पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
यो साता पर्सियाली खाडीको राजनीतिमा क्रान्तिकारी परिवर्तन आएको झलक दिने एउटा घटना भएको छ ।
खाडी मुलुक कतारका शासक शेख तमिम बिन हमाद अल थानी अमेरिकाको भ्रमणमा जाँदा अमेरिकी राष्ट्रपति जो बाइडनले कतारलाई प्रमुख गैरनेटो साझेदार बनाउने योजना रहेको घोषणा गरे । गत अगस्ट महिनामा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लैजाँदा कतारले सहयोग गरेकाले यो दर्जा दिन लागेको बाइडनले बताए ।
बाइडनको यस घोषणासँगै अमेरिकाका लागि कतारको भूरणनीतिक महत्त्व स्थापित भएको छ । अमेरिकाको पूर्ववर्ती ट्रम्प प्रशासनले साउदी अरबलाई बढी महत्त्व दिएको थियो । अनि कतारविरुद्ध साउदी नेतृत्वको गठबन्धन गल्फ कोअपरेसन काउन्सिलले लगाएको नाकाबन्दीलाई अमेरिकाले अप्रत्यक्ष समर्थन गरेको थियो । यसरी एक समयमा क्षेत्रीय रूपमा एक्ल्याइएको कतार अहिले खाडीको सर्वाधिक महत्त्वपूर्ण राष्ट्र बन्न लागेको छ ।
कतारसँग भएको ग्यासखानीका कारण यो स्थिति आएको हो । वर्ल्डोमिटरको आँकडाअनुसार, रुस र इरानपछि सबैभन्दा धेरै प्राकृतिक ग्यासको भण्डार भएको मुुलुक कतार हो । कतारसँग संसारको कुल ग्यासको १२.५ प्रतिशत सञ्चिति छ ।
त्यसो त ग्यास उत्पादनको सवालमा अमेरिका शीर्ष स्थानमा छ भने रुस दोस्रो स्थानमा छ । तर कतार पनि छैटौं स्थानमा रही आफूलाई ऊर्जा आपूर्तिको क्षेत्रमा प्रमुख खेलाडीका रूपमा स्थापित गराउन सफल छ ।
कतार थोरै जनसंख्या भएको अनि भौगोलिक रूपमा अत्यन्तै सानो देश हो । त्यसैले उसको ग्यास देशभित्र खपत भएर पनि निकै बढी उब्रिन्छ । उसको वार्षिक खपतभन्दा ६०९ गुणा बढी उससँग सञ्चिति छ । यसको अर्थ हुन्छ, उससँग अझै ६०९ वर्षलाई पुग्ने ग्यास छ ।
त्यसैले कतार संसारका विभिन्न देशलाई ग्यास आपूर्ति गर्छ । इरानबाहेक खाडीका अन्य मुलुकमा पर्याप्त मात्रामा तेल छ तर ग्यास छैन । कतार यसको ठीक उल्टो छ किनकि उससँग तेलभन्दा बढी ग्यास छ । संसार अब जीवाष्म इन्धन (फसिल फ्युल) बाट नवीकरणीय ऊर्जातर्फ आकर्षित भइरहेको स्थितिमा कतारको ग्यास भण्डारले उसलाई थप बलियो बनाउने देखिन्छ ।
बाइडनले पनि कतारको ग्यासकै कारण उसलाई ‘मेजर नन नेटो अलाई’को दर्जा दिएका हुन् । यसको जरो अहिले युरोपमा चलिरहेको संकेटसँग जोडिन्छ । अमेरिकाको साझेदार युरोप ग्यासका लागि रुसप्रति चरम निर्भर छ । युरोपले उपभोग गर्ने एकतिहाइ ग्यास रुसबाटै आउँछ ।
तर युक्रेन संकटका कारण रुसबाट युरोपमा हुने ग्यासको आपूर्ति जोखिममा परेको युरोपेलीहरूको सोच छ । युक्रेनमाथि रुसले आक्रमण गरेमा रुसमाथि आर्थिक तथा अन्य प्रतिबन्ध लगाइने र बदलामा उसले ग्यास आपूर्ति बन्द गरिदिने आकलन युरोपको छ । अमेरिका पनि त्यससँग सहमत देखिन्छ ।
यस्तो अवस्थामा ग्यास आपूर्तिको विविधीकरणमा अमेरिका र युरोपले जोड दिएका छन् । त्यसो त युरोपले आफूसँग ग्यास किनोस् भन्ने अमेरिकाको चाहना हो तर महंगो पर्न जाने भएकाले युरोप त्यसमा इच्छुक छैन । त्यसैले अमेरिका कतारलाई गैरनेटो प्रमुख साझेदारको दर्जा दिएर युरोपमा ग्यास आपूर्ति गर्न उसलाई फकाइरहेको छ ।
