०६ साउन २०८३, बुधबार
पश्चिमाको भ्याक्सिन फोबिया

बहिष्कारमै पर्दा पनि किन कोरोना खोप लगाउन मानिरहेका छैनन् पश्चिमा नागरिक ?

माघ ४, २०७८
बहिष्कारमै पर्दा पनि किन कोरोना खोप लगाउन मानिरहेका छैनन् पश्चिमा नागरिक ?
Photo: GETTY

कोरोनाभाइरस देखिएको दुई वर्ष पूरा भइसक्दा पनि अझै यो निर्मूल हुने लक्षण देखिएको छैन । नेपालमै पनि कोरोनाको ओमिक्रोन भेरिएन्टका कारण तेस्रो लहर आएर धेरैजना बिरामी भइरहेका छन् ।

कोभिडबाट मुक्ति पाउनका लागि खोपको उच्च महत्त्व छ । महामारी अन्त्य गर्नका लागि सबभन्दा प्रभावकारी साधन खोप नै देखिएको छ किनकि कोभिडको ठ्याक्कै उपचार अहिलेसम्म पत्ता लागेको छैन । खोपले संक्रमण घटाउने, गम्भीर रोगबाट बचाउने र स्वास्थ्यसेवाको भार कम गर्ने प्रमाणहरू संसारभरि प्रशस्तै पाइन्छन् । 

तर खोप लगाउन हिचकिचाउनेहरूको संख्या पनि धेरै छ । विशेषगरी पश्चिमी मुलुकहरूले आवश्यकताभन्दा बढी खोप भण्डार गरेर राखेका छन् तर त्यहीँका जनताले खोप लगाउन मानिरहेका छैनन् । अनि अफ्रिका र एसियाका गरीब मुलुकमा चाहिँ पर्याप्त मात्रामा निःशुल्क खोप नपुगेकाले खोप अभियान अपेक्षाकृत रूपमा सफल हुन सकेको छैन । 

खोप लगाउन देखाइने हिचकिचाहटलाई विश्व स्वास्थ्य संगठनले संसारको शीर्ष १० स्वास्थ्य जोखिममध्ये एक भनेको छ । 

हालै मात्र सर्बियाली टेनिस स्टार नोभाक जोकोविचले कोरोनाको खोप नलगाएकै कारण अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गर्न पाएनन् । अस्ट्रेलिया सरकारले उनलाई अपमानजनक रूपमा कैयौं दिनसम्म अध्यागमन होटलमा राखेर अन्ततोगत्वा देशनिकाला गरिदियो र अहिले उनी सर्बिया फर्किसकेका छन् । फ्रान्स र स्पेनले समेत जोकोविचलाई कोरोनाविरुद्धको खोप नलगाइकन खेल्न नआउन भनेका छन् । 

फ्रान्सको कुरा गर्दा त्यहाँका राष्ट्रपति इम्मानुएल म्याक्रोंले खोप नलगाउने मानिसहरूको जीवन मुश्किल बनाइदिने चेतावनी दिएका छन् । अनि युरोपका विभिन्न देशहरूमा खोप नलगाउने मानिसलाई सार्वजनिक स्थानमा आउन नदिने र आधारभूत सेवासुविधा पनि उपलब्ध नगराइने सरकारहरूले घोषणा गरेका छन् । 

सीएनएन डट्कममा रब पिचेताले यसका बारेमा तयार पारेको रिपोर्टमा उल्लेख गरिएअनुसार, खोप लगाएको प्रमाणपत्र नहुने व्यक्तिलाई रेस्टुराँमा खान पनि दिइँदैन, सांगीतिक समारोहमा भाग लिन पनि अनुमति छैन र जिम जान समेत पाइँदैन । निकोसन रिमोल्डी नामक व्यक्तिले खोप नलगाउने निर्णय लिएका छन् र उनी आफूहरूलाई समाजले बहिष्कार गरेको बताउँछन् । 

एकातिर पश्चिमाहरू सरकारले लामो समयसम्म लकडाउन लगाएको भन्दै त्यसका विरुद्ध हिंस्रक विरोध प्रदर्शन गरिरहेका छन् भने अर्कातर्फ महामारी अन्त्य गर्नका लागि सहयोग गर्ने खोपप्रति अनिच्छा पनि देखाइरहेका छन् ।

यस्तोमा प्रश्न उठ्छ ः पश्चिमाहरू कोरोनाको खोप लगाउन किन हिचकिचाइरहेका छन् ? झन् शिक्षादर उच्च भएको र वैज्ञानिक सोचबाट चल्ने अपेक्षा गरिएको पश्चिममा त खोप अभियान भयंकर सफल हुनुपर्ने हो । 

