मृतकहरूमा पुजारी, वृद्धवृद्धा, अनेकौं परिवार अनि सन्डे स्कूलका २० विद्यार्थी समेत रहेको प्रत्यक्षदर्शीहरूले बताए ।
अब्राहमले केही बालबालिकालाई तत्कालै चिनिहाले । उनीहरू इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा रहेको उनकै शहर एडागा हामुसका थिए । त्यहाँ दुई हप्ताअघि लडाइँ भएपछि उनीहरू भागेका थिए ।
लडाइँ चर्किंदै जाँदा अब्राहम र उनका परिवारका साथै सयौं अन्य विस्थापितहरू नजिकैको गाउँ डेंगेलाटतिर भागेका थिए । त्यो गाउँ अक्करे भीरमा रहेको छ ।
उनीहरूले शताब्दियौं पुरानो ऐतिहासिक चर्च मर्यम डेंगेलाटमा शरण लिएका थिए ।
गत नोभेम्बर ३० मा अनेकौं तीर्थयात्रीहरू त्सियोन मर्यम नामक पर्व मनाउन त्यहाँ भेला भएका थिए । त्यस दिन जेरुसेलमबाट आर्क अफ द कोभनेन्ट ल्याइएको विश्वास इथियोपियनहरूले गर्ने गरेका छन् । हप्तौंसम्म चलेको हिंसाबाट त्यो एक दिन मुक्ति पाइएको थियो तर त्यो दिन पनि लामो समय रहेन ।
इरिट्रियाली सैनिकहरूको एक समूहले पर्व मनाइरहेका सयौं तीर्थयात्रीमाथि गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताए । मानिसहरू पैदलै भाग्न खोजे । उनीहरू भीरको बाटो हुँदै छिमेकी गाउँहरूतिर भागे । सैनिकहरूले उनीहरूलाई पछ्याए अनि पहाडभरि गोली चलाउँदै हिँडे ।
सीएनएनले १२ जना प्रत्यक्षदर्शी, बाँचेकाहरूका २० जना नातेदार र घटनाका तस्वीरका आधारमा गरेको अनुसन्धानले भयावह दृश्यको वर्णन गरेको छ ।
सैनिकहरू घरघर गए मानिसलाई घरबाट बाहिर थुते । आमाहरूलाई आफ्नै छोरा बाँध्न लगाइयो । एकजना गर्भवती महिलालाई गोली हानियो, उनका पतिलाई मारियो । केही मानिस लाशमुनि लुकेर बाँचे ।
यो नरंसहार तीन दिनसम्म चल्यो । सैनिकहरूले स्थानीयहरू, विस्थापितहरू र तीर्थयात्रीहरूलाई सोत्तर पारे । डिसेम्बर २ मा बल्ल सैनिकहरूले अनौपचारिक अन्तिम संस्कारको अनुमति दिए तर कसैले शोक मनाएको देखेमा मारिदिने भन्दै धम्की दिए । अब्राहम लाश गाड्न अघि सरे ।
सैनिकहरूको तीखो नजरबाट बच्दै उनले आँसु रोकेर बालबालिका र किशोरहरूका शरीर संकलन गरे । उनीहरूको कपडाको गोजीबाट परिचयपत्र निकाले अनि उनीहरूको लवाइ वा केशविन्यासको सूक्ष्म टिपोट गरे । गोली हानेकाले कसैको अनुहार बिल्कुलै नचिनिने भएको थियो, अब्राहमले बताए ।
त्यसपछि उनले उनीहरूको शरीरलाई माटो र काँडेदार रुखको हाँगाले छोपे । उनीहरूलाई पानीले नबगाओस् वा हुँडार र गिद्धले नलुछून् भनी उनले प्रार्थना गरे । अन्त्यमा उनले गाडेको ठाउँमा उनीहरूको जुत्ता राखे । पछि मातापितालाई ल्याएर उनीहरूको पहिचान खुलाउन सकिन्छ कि भनेर उनले त्यसो गरेका हुन् ।
