
भीमफेदी–कुलेखानी सुरुङमार्ग कुनै बेला निकै सर्वाधिक चासो र चर्चाको विषय थियो । सुरुङ बनाउन भन्दै निजी क्षेत्रबाट २० भदौ २०६८ मा नेपाल पूर्वाधार विकास कम्पनी स्थापना भएको थियो ।
कम्पनीले १ जेठ २०६९ मा सरकारसँग भीमफेदी–कुलेखानी सुरुङमार्ग निमार्ण प्रारम्भिक परियोजना सम्झौता पनि गर्यो ।
कात्तिक २०७० बाट काम शुरू गरेर मंसिर २०७४ मै सक्ने गरी सार्वजनिक–निजी–साझोदारी (पीपीपीई)को अवधारणामा उक्त कम्पनी शुरू भएको थियो ।
यो निजी क्षेत्रबाट तयार गरिएको नेपालको पहिलो सुरुङमा आधारित सडक आयोजना भएकाले पनि स्वदेशदेखि विदेशसम्मका नेपालीले चासो दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा’ कम्पनी खडा भएको थियो । यसको नारा नै ‘हामी सक्छौं’ भन्ने थियो ।
संघीय राजधानीका तारे होटलदेखि जिल्लाका सामान्य चियापससम्ममा सुरुङमार्गको चर्चा भयो । तर, करीब १ दशक नाघ्यो, न अहिलेसम्म कुनै काम भएको छ, न त जनतासँग उठाएको ३१ करोड रुपैयाँको सदुपयोग नै ।
गुमनाम कम्पनी
नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)ले सरकारसँग प्रारम्भिक परियोजना सम्झौता गरेपछि जनतासँग रकम संकलन गर्न थाल्यो ।
सुरुङमार्ग निर्माण गरेर ३० वर्ष सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने गरी यो योजना अगाडि आएको हो ।
शुरूआतमै कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी थिए । सुरुङमार्ग बनाउन थप १७ सय जना संस्थापक र साधारण शेयरधनी थप गरियो । सुरुङमार्ग बनाउने लागत ३५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । ५८ किलोमिटर लामो यो सुरुङमार्ग सञ्चालनमा आएपछि एक घण्टामा काठमाडौंबाट हेटौंडा पुग्न सकिने सपना बाँडेर कम्पनीले जनतासँग पैसा उठाएको थियो ।
सुरुङमार्गबाट द्रुतगतिमा सवारी साधन चल्ने हुनाले हेटौंडाबाट काठमाडौं पुग्न एकघण्टा समय लाग्ने कम्पनीका तत्कालीन अध्यक्ष कुशकुमार जोशीले बताउने गरेका थिए ।
उक्त कम्पनीले सुरुङमार्ग बनेपछि रातारात धनी बनाउने सपना बाँडेर जनताबाट पैसा उठाएको भीमफेदी गाउँपालिका वडा नम्बर ५ का स्थानीय एकुप्रसाद पुडासैनीले बताए ।

आफ्नो ठाउँमा बन्न लागेको ठूलो आयोजनाका लागि सहयोग गर्नुपर्छ भन्दै उनले जसतसो पैसा खोजेर प्रतिशेयर १०० रुपैयाँका दरले १० हजार रुपैयाँको शेयर खरिद गरेको बताए । तर, लामो समय भयो, न सुरुङमार्ग बन्यो, न त आफूले लगानी गरेको रकम नै फिर्ता पाए ।
अर्का स्थानीय सीताराम पुडासैनीका बाबुछोराले पनि १०–१० हजार रुपैयाँ बराबरको शेयर खरिद गरेका थिए । घर नजिक चिल्ला सडक र सुरुङमार्ग बन्ने सपना देखेर ऋण खोजी लगानी गरेका थिए । तर, अहिले त्यो लगानी बालुवामा पानी हालेजस्तै भएको सीतारामका छोरा राजन पुडासैनीले बताए ।
भीमफेदी वडा नम्बर ६ का सुरेन्द्रमान थिकेले पनि आफ्नो र परिवारका सदस्यको नाममा ५५ हजार रुपैयाँ बराबरको शेयर खरिद गरेका थिए ।
कम्पनीले अर्बौं रकमको आयोजना देखाएर जनताको करोडौँ रकम हिनामिना गरेको उनको गुनासो छ ।
‘अहिले कम्पनी सम्पर्कमा छैन, पैसा खोज्न कहाँ जानु ?’ उनले भने ।