यसको एउटा कारण पश्चिममा अत्यधिक स्वतन्त्रताको पैरवी हो । खोप लगाउने कि नलगाउने भन्ने कुरा व्यक्तिगत स्वतन्त्रता भएको सोच पश्चिमाहरूले राख्ने गरेका छन् र सरकारले जबर्जस्ती खोप लगाउन खोज्नु स्वतन्त्रताको उल्लंघन भएको उनीहरूको धारणा छ । व्यक्तिका अगाडि समाजको मूल्य उनीहरूको नजरमा छैन । 

व्यक्तिको जीवनमा राज्य हावी हुनुहुँदैन भन्ने उनीहरूको तर्क छ । मास्क लगाउने विषयमा पनि उनीहरूमा यस्तै हिचकिचाहट देखिन्छ ।

अनि विशेषगरी कोरोनाको खोप पश्चिमाहरूका लागि ठूलो शंकाको विषय हो । सामान्यतया कुनै पनि भाइरसविरुद्धको खोप बन्न कम्तीमा पनि एक दशक लाग्छ । तर कोरोना देखिएको एक वर्षमै खोप तयार पारेर मानिसहरूलाई लगाउन थालियो । त्यसरी तयार भएको खोप पर्फेक्ट हुन सक्दैनथियो यद्यपि खोपले गम्भीर संक्रमण तथा मृत्युलाई रोक्न धेरै हदसम्म सफलता पाएको अनुसन्धानहरूले देखाएका छन् ।

तर कोरोनाको खोप हतार गरेर निकालिएको भन्ने तर्कलाई विज्ञहरूले खण्डन गरेका छन् । अमेरिकाका सरुवा रोग विशेषज्ञ तथा मायो क्लिनिकको कोभिड १९ अनुसन्धान कार्यदल प्रमुख डा एन्ड्रु ब्राड्लीका अनुसार, खोपको क्लिनिकल ट्रायलमा द्रुत प्रक्रिया अपनाइएको थियो । 

तर खोप परीक्षणका लागि रोगी छनोट गर्ने, ती रोगीहरूको स्वास्थ्य अनुगमन गर्ने र उनीहरूलाई पछिसम्म निगरानीमा राख्ने कामलाई समय लगाइएको थियो र सबै प्रक्रिया पूरा गरिएको थियो । नियामक निकाय फूड यान्ड ड्रग एडमिनिस्ट्रेसनलाई बुझाइएको डेटा एनालाइसिस, नियमन स्वीकृति, लगानी सहमति लगायतका कागजातको काम चाहिँ द्रुत गतिमा अघि बढाइएकाले छिटो खोप ल्याउन सकिएको हो । 

संसारमै पूर्ण खोप पाएका मानिसको संख्या कुल जनसंख्याको १ प्रतिशतभन्दा कम रहेको आँकडा फर्मासुटिकल–टेक्नोलोजी डट्कम नामक वेबसाइटमा प्रकाशित आँकडाले देखाएको छ । मानिसहरूलाई खोप लगाउनका लागि विश्वस्त तुल्याउने चुनौतीलाई राज्यहरूले समुचित सम्बोधन गर्न नसकेमा कोभिड महामारी निर्मूल हुने देखिँदैन । 

त्यसो त खोप लगाएका मानिस संक्रमित भएको अनि केही मानिसको मृत्यु समेत भएको घटना पनि छ । त्यस्तो घटनालाई मिडियाले बढाईचढाई प्रस्तुत गरिदिँदा समेत मानिसहरू खोपप्रति शंकालु बनेको देखिन्छ । 

यसबाहेक लोकरञ्जनवादी राजनीतिले पनि मानिसहरूमा खोपका विषयमा शंका जन्माइदिएको छ । अमेरिकामा डोनल्ड ट्रम्प र ब्राजिलमा जाइर बोल्जोनारो जस्ता लोकरञ्जनवादी नेताहरूले महामारीका विषयमा खुलमखुला आशंका व्यक्त गर्दै महामारी व्यवस्थापनमा ध्यान नदिएको अनि खोप दिलाउन पनि तदारुकता नदेखाएको पाइयो । 

स्वास्थ्य र विज्ञानविद्हरूलाई सम्भ्रान्त वर्गका प्रतिनिधि मान्दै उनीहरू ठूला औषधि कम्पनीको एजेन्ट रहेको र अप्ठ्यारा प्राविधिक शब्द उपयोग गर्दै जनतालाई बेवकूफ बनाइरहेको भनी लोकरञ्जनवादीहरूले प्रचारबाजी गर्दा मानिसले त्यसलाई पत्याएको देखियो । अमेरिकाका सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीका विरुद्ध ट्रम्प र  षड्यन्त्र सिद्धान्त मान्ने अनुयायीहरूले निरन्तर बयान दिइरहेको सन्दर्भ यहाँ स्मरणयोग्य छ ।

