१० साउन २०८३, आइतबार
आलेख

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८
अविकास, गरीबी र कुशासनको दुष्चक्र

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए ।

यसलाई उल्टो रूपमा सोचौं, सुविधाहीन घर भएकाहरूको स्वास्थ्य अवस्था कमजोर हुन्छ । कमजोर स्वास्थ्य अवस्थाले कमाउन सक्ने क्षमता कमजोर बनाउँछ र न्यून आम्दानी हुन्छ । र, व्यक्ति गरीबीको दुष्चक्रमा रुमलिइरहन्छ । यस दुष्चक्रबाट छुटकारा पाउन गहकिलो प्रयास चाहिन्छ । 

क्षमता, आम्दानी, स्वास्थ्य अवस्था र आवास सुविधाजस्ता विषय निरपेक्ष नभै एकअर्कामा जेलिने विषय हुन् । विकास अर्थशास्त्रीहरू विकासका उपाय रेखीय रूपमा खोज्दै आएका छन् ।

समाजशास्त्रीहरू विकासलाई रितिरिवाज, संस्कृति, पहिचान र सम्बन्धका आयामबाट हेर्छन् र सुशासनविदहरू चाहिँ शासकीय क्षमताबाट । जसले जसरी व्याख्या गरेपनि गरीबीको दुष्चक्रजस्तै अविकासको दुष्चक्र स्रोत, शक्ति र संस्थाबीचको गलत अन्तरक्रियाको परिणाम हो । यस अर्थमा शासकीय आयाम सबैभन्दा दह्रिलो सावित हुन्छ । 

व्यक्ति/वर्ग गरीबीको दुष्चक्रमा पर्नु वा देश अविकासको दुष्चक्रमा पर्नु भनेको कुशासनको परिणाम हो । सुशासनले अवसरहरूको विस्तार गर्छ र त्यसलाई समुचित वितरण गर्छ । बुझ्नुपर्ने कुरा के हो भने अवसरको वितरण स्रोतको वितरण होइन, सामर्थ्यको विस्तार हो । कुशासनले अवसरको दुरूपयोग र लाभको केन्द्रीकरण गर्छ । 

कोही किन गरीब बन्छ भन्ने सन्दर्भमा नेल्सन मण्डेलाले भनेका थिए, ‘दासता र रंगभेदजस्तै गरीबी पनि स्वाभाविक नभै मानवनिर्मित हो । मानवीय प्रयत्नबाटै यसलाई हटाउनु पर्छ । यथार्थ हो कि जन्मदा समान अवस्थामा जन्मेकाहरू पनि जन्मेको घर, परिवार र परिवेशले कोही गरीब र कोही गैरगरीब बन्ने गर्छ । सम्पन्नको कोखमा जन्मेकै कारण अर्कोभन्दा कोही क्षमतावान, शासक, सर्जक वा आविष्कारक बन्ने गर्छ । 

परिवेश वा जन्मनुको अन्तर घटाएर नै विकास (अवसर) को मानवीकरण गर्न सकिन्छ । व्यक्तिको विकासका लागि क्षमता चाहिन्छ । त्यसका लागि लगानी चाहिन्छ । त्यो लगानी स्वच्छ वा मैलो जे भएपनि ऊ क्षमतावान बन्न सक्छ । सामर्थ्य भएकाहरूले नै स्वतन्त्रताको उपभोग गर्छन् । क्षमता विकास गर्न नसक्ने चाहिँ शासित बन्छ । यो यथार्थ युगौंदेखि दोहोरिँदै, संस्थागत बन्दै आएको छ । यस अर्थमा स्वतन्त्र भनेको आयको कमाइ हो, आयचाँहि स्वतन्त्रताको विस्तार । यो पनि एउटा संस्थागत चक्रमा रहन्छ । 

तर यो यथार्थ भन्न, बुझ्न समाज यसकारण पछि पर्दै आएको छ कि भन्ने/बुझ्नेहरू सामर्थ्यवान् हुन्, भनिनेहरूलाई न भन्ने फुर्सद छ, न भन्नुको अर्थ नै उनीहरूले देखेका छन् । यसकारण समाज असमान, तहसोपान, अविकास र अ–न्यायको पुञ्ज बनिरहेको छ । 