घाटामा गएका कारण सुरुङमार्ग बन्न नसक्ने भनेर कम्पनी यो परियोजनाबाट बाहिरिएको स्थानीयले सुनेका छन्, तर कसरी घाटामा गयो भन्ने विषयमा कम्पनीले जानकारी समेत दिएको छैन ।
यस्तै भीमफेदी गाउँपालिका वडा नम्बर ६ का मंगल श्रेष्ठले पनि आफूहरूलाई ठूला सपना देखाउँदै लगानीका लागि उत्साहित बनाए पनि अहिले कम्पनीले निराश पारेको बताए ।
बैंकमा सुन धितो राखेर २० हजार रुपैयाँ लगानी गरेका श्रेष्ठले पछि त्यो सुन बैंकबाट निकाल्न धेरै कष्ट बेहोर्नुपरेको बताए । आफूहरूले सकीनसकी पैसाको जोहो गर्दै लगानी गरेको सुरुङमार्ग नबन्ने भएपछि आफ्नो दुःखको कमाइसहित ऋण पनि डुबेको श्रेष्ठको भनाइ छ । जनताको करीब ३१ करोड रुपैयाँ डुबाएर निजी निर्माण कम्पनी र सरकार दुवैले बेवास्ता गरेकोमा हेटौंडाका स्थानीय दुःखी छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का कृष्णप्रसाद थपलियाले पनि तत्कालीन समयमा कम्पनीका अध्यक्ष कुशकुमार जोशीले हेटौँडा आएर कार्यक्रम गर्दै स्थानीयले सहयोग गर्नुपर्यो भनेपछि ऋण खोजेर १ लाख लगानी गरेको सुनाए ।
८– १० वर्षमा लगानी रकमभन्दा बढी नाफा हुन्छ भनेर सपना बाँडिएपछि उनले लगानी गरेका थिए । अहिले नाफा त परको कुरा, लगानी नै डुबेको छ । उक्त कम्पनी जनतालाई झुक्याएर गुमनाम हुँदा पनि सरकारले चासो नदिएकोमा उनी दुःखी छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय राकेशकुमार शर्माले पनि सुरुङमार्ग निर्माणका लागि भन्दै आफ्नो ९ धुर जग्गा बेचेर २ लाख ५ हजार रुपैयाँ शेयरमा लगानी गरेको बताए ।
आफ्नो ठाउँमा बन्न लागेको सुरुङमार्ग त्यसमा पनि ठूलो योजना र कम्पनीले सपना देखाएपछि जग्गा बेचेरै लगानी गरेको उनी सुनाउँछन् ।
राज्यबाट सुरुङमार्ग बनाउन अनुमति लिएर जनतासँग पैसा उठाए पनि कामै नगरी कम्पनी भागेपछि उनी पीडामा छन् ।
मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण कटुवालले सुरुङमार्ग निर्माणले मकवानपुरसहित तराईको भूभागलाई दीर्घकालीन फाइदा पुग्ने भएपनि राज्यले सुरुङमार्ग निर्माणमा खासै चासो नदिएको बताए ।
उनले कम्पनीले आर्थिक स्रोत जुटाउन नसक्दा सुरुङ मार्गको काम अलपत्र परेको जानकारी आफूले पाएको बताए । आफ्नो पनि व्यक्तिगत ४ लाख रुपैयाँ लगानी परेको बताउँदै कटुवालले मकवानपुरका स्थानीय बासिन्दासहित विदेशमा रहेका कैयन नागरिकले लगानी गरेको बताए ।
आयोजनामा मकवानपुरसहित ललितपुर, चितवन, धादिङलगायत जिल्लाका स्थानीयवासीले खसी–बाख्रा, भैंसी बेचेर १० हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गरेका थिए ।
सुरुङमार्ग निमार्णका लागि व्यक्तिगत मात्र नभएर मकवानपुरबाट विभिन्न संघसंस्था लगायत सरकारी कार्यालयहरूले समेत लगानी गरेका थिए । तत्कालीन समयमा जिल्ला विकास समिति मकवानपुरले १० लाख रुपैयाँ लगानी गरेको हालका जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले बताए ।
यस्तै पुरानो नारायणी यातायात व्यवसायी संघले १० लाख रुपैयाँ लगानी गरेको संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईंले जानकारी दिए ।