कतारले युरोपलाई सहयोग गर्न आफू इच्छुक रहेको बताएको छ तर उसले सीमित मात्रामा मात्र सहयोग गर्न सक्छ । कतारका ऊर्जामन्त्री साद अल काबीले रुसबाट ग्यास आपूर्ति रोकिएमा आफू एक्लैले युरोपको माग पूरा गर्न नसक्ने बताएका छन् ।
त्यसो त कतारले पहिले नै एसियाका विभिन्न मुलुकहरूसँग ग्यास आपूर्तिको दीर्घकालीन सम्झौता गरिसकेको छ । त्यस सम्झौतालाई तोडेर ऊ युरोपमा चाहिएजति ग्यास दिन असमर्थ देखिन्छ ।
त्यससँगै कतारले युरोपेली संघ (ईयू) लाई ग्यास आपूर्तिका विषयमा एउटा शर्त तेर्स्याएको छ । कतारले बेचेको ग्यास ईयूमा मात्र उपयोग हुनुपर्ने, त्यसलाई ईयूले अन्यत्र बेच्न नपाउने कतारको भनाइ छ । आफ्नो ग्यास युरोपेलीहरूले नाफा खाएर नबेचून् भन्ने कतारको चिन्ता जायज छ ।
त्यसैले आपूर्ति सम्झौतामा ‘डेस्टिनेसन क्लज’ (गन्तव्यसम्बन्धी प्रावधान) राख्नुपर्ने कतारको भनाइ छ । तर ईयूले प्रतिस्पर्धा कानूनको हवाला दिँदै यसमा अनकनाइरहेको अवस्था छ ।
जे भए पनि युरोपको ऊर्जा मागलाई रुसबाट चुनौती तेर्सिएमा कतारको सहयोग अपरिहार्य छ । त्यसले पनि कतारको महत्त्वलाई थप उचाइ दिएको छ ।
आफूसँग भएको भूरणनीतिक महत्त्वको प्राकृतिक स्रोतका अलावा रणनीतिक अवस्थितिका कारण पनि कतार अमेरिकाका लागि अपरिहार्य बन्दै गएको छ । इरान, इराक र टर्की कतारबाट नजिकै पर्छन् अनि खाडीका महत्त्वपूर्ण राज्यहरूको स्थलसीमा कतारसँग जोडिन्छ ।
कतारमा रहेको अल–उदैद एयरबेस अमेरिकी सेनाको सेन्ट्रल कमान्डअन्तर्गत पर्छ । मध्यपूर्वमा सैन्य कारवाहीका लागि अमेरिकाको महत्त्वपूर्ण संरचनाका रूपमा उक्त एयरबेस रहेको छ ।
विशेषगरी अफगानिस्तानबाट सैनिकहरू फिर्ता लगेपछि अमेरिकाले आतंकवादीहरूको सूचना संकलन, खोजी र निगरानी (आईएसआर) कारवाहीका लागि कतारको एयरबेसलाई पहिलेभन्दा बढी उपयोग गर्न थालेको छ ।
कतारको महत्त्व बढ्नुमा उसको बुद्धिमत्तापूर्ण कूटनीतिक पहल पनि जिम्मेवार छ । नाकाबन्दी प्रकरणपछि कतारले खाडी मुलुकहरूसँगको सम्बन्ध सुमधुर बनाइसकेको छ भने इरान र टर्कीसँग पनि उसको राम्रो सम्बन्ध छ । इरानसँग राम्रो सम्बन्ध राख्दा पनि अमेरिकाले कतारलाई विश्वास गरेर साझेदारको दर्जा दिनु कतारको कूटनीतिक विजय हो ।
अनि अलजजीरा जस्तो सञ्चारमाध्यम तथा विभिन्न विदेशी परियोजनामा सुझबुझपूर्ण लगानी गरेर कतारले आफ्नो सफ्ट पावरको प्रदर्शन पनि गर्न सकेको छ । सफ्ट पावरका कारण नै खाडीमा पहिलोपटक विश्वकप फूटबल जस्तो भव्य आयोजनको अवसर कतारले पाउन लागेको छ । अर्को साल हुने उक्त आयोजनले कतारको छविलाई थप उकास्नेछ ।
अब अमेरिकाले कतारलाई दिएको साझेदारको दर्जाको चर्चा गरौं । यस्तो दर्जा पाउने मुलुक नेटो साझेदारको हैसियतमा चाहिँ पुग्दैन । अर्थात्, मानौं कतारमाथि आक्रमण भयो भने उसको रक्षाका लागि अमेरिका बाध्य हुँदैन । तर उसलाई हातहतियार तथा सैन्य तालिम दिन अमेरिकाले उच्च प्राथमिकता चाहिँ दिन्छ ।
यस दर्जामार्फत रुसका विरुद्ध कतारलाई हतियार बनाउने अमेरिकाको रणनीतिक योजना देखिन्छ । तर कतारलाई रुस र चीनबाट अलग्याउँला भनी अमेरिकाले सोचेको छ भने त्यो उसको भूल हो भन्ने विश्लेषकहरूको मत छ ।