त्यसबाहेक विज्ञहरूले स्पष्ट धारणा नराखिदिँदा पनि खोपप्रति मानिसहरू पूर्ण विश्वस्त हुन नसकेको देखिन्छ । खोप लगाउने व्यक्तिले अरूलाई रोग नसार्ने र गम्भीर रोगी पनि नबन्ने भनी विभिन्न विज्ञहरूले बताएका थिए । 

तर खोप लगाएका व्यक्तिले समेत भाइरस सारेको र उनीहरू पनि गम्भीर बिरामी भएको समेत पाइयो । यद्यपि विश्व स्वास्थ्य संगठनले खोप लगाए पनि भाइरसको जोखिम कम नहुने भन्दै मास्क लगाइरहन, भौतिक दूरी कायम गरिरहन र साबुनपानी वा स्यानिटाइजरले हात सफा गरिरहन आग्रह गरेको थियो । 

विभिन्न सरकारहरूले कोभिडको प्रतिकार्यलाई कसरी व्यवस्थापन गरे भन्ने विषयले पनि खोपमाथि जनताको विश्वासलाई प्रभाव पारेको तर्क यूएस नेसनल लाइब्रेरी अफ मेडिसिनको जर्नल पबमेड सेन्ट्रल (पीएमसी) मा प्रकाशित माज्दी सबाहेलजैन, केनेथ हार्टिगान–गो र हाइडी जे लार्सनको अध्ययनमा गरिएको छ । 

डिसेम्बर २०२० मा भ्याक्सिन कन्फिडेन्स प्रोजेक्ट र सहयोगी सर्वेक्षण संस्था ओआरबी इन्टरनेसनलले ३२ वटा देशमा गरेको सर्वेक्षणमा सरकारले कोभिडको व्यवस्थापनमा दक्षता देखाएमा कोभिडको खोप लगाउन जनता विश्वस्त हुने पाइएको थियो । कोभिड व्यवस्थापन कमजोर भएको मुलुकका जनताले खोप लगाउन पनि हिचकिचाहट देखाएका थिए । त्यसमाथि ट्रम्प र बोल्जोनारो जस्ता नेताले कोभिड व्यवस्थापनमा हेल्चेक्य्राइँ गरेको प्रसंग आएको थियो, त्यसलाई अमेरिका र ब्राजिलको खोप अभियानको सुस्तताको आलोकमा हेर्नुपर्छ ।

त्यसो त पश्चिममा कोरोना वा अन्य कुनै पनि भाइरस वा ब्याक्टेरियाविरुद्धको खोप लगाउन मानिसहरूले नचाहनुमा धार्मिक कारण पनि छ । चर्च अफ क्राइस्ट नामक सम्प्रदायले प्रार्थनाबाट रोग नाश हुनाले खोप वा औषधि आवश्यक नरहेको बताउने गर्छ । त्यसका अनुयायीहरू खोप लगाउन मान्दैनन् । 

अनि क्याथोलिक समुदायमा भ्रूणहत्यालाई पाप मानिन्छ र कोरोनाविरुद्धको कतिपय खोपमा भ्रूणको कोशिका उपयोग गरिएको भन्दै क्याथोलिकहरूले खोप नलगाउने भनेका छन् । 

त्यस्तै प्रोटेस्टेन्ट क्रिस्चियनहरूमाझ लोकप्रिय इभान्जेलिजममा ईश्वरको सार्वभौमसत्तामा विश्वास गरिन्छ र ईश्वरलाई सबैकुराको उत्कृष्ट ज्ञान छ भन्ने विश्वास गरिन्छ । ईश्वरमा आस्था नराख्ने र पवित्र जीवन नबिताउने व्यक्तिलाई ईश्वरले रक्षा नगर्ने भएकाले खोप लगाउनुको औचित्य नरहने यस धर्मावलम्बीहरू विश्वास गर्छन् । खोप लगाउनु भनेको म आस्थावान छैन र पवित्र पनि छैन भन्ने जनाउ दिनु हो भन्ने सोच इभान्जेलिकलहरूमा रहेकाले उनीहरू खोप लगाउन चाहँदैनन् ।  

यस्ता कारणहरूले गर्दा पश्चिममा सोचे जति संख्यामा मानिसले कोरोनाविरुद्धको खोप लगाएका छैनन् । संसारमै पूर्ण खोप पाएका मानिसको संख्या कुल जनसंख्याको १ प्रतिशतभन्दा कम रहेको आँकडा फर्मासुटिकल–टेक्नोलोजी डट्कम नामक वेबसाइटमा प्रकाशित आँकडाले देखाएको छ । मानिसहरूलाई खोप लगाउनका लागि विश्वस्त तुल्याउने चुनौतीलाई राज्यहरूले समुचित सम्बोधन गर्न नसकेमा कोभिड महामारी निर्मूल हुने देखिँदैन । 

salt training

कमेन्ट गर्नुहोस्