यस परियोजनामा मकवानपुर उद्योग वाणिज्य संघले पनि १० लाख रुपैयाँ लगानी गरेको संघका कार्यकारी सचिव पवन कार्कीले बताए ।
तत्कालीन समयमा सुरुङमार्ग निर्माणका लागि भन्दै गाउँ विकास समितिहरूले समेत लगानी गरेको भन्ने गरिएता पनि सरकारी र अन्य संघ–सस्थाहरूले के–कति मात्रामा लगानी गरे भन्ने कुरा आजसम्म पनि कम्पनीले सार्वजनिक गरेको छैन ।
यसबारे आवाज उठाउँदै आएका हेटौंडाका सामाजिक अगुवा भीमसेन महतले हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग बनाउनुपर्छ भनेर आफूले विगत ३० वर्षदेखि आवाज उठाउँदै आए पनि त्यो सपना पूरा हुन नसकेको गुनासो गरे ।
यो परियोजनालाई निश्चित व्यक्तिको कमाउ धन्दा बनाइएको उनको गुनासो छ ।
कम्पनीले ५०० प्रतिशत नाफाको लोभ देखाएर पैसा उठाएको बताउँदै उनले भने– हामीले त्यति नै बेला त्यसको विरोध गर्यौं, भनिएजस्तो नाफा हुने स्थिति थिएन ।
कम्पनीले शुरूमा रसिद काटेर पैसा उठाए पनि सुरुङ नबन्ने भएपछि चलाखीपूर्ण ढंगले सबैलाई संस्थापक शेयर सदस्यको प्रमाणपत्र दिएको उनले जानकारी दिए ।
निजी कम्पनीको शेयर हुँदा यसमा मुद्दा नलाग्ने भएकाले पनि कम्पनीले निर्धक्कसँग जनताको पैसा पचाएको उनको आरोप छ ।
महतका अनुसार कम्पनीको हिसाब र खर्च पारदर्शी छैन, करोडौं अनियमितता भएको छ ।
नायिका निशा अधिकारीलाई सगरमाथा आरोहणलाई पैसा दिनेदेखि संस्थापक अध्यक्षको विदेश भ्रमणसम्ममा जनताको पैसा खर्च भएको उनको भनाइ छ ।
लगानी अभावले बनाउन सकिएन– संस्थापक सदस्य श्रेष्ठ
कम्पनीका संस्थापक सदस्य सिद्धिलाल श्रेष्ठले आफूहरूले सुरुङमार्ग निर्माण गर्न नसकेको स्विकार गरे ।
श्रेष्ठले भने, ‘काठमाडौं–हेटौंडा सुरुङमार्ग हामी सबैको परिकल्पना थियो । यो राज्यका लागि पनि ठूलो सपना थियो । काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउन सक्यौं भने समयको साथसाथै यातायातमा लाग्ने इन्धनबाट विदेशिने पैसाको बचत हुने हुँदा नमूनाको रूपमा राज्यभर सुरुङमार्ग बन्नुपर्छ भनेर यहाँ शुरू गरेका थियौं, तर लगानी जुटाउन सकिएन ।’
आफू ५ वर्षअघि सञ्चालक समितिमा छँदा लगानी जुटाउन नसकेपछि शुरूमा १० करोड लगानी र एक वर्षमा १० अर्ब जुटाउँछु भनेका भवन भट्टलाई ठाउँ छाडिदिएको उनको भनाइ ।
हालका अध्यक्ष भट्टले पनि वाचाअनुसार लगानी जुटाउन नसक्दा यो स्थिति आएको श्रेष्ठले बताए ।
आमजनताले लगानी गरेको पैसा फिर्ता गर्ने सवालमा भने कम्पनीले तत्काल साधारणसभा बोलाएर निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।
सुरुङ मार्ग निर्माणका लागि लगभग ३१ करोड रुपैयाँ संकलन गरेको भएपनि हाल कम्पनीमा ५/७ करोड मात्र बाँकी हुन सक्ने उनले बताए ।
कम्पनीको सञ्चालक समितिमा मकवानपुरका मात्रै ३ जना सदस्य थिए । श्रेष्ठ सहित मकवानपुरबाट नेकपा एमालेका नेता सुवासचन्द्र ठकुरी र नेपाली कांग्रेसका नेता जयराम लामिछाने सञ्चालक समितिमा थिए ।
यसबारे प्रतिक्रिया लिन खोज्दा अध्यक्ष भट्ट विदेशमा रहेकाले सम्भव भएन ।