०३ साउन २०८३, आइतबार
एमाले विवाद

कार्यदलका सदस्यले धोका दिएको माधव समूहको निष्कर्ष, नयाँ पार्टी बनाउने औपचारिक तयारी

भदौ १, २०७८
कार्यदलका सदस्यले धोका दिएको माधव समूहको निष्कर्ष, नयाँ पार्टी बनाउने औपचारिक तयारी

नेकपा एमालेको आन्तरिक विवाद अन्ततः औपचारिक रूपमा पार्टी फुटको अवस्थामा पुगेको छ ।

मन्त्रिपरिषद् बैठकले दल विभाजन गर्ने अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरेसँगै एमाले औपचारिक रूपमा विभाजन हुने भएको छ ।

एमालेमा लामो समयदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको विवाद पार्टी फुटसम्म पुग्न लागेको छ ।

एमाले नेता नेपालले मंगलवारै आफूनिकट जनवर्गीय संगठनका नेता कार्यकर्तालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

‘पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौं, फेरि आन्दोलनको झण्डा बुलन्द गरिने छ । नेपाली जनताको प्यारो शक्तिको रूपमा अगाडि बढाउने छौं,’ नेपालले भने । तर अहिल्यै अरू पार्टीहरूसँग एकताको सम्भावना नरहेको तर सहकार्य हुने नेपालले बताए ।

नयाँ पार्टी बनाउने माधव नेपाल समूह भने पार्टी विवाद समाधानको लागि बनाइएको कार्यदलबाट धोका भएको निष्कर्षमा पुगेको छ । पार्टीको विवाद समाधानका लागि ओली र नेपाल तर्फबाट ५–५ जना सदस्य रहने गरी कार्यदल बनाइएको थियो । 

जसमा ओली तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य थिए भने नेपाल तर्फबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघु पन्त सदस्य थिए । 

माधव नेपाल तर्फका कार्यदलका सदस्यको भूमिका प्रभावकारी नभएको हुँदा पार्टी फुटको अवस्थामा पुगेको नेपाल पक्षका नेताहरूको बुझाइ छ । ‘कार्यदलमा भएका सदस्यहरूले खासगरी माधव नेपाल र हाम्रा विचारहरूको प्रभावकारी रूपमा प्रतिनिधित्व गर्नुभएन । ओलीले दिएका आश्वासनमा उहाँहरू अल्मलिनुभयो,’ माधव नेपाल निकट एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

पार्टीको विवाद समाधान गर्दा नेता कार्यकर्ताको राजनीतिक र मनोवैज्ञानिक सुरक्षा र सम्मानको विषयमा कार्यदलका सदस्यहरूले प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न नसकेको नेपाल पक्षको विश्लेषण छ । 

‘पार्टी विवाद मिल्ने अवस्थामा पुगिसकेको थियो । २ नेताको बीचमा अधिकार बाँडफाँडको कुरा मिल्ने अवस्थामा थियो तर हाम्रै साथीहरूको भूमिका प्रभावकारी हुन सकेन,’ नेपाल पक्षका अर्का केन्द्रीय सदस्यले भने ।

नयाँ पार्टी बनाउँदा कार्यदलमा रहेकामध्ये घनश्याम भुसालबाहेक अरू नेता नयाँ पार्टीमा नरहन सक्ने नेपाल पक्षका नेताको आकलन छ । 

माधव नेपाल समूहले अर्को पार्टी खोल्ने अन्तिम तयारी गरेका छन् । त्यसैलाई सहयोग पुग्ने गरी सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेर प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ । जसमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य भएमा नयाँ दल दर्ता गर्नसक्ने व्यवस्था उल्लेख गरिएको छ ।

एमालेको आन्तरिक विवाद मिलाउन लामो समयदेखि वार्ता र छलफल चलिरहेका थिए । माधव नेपाल समूहले साउन २१ र २२ गते आफूपक्षीय केन्द्रीय कमिटीको बैठक गरेर सम्मानजनक रूपमा पार्टी विवाद समाधानका लागि प्रयास गर्ने र ओली समूहले पार्टी गतिविधि रोक्नुपर्ने माग गरेको थियो । 

