२७ जेठ २०८३, बुधबार
भिडियो रिपोर्ट

लाखौं किसानमाथि सरकारको अक्षम्य अपराध– आफ्नो धान डुब्दैछ भनेर किसानले किन थाहा पाएनन् ?

कात्तिक ७, २०७८

गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्मको बेमौसमी वर्षाका कारण भित्र्याउने बेलाको धान खेतमै खेर गयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश १, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका किसानले धेरै धान खेतमै गुमाए । 

पाकेको धान काटेर किसानले खेतमा सुकाएका थिए । अचानक मौसम बदली भयो । घनघोर वर्षा भयो । खेत पोखरीमा बदलियो । धान डुब्यो । 

खेतमा सुकाएको धान भिजेपछि किसानको वर्षभरीको खाद्यन्न त गुम्यो नै अर्को वर्षको लागि धानको बिउ समेत बाँकी रहेन । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार तीन दिनमा देशभर करीब ६ अर्ब रूपैयाँ बराबरको धान बालीमा क्षति पुगेको छ । 

अहिले बाली भित्र्याउने मुख्य सिजन हो । यसबेलाको मौसम कृषकका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । 

जल तथा मौसम विज्ञान विभागले हरेक दिन बुलेटिन प्रकाशन गरेर सम्भावित मौसमको बारेमा जानकारी पनि गराउँछ । तर, मौसम विज्ञान विभागले दिएको मौसमबारेको जानकारी समयमै प्रभावकारी रूपमा किसानसम्म पुग्न सकेन । त्यही कारण किसानको वर्षभरीको मेहनत खेर गयो । 

मौसम विज्ञान विभागले दिएको मौसमसम्बन्धी जानकारी समयमा किसानसम्म नपुग्नुको मुख्य कारण सरकारी संयन्त्रबीचको समन्वयमा देखिएको भद्रगोल अवस्था हो । जिम्मेवार निकायहरू एकले अर्कोलाई दोष देखाएर पन्छिने गरेका छन् । 

यस्तो बेलामा मौसम विज्ञान विभाग आफैँले पनि बढी सक्रियता देखाउनुपर्दथ्यो । कृषि र सञ्चार मन्त्रालयलाई मौसमको जानकारी गराएर झकझक्याउनुपर्दथ्यो । तर, त्यसो हुन सकेन । त्यो कमजोरी मौसम विज्ञान विभागले महशुस भने गरेको छ । 

बाली भित्र्याउने बेला भएकाले कृषि मन्त्रालय आफैँले पनि छिनछिनमा कृषकलाई मौसम बारेको सूचना उपलब्ध गराउनुपर्ने हो । त्यसका लागि सञ्चार र सूचना प्रविधि मन्त्रालयको सहयोग लिन सक्थ्यो । तर, यी तीनवटै निकाय तँै चुप मैँ चुपको अवस्थामा बस्दा कृषकको वर्षभरीको गर्जो टार्ने माध्यम गुम्यो ।  

वर्षाका कारण छिटो पाक्ने जातका धानबालीमा क्षति पुगेको छ । कैलाली, कञ्चनपुर जिल्ला करीब ५० देखि ६० प्रतिशतसम्म धान उत्पादन हुने क्षेत्र हो । यसवर्ष समयमै पानी परेका कारण धानको उत्पादन १५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको थियो । सरकारी स्तरमा गरिएको अनुमान पूरा हुने देखिएको थियो, तर बेमौसमी वर्षाले सबैजसो धानबाली नष्ट गरिदिएको छ ।

मुलुकको कुल गार्हस्थ उत्पादनमा धानको मात्र करीब १५ प्रतिशत योगदान रहन्छ । यसपटक वर्षाले धानमा क्षति पुर्‍याउँदा आर्थिक वृद्धिमा समेत असर पर्ने निश्चित छ ।

सरकारी संयन्त्रको लापरवाहीका कारण पटक–पटक जनताले दुःख पाउँदै आएका छन । यस पटक पनि सम्बन्धित सरकारी निकाय जिम्मेवार नभइदिँदा हजारौँ हेक्टरको धानबाली खेर गयो ।

यस पटकको घटनाबाट पाठ सिकेर आगामी दिनमा मौसम सम्बन्धी सूचना प्रणाली व्यवस्थित गर्न सरोकारवाला निकायको बेलैमा चेत खुलोस् ।

पढ्नुहोस्, यो पनि :

salt training

कमेन्ट गर्नुहोस्