
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आइतवार राष्ट्रिय सभागृहमा मतदान चलिरहेको समयमा काखमा भर्खरको बच्चा बोकेर एक युवती भोट हाल्न तम्तयार थिइन् ।
काखमा साढे २ महिनाको बच्चा भएकाले उनी लाइनमा बस्नु परेन । काखमा दूधे बच्चा बोकेर कांग्रेस नेतृत्व छान्न आएकी हुन्, मनिषा अर्याल । उनी कांग्रेस जनसम्पर्क समिति अस्ट्रेलियाबाट प्रतिनिधि बनेर आएकी हुन् ।
‘आम्मामा भोट हाल्न हिँड्दाहिँड्दै थाक्ने रहेछ, कति ठाउँ हो कति ठाउँ भोट हाल्ने,’ ३१ वर्षकी मनिषाले लोकान्तरसँग भनिन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा लागि अस्ट्रेलियाबाट शुक्रवार मात्र काठमाडौं आएको उनले बताइन् ।
‘साढे २ महिनाका छोरा शुभम् उप्रेती सहित दुई बेबी र हजबेन्ड समेतको दुईतर्फी भाडादर ४२ सय डलर लाग्यो,’ मनिषाले लोकान्तरसँग भनिन् ।

कांग्रेसप्रति प्रतिबद्ध भएकाले आफूहरू बच्चा बोकेर पनि नेपाल आएको उनले बताइन् । ‘रगत-रगतमा कांग्रेस छ । ओमिक्रोनको हल्ला चले पनि हामी आयौं,’ मनिषाले भनिन् ।
३१ वर्षको उमेरमा कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेर आउन पाउँदा खुशी लागेको उनले बताइन् ।
आफूले मतदान गरेको व्यक्ति विजयी भएमा कांग्रेसमा सुधार हुने उनको भनाइ थियो ।
‘मैले जसलाई मतदान गरेकी छु, उहाँले जित्नुभयो भने कांग्रेसमा सुदृढीकरण आउँछ,’ मनिषाले भनिन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमवार मतदान भइरहेको छ ।
साँझ ५ बजेसम्म १५ सय हाराहारी भोट खसेको छ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता छन् ।
मतदानमा समय लाग्ने भएपछि मतदानको समय ९ बजेसम्म थपिएको छ ।