तर ओली पक्षले साउन २५ गते केन्द्रीय कमिटीको बैठक राखेर पार्टीको विधान संशोधन प्रस्ताव अनुमोदन गरी छलफलका लागि तल्ला तहको कमिटीमा पठाउने निर्णय गरेको थियो ।

मिल्ने अवस्थामा पुगेको भनिएको एमाले विवाद त्यसपछि भने बिथोलिएको थियो । केन्द्रीय कमिटीले विधान संशोधन प्रस्ताव अनुमोदन गरेपछि पनि एमालेका उपमहासचिव एवं अध्यक्ष ओलीका विश्वासपात्र विष्णु पौडेल माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । नेपाल र पौडेलबीचमा लामो छलफल भए पनि विवाद समाधानको निष्कर्ष आउन सकेको थिएन । 

त्यसैबेला कार्यदलका सदस्यहरूले ओली र नेपाल दुवैसँग पार्टी विवाद समाधानको विभिन्न विकल्पमा छलफल गरेका थिए तर पछिल्ला छलफलमा पार्टी अध्यक्ष ओलीले पार्टीमा किचलो धेरै समय राख्न नचाहेको र अब छलफल गरिराख्नुपर्ने आवश्यकता पनि नभएको प्रतिक्रिया कार्यदलका सदस्यहरूलाई दिएको नेपाल पक्षकै एक केन्द्रीय सदस्यले बताए । 

‘पार्टीमा किचलो धेरै समय राख्न आवश्यक छैन । निष्कर्षहीन व्यर्थका छलफल गरिराख्नु पनि आवश्यक छैन । उहाँहरूले जे चाहनुभएको हो, त्यो गर्न दिनुहोस् भन्नुभएछ,’ ओलीको भनाइ उदृत गर्दै नेपाल निकट एक नेताले भने । 

पछिल्लो समय ओलीले पार्टी विवाद समाधानको छलफलमा खासै चासो नदिएपछि नेपाल समूह औपचारिक रूपमा पार्टी विभाजनको तयारीमा लागेको नेपाल निकट ती केन्द्रीय सदस्यले बताए ।

मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेसँगै माधव नेपाल समूहले विभिन्न भेला र छलफल गरेको छ । 

नेता नेपालले दिउँसो आफू पक्षका कार्यदलका सदस्यहरूसँग सिंहदरबारमा केही बेला छलफल गरेका थिए । त्यसलगत्तै नयाँ बानेश्वरस्थित अर्याल होटलमा आफू पक्षका सांसदहरूसँग पनि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए । 

नेता नेपाल सांसदहरूसँग छलफल गरिरहेका बेला कार्यदलका सदस्य समेत रहेका नेता घनश्याम भुसाल माधव नेपाललाई भेट्न बानेश्वरस्थित अर्याल होटलमा पुगेका थिए । 

नेता नेपालसँगको केहीबेरको परामर्शपछि भुसाल पार्टी अध्यक्ष केपी ओलीसँग वार्ता गर्न उनको निवास बालकोट गएका थिए । 

‘अन्तिम क्षणमा केही चामत्कारिक उपलब्धि हुन पनि सक्छ । म एक पटक केपी ओलीसँग कुरा गर्छु भनेर घनश्याम भुसालले माधव नेपाललाई भन्नुभयो । माधव नेपालसँग सल्लाह गरेर नै उहाँ छलफलको लागि जानुभएको छ,’ नेपाल निकट नेता गंगालाल तुलाधरले भने । 

सांसदहरूको छलफल सकेर नेता नेपाल भीम रावललाई भेट्न गएका थिए । त्यसपछि उनी पुनः अर्याल होटलमै फर्केर काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरूसँग अर्को बैठकमा सहभागी भएका थिए । 

बैठकबाट बाहिरिएपछि नेपालले भर्चुअल माध्यमबाट आफूनिकट जनवर्गीय संगठनका नेता कार्यकर्तालाई सम्बोधन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्