‘उनीहरूको हात बाँधिएको थियो । हामीले चारैतिर ससाना बालबालिका देख्यौं । एकजना वृद्ध व्यक्ति सडकमा मारिएका थिए । उनको उमेर त्यस्तै ८० वर्ष हुँदो हो । अनि सैनिकहरूले खुलमखुला सडकमा साना बच्चालाई मारे । मैले यस्तो नरसंहार कहिले पनि देखेको थिइनँ र फेरि कहिल्यै देख्न चाहन्नँ,’ अब्राहमले बताए ।
‘ईश्वरको कृपाले मात्र हामी बाँच्यौं ।’
त्यस दिन आफूले ५० जनाभन्दा बढीलाई गाडेको अब्राहम बताउँछन् । तर आक्रमणमा परी १०० भन्दा बढीको ज्यान गएको हुन सक्ने उनको अनुमान छ ।
नोभेम्बर महिनादेखि मारिएका सयौं नागरिकमध्ये उनीहरू पनि हुन् । सन् २०१९ मा नोबेल शान्ति पुरस्कार पाएका इथियोपियाली प्रधानमन्त्री आबी अहमदले टिग्रे क्षेत्रमा शासन चलाउने राजनीतिक दलविरुद्ध सैन्य कारवाही चलाएपछि उक्त नरसंहार भएको हो ।
आबी सन् २०१८ मा सत्तामा आउनुअघि लगभग तीन दशकसम्म टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) ले शासन चलाएको थियो । उसले सरकारी सेनाको अड्डामा आक्रमण गरेको र हतियार चोर्न खोजेको आरोप लगाउँदै आबीले सैन्य कारवाहीको आदेश दिएका हुन् । टीपीएलएफ यस आरोपलाई अस्वीकार गर्छ ।
दुई पक्षबीच तनाव बढ्दै जाँदा यस्तो हिंस्रक द्वन्द्व मच्चिएको हो । अफ्रिकाको दोस्रो सबभन्दा ठूलो जनसंख्या भएको मुलुक इथियोपियामा जातीय राष्ट्रवादी भिडन्तको यो सबभन्दा भयावह घटना हो ।
नोभेम्बर महिनाको अन्त्यमा टिग्रेका प्रमुख शहरहरूमा नियन्त्रण कायम गरेपछि आबीले विजयको घोषणा गरे र कारवाहीमा कुनै पनि नागरिकलाई क्षति नपुगेको दाबी गरे । इथियोपियाली सैनिकहरूलाई सहायता दिन इरिट्रियाका सैनिकहरू सीमा पार गरेर टिग्रेमा आएको कुरालाई पनि उनले खण्डन गरे ।
तर ग्रामीण र पहाडी क्षेत्रमा लडाइँ अहिले पनि जारी छ । त्यहाँ टीपीएलएफ र उसका सशस्त्र समर्थकहरू लुकिरहेको बताइन्छ । आबीले सत्ता मजबूत बनाउनका लागि गरेको प्रयासलाई उनीहरू प्रतिकार गरिरहेका छन् ।
हिंसा स्थानीय समुदायहरूमा पनि सरेको छ । सर्वसाधारण दोहोरो मारमा परेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले विगत दुई दशकमा शरणार्थीहरूको सबभन्दा भयावह पलायन यही भएको बताएको छ ।
नरसंहार रोकथामसम्बन्धी राष्ट्रसंघका विशेष सल्लाहकारले फेब्रुअरी महिनाको आरम्भतिर आफूहरूलाई गैरन्यायिक हत्या, यौन हिंसा, लुटपाट, सामूहिक हत्या र मानवीय सहायतामा पहुँचबाट रोक लगायतका घटनाका जानकारी दिइएको बताए ।