कतारले रुससँग सुमधुर सम्बन्ध कायम गरेको छ । यसै वर्षको आरम्भतिर रुसमा आयोजित सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा कतार सक्रिय रूपमा सहभागी थियो र रुसले उसलाई निकै सम्मान पनि दिएको थियो ।
हालैका वर्षमा कतार र रुसको द्विपक्षीय सम्बन्धमा उल्लेख्य वृद्धि भएको देखिन्छ । रुसमा कतारले पूर्वाधार, ऊर्जा र बैंकिङको क्षेत्रमा १३ अर्ब डलर लगानी गरेको आँकडा पाइन्छ । दुई देशबीचको व्यापार पनि वर्र्षैपिच्छे बढ्दै गएको छ ।
त्यस्तै कतारलाई चीनसँगको सम्बन्धबाट छुटाउन पनि अमेरिकाले सक्ने देखिँदैन । अमेरिका नेतृत्वको पश्चिमले बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गरेको भए पनि कतारका शासक उद्घाटन समारोहमा भाग लिन त्यहाँ पुगिसकेका छन् । त्यसमाथि चीन कतारी ग्यासको ठूलो उपभोक्ता हो ।
अनि बदलिँदो विश्व राजनीतिमा कतार तथा खाडीका अन्य मुलुकहरूको परराष्ट्रनीति अमेरिकाप्रतिको निर्भरताबाट बिस्तारै चीनसँगको सम्बन्ध विस्तारतर्फ जान थालेको देखिन्छ ।
अमेरिकाले यसलाई रोक्ने कोशिश गरेको छ । केही महिनाअघि यूएईलाई ह्वावेको ५जी परित्याग गरेमा मात्र आफ्नो एफ–३५ लडाकू विमान दिने भनी अमेरिकाले शर्त तेर्स्याएको भए पनि यूएईले टेरपुच्छर लगाएन ।
यसरी खाडीमा बेइज्जती खेपेपछि तनावमा आएको अमेरिकाले कतारलाई साझेदार बनाएर आफ्नो प्रभाव कायम रहेको देखाउने प्रयास गरेको हुनसक्छ । तर खाडी मुलुकहरूलाई थाहा छ, अमेरिकाको ध्यान अब मध्यपूर्वबाट सरेर हिन्द–प्रशान्त क्षेत्रतर्फ केन्द्रित हुन थालेको छ । त्यसैले उसले जति कोशिश गरे पनि खाडी मुलुकहरूले उसलाई पहिलेको जस्तो पत्याउने अवस्था छैन ।
तैपनि अमेरिकाले कतारलाई दिएको ‘मेजर नन नेटो अलाई’को दर्जाले कतारलाई विश्वव्यापी रूपमा कूटनीतिक सम्मान दिनेछ । यो अनि हालै भएका घटनाक्रमले खाडीको क्षेत्रीय राजनीतिमा आमूल परिवर्तन ल्याएको देखिन्छ ।
खाडीमा यसअघि साउदी अरबको वर्चस्व रहने गरेकोमा अब ऊ दोस्रो दर्जाको खेलाडीमा घटुवा भएको देखिन्छ । जीवाष्म इन्धनको विकल्प संसारले क्रमशः खोज्दै जाँदा साउदीको तेलको माग भविष्यमा घट्नेछ ।
अनि कतारको जति मात्रामा ग्यास साउदीसँग छैन । त्यसमाथि साउदीका युवराज मोहम्मद बिन सलमानले यमनमा चलाएको युद्धका कारण पनि साउदीको छवि धमिलिएको छ । आफ्नो देशमा आलोचकहरूमाथि दमन गर्ने अनि टर्कीमा पत्रकार जमाल खाशोग्जीको हत्या गराउने बिन सलमानलाई विश्व समुदायले सकारात्मक रूपमा लिँदैन ।
खाडीमा अब (अमेरिका र इजरायलको समर्थनप्राप्त) यूएई अनि (अमेरिका र टर्कीको समर्थनप्राप्त) कतार नै सबभन्दा महत्त्वपूर्ण रणनीतिक खेलाडी बन्ने आकलन गर्न सकिन्छ । उनीहरूको उदयसँगै इरान पनि खाडीमा प्रभावशाली बन्ने देखिन्छ किनकि यूएई र कतार दुवैसँग उसको राम्रो सम्बन्ध छ ।
भौगोलिक रूपमा सानो मुलुक भए पनि कतारले आफ्नो भूरणनीतिक अवस्थिति तथा आफूसँग भएको प्राकृतिक स्रोतको सही परिचालन गर्न सकेकाले उसको शक्ति बढेको हो । बढेको यस शक्तिलाई कतारले आफ्नो कूटनीतिक छवि थप उकास्नका लागि प्रयास गर्ने विश्वास लिन सकिन्छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...