लोकतन्त्रजस्तो प्रणाली र राज्यजस्तो संयन्त्र यही विसङ्गतिलाई तोडी सभ्य, सुसंस्कृत, स्वच्छ र सुरक्षित समाज बनाउन आविस्कार भएका हुन् । तर लोकतन्त्र अभ्यास भएको साढे दुई सहस्राब्दी हुन लाग्दा पनि लोकतन्त्र जनजीवनमा पुगेन । न्याय र विकास गर्न बनेका राज्य संरचनाहरू यसैका अवरोधक बने, जसको सार्थक समीक्षा भएकै छैन । त्यसैले कोही गरीबीको दुष्चक्रमा फसेझैँ अधिकांश मुलुकहरू कुशासनको दुष्चक्रमा छन् । 

अविकासको दुष्चक्र भन्नु र कुशासनको दुष्चक्र भन्नु एकै हो । यो दुष्चक्र तोड्न विकास भएका वाद, दर्शन, सिद्धान्त प्रतिपादन भएपनि ती औपचारिक मात्र छन् । बहस, विचार, विवाद पनि ‘भएजस्तो’ देखिँदै आएको छ । प्रक्रियामा लक्षित वर्ग नै नसमेटिएपछि सबै औपचारिक भएका हुन् । अपनत्व नलिएको विषयले नतिजा कसरी देओस् ? 

जस्तो कि नब्बेको दशकबाट औधी चर्चा पाएको सुशासनले लोकतन्त्रका अवसरहरू विस्तार गरेन, बरू अवसरवादीहरूकै बौद्धिक विलासनबाहेक समाजले के पायो त भन्ने प्रश्न टड्कारो छ । 

परिस्कारका नाममा अभ्यासमा आएका पद्धतिहरूले समग्रतालाई समेट्न नसकेपछि आंशिकले मात्र अवसर अभ्यास गर्न पाउने प्रणाली संस्थागत हुने नै भयो । यसो किन हुन्छ भन्दा राजनीति ‘होल’ को (राज्यनीति) बन्नुपर्नेमा ‘पार्ट’को बन्यो । राज्यनीति ‘राजनीति’ बन्यो । न्यायको मियो बन्नुपर्ने प्रशासन व्यावसायिक नभै वृत्तिमुखी बन्यो । 

वृत्ति र राजनीतिले होललाई उपेक्षा गरेर पार्टलाई संरक्षण गर्छ । जवाफदेहिताका स्वचालित आयामहरू त्यसपछि अर्कैतिर लाग्ने भए । त्यसैले युगौदेखि लोकतन्त्र विरतरणको प्रश्न बाँकी नै छ । लोकतन्त्र कार्यमूलक बन्न नसकी मुलुकहरू अविकासका दुष्चक्रमा छन् । 

लोकतन्त्र प्राविधिक विषय मात्र नभै नैतिकता र निष्ठाको अर्थ खोज्ने प्रणाली हो । भोट, कानून, नीति, योजना, शासन, सरकार, प्रशासन, आदि प्राविधिक विषय हुन् ।

सारमा इमान (नैतिकता) र निष्ठा (व्यावसायिकता) मुख्य हुन् । क्षमतावान व्यक्तिमा इमान नभेटिए क्षमता नभएका इमान्दार नै राम्रो मानिन्छ । चाहिएको क्षमतावान र इमान्दार दुवै हो, जसले डेमोक्रेटिक डेफिसिट हुन नदिई डेमोक्राटिक डिभिडेन्ड्स् चाहिँ विस्तार गर्छ । त्यसो नभएर नै अधिकांश मुलुकहरू अविकासको दुष्चक्रमा छन् । 

सर्वव्यापी शिक्षा, सर्वव्यापी उपचार र सर्वव्यापी आय एक्काइसौं शताब्दीको समाजवाद (लोकतन्त्र ?) हो । राज्यहरू ‘कोही पछि नपरोस्’ भन्न त भनिरहेको छन्, यो आदर्श क्षितिजजस्तै झन् पर भाग्ने कार्यसूची कहिलेसम्म बनिरहेने हो ? प्रश्न अनुत्तरित छ । (@mainaligopi) 

salt training

कमेन्ट गर्नुहोस्