यीमध्ये अधिकांश ज्यादती इरिट्रियाका सैनिकहरूले गरेको बताइएको छ । आबीले इरिट्रियाका राष्ट्रपति इसासियास अफवेर्कीसँग गरेको अतिप्रशंसित शान्ति सम्झौताले साझा शत्रु टीपीएलएफविरुद्ध युद्ध गर्ने वातावरण तयार गरेको यसबाट देखिएको छ ।
इथियोपियालाई सीएनएनले यस विषयमा टिप्पणी गर्नका लागि अनुरोध गर्दा सरकारले डेंगेलाटमा भएको आक्रमणलाई सीधै सम्बोधन गरेन । उक्त क्षेत्रमा भएका भनिएका अपराधमा पूर्ण अनुसन्धान गरी सबै पीडकलाई न्यायको कठघरामा ल्याइने सरकारले बतायो तर अनुसन्धानको विस्तृत विवरण दिएन ।
सीएनएनले यस विषयमा टिप्पणी गर्न इरिट्रिया सरकारलाई पनि अनुरोध गरेको थियो तर उसले प्रतिक्रिया दिएको छैन । शुक्रवार इरिट्रिया सरकारले एम्नेस्टी इन्टरनेसनलको आरोपलाई खण्डन गर्दै टिग्रेमै भएको अर्को नरसंहारमा आफ्ना सैनिकहरू संलग्न नरहेको बतायो ।
टीपीएलएफले सीएनएनलाई एक बयान दिँदै नरसंहारको बेलामा आफ्ना सैन्यबलहरू डेंगालाटमा नभएको जनायो । टीपीएलएफ भन्ठानेर इरिट्रियाका सैनिकहरूले सर्वसाधारणको नरसंहार गरेको हुनसक्ने अनुमानलाई उसले अस्वीकार गर्यो र युद्धका क्रममा भएका ज्यादतीका लागि सबै पक्षलाई जवाफदेही बनाउनका लागि संयुक्त राष्ट्रसंघलाई अनुसन्धान गर्न आह्वान गर्यो ।
अहिले पनि उक्त क्षेत्रको स्थिति स्पष्ट छैन । इथियोपिया सरकारले सञ्चारकर्मीहरूलाई त्यहाँ जान दिएको छैन अनि सरकारको नियन्त्रणमा रहेको क्षेत्रबाहेक अन्यत्र सहायता पुर्याउन पनि दिएको छैन । त्यसले गर्दा बाँचेका मानिसहरूबाट घटनाको पुष्टि गराउन पनि गाह्रो परेको छ ।
अनि युद्धका बेलामा बारम्बार सञ्चार सुविधा बन्द गरिएकाले बाँकी विश्वले युद्धका विषयमा खासै केही थाहा पाउन सकेन ।
अहिले क्रमशः पर्दा हटाइँदैछ । टिग्रेबाट भागेका प्रत्यक्षदर्शीहरू इन्टरनेटको पहुँचमा छन् र फोनका लाइनहरू पनि चल्न थालेका छन् । उनीहरूले जातीय हिंसाको कारकका रूपमा रहेको विनाशकारी द्वन्द्वको विस्तृत विवरण प्रस्तुत गरेका छन् ।
नरसंहार गरिएको तीन महिनापछि डेंगेलाटका चिहानहरूले गाउँमा बसिरहेका मानिसलाई रक्तपातको दैनिक स्मरण गराउँछन् । तर मृतकका शरीरलाई पुनः धार्मिक रीतिरिवाजका साथ गाड्नका लागि अझै पनि सुरक्षित स्थिति बनेको छैन र यो वास्तविकताले उनीहरूलाई पीडा दिइरहेको छ ।
सीएनएनको वेबसाइटमा प्रकाशित यो फीचर एलिजा म्याकिन्तोशले रिपोर्टिङ गरी लेखेकी हुन् । यसमा बारबरा अर्वानिटिड्स, निमा एल्बागिर, बेथलेहम फेलेके, जियानलुका मेज्जोफियोर र केटी पोलग्लासेले पनि रिपोर्टिङ गरेका हुन् । लामो फीचरको संक्षेपीकरण गरी नेपालीमा अनुवाद लोकान्तरका लागि विन्देश दहालले गरेका हुन् ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...