काठमाडौं २१ असार– दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेस स्थानीय तहको चुनावमा आइपुग्दा दोस्रो स्थानमा खुम्चिएको छ । पहिलो संविधानसभा निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको कांग्रेस दोस्रो संविधानसभा चुनावमा भने आफ्नो पुरानो शाख फर्काउँदै पहिलो भएको थियो ।
पहिलो संविधानसभा निर्वाचनको समयमा गिरिजाप्रसाद कोइराला देशको प्रधामनन्त्री र कांग्रेसको सभापति थिए । कोइरालाले आफ्नै नेतृत्वमा चुनाव गराउँदा माओवादी पहिलो पार्टीको रुपमा उदायो, माओवादीले देशभरका धेरै निर्वाचन क्षेत्रमा आफ्नो झण्डा गाड्दा कांग्रेस–एमाले चुनावमा पछारिए ।
दोस्रो संविधानसभाको समयमा सुशील कोइराला कांग्रेसको सभापति थिए । कांग्रेसलाई सबभन्दा ठूलो दल बनाएको भनेर कोइरालाको चर्चा चुलियो ।
दोस्रो संविधानसभा निर्वाचनमा पहिलो दल बनेको कांग्रेस चार वर्षपछि भएको निर्वाचन (स्थानीय चुनाव)मा आइपुग्दा दोस्रो स्थानमा झरेपछि कांग्रेस ओरालो यात्रामा लागेको टिप्पणी शुरु हुन थालेको छ । स्थानीय तहको पहिलो चरणको चुनावमा एमाले पहिलो दल बनेपछि झस्किएको कांग्रेसले दोस्रो चरणमा धेरै स्थानमा तालमेल गरेर पहिलो पार्टी बन्ने रणनीति बनाएको थियो । तर दोस्रो चरणको चुनावमा पनि कांग्रेस दोस्रो स्थानमा खस्कियो ।
यसपटकको निर्वाचनमा कांग्रेसका बलिया गढ मानिएका काभ्रेको बनेपा नगरपालिका, नवलपरासीको गैडाकोट नगरपालिका, गुल्मीको रेसुङ्गा नगरपालिका र कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका कांग्रेसको हातबाट फुत्किए । कांग्रेसका आलोचकहरु हरियालीको समय ‘असारमै रुख ओइलायो’ भन्ने टिप्पणी गर्न थालेका छन् । स्थानीय चुनावमा कांग्रेसको पराजयका लागि धेरै कारण मानिएका छन् ।
आन्तरिक गुटबन्दी/अन्तरघातआन्तरिक गुटबन्दी कांग्रेसको पर्याय बनेको छ । स्थानीय तहको चुनावका लागि टिकट वितरण गुटवन्दी र अपारदर्शी भएको भन्दै धेरै स्थानमा कांग्रेसका स्वतन्त्र उम्मेदवारी परेका थिए । सर्वसम्मतीले उम्मेदवार छान्न नसक्दा मनोनयन गर्ने दिनमात्र कांग्रेसले कतिपय स्थानका उम्मेदवारको टुंगो लगाएको थियो ।
नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलले मनोनय दर्ताभन्दा अघिनै उम्मेदवारको टुंगा लगाउँदै जनताको घर दैलोमा पुग्दा नेपाली कांग्रेसले धेरै स्थानीय तह टुंगो लगाउन सकेन । आकांक्षी धेरै भएका स्थानीय तहमा केन्द्रिय नेता पिच्छेले उम्मेदवार बोकेर हिड्दा उम्मेदवार चयनमा ढिला हुन पुग्यो । जसका कारण ढिलागरि उम्मेदवार बनेकाहरु मतदाताको घर आगनमा त के गाउँ टोलसम्म पनि पुग्न भ्याएनन् । जसका कारण मतदाताको मानसिकतामा चुनावमा भोट माग्न नआउने उम्मेदवारको छाप पर्न गयो ।
उम्मेदवार मनोनयनमा भएको अपारदर्शिाका कारण यसपटकको चुनावमा पनि कांग्रेसभित्र अन्तरघातको शिकार बन्न पुग्यो । बागी उम्मेदवारको सदस्यता खारेज गर्ने चेतावनीसहित ‘मुखलाई होइन रुखलाई हेरौं’ भन्ने नारा बनाएपनि त्यसले खासै काम गरेन ।
कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा आन्तरिक गुटबन्दी सबै पार्टीमा रहेको भएपनि चुनावमा कतिपय व्यबस्थापकीय कमजोरी भएको बताउँछन् । सही उम्मेदवार छनौट गर्न नसक्नु पनि कांग्रेसको पराजयको एउटा कारण हुनसक्छ । चुनावको पूर्वसन्ध्यामा देउवाकै गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिका पार्टी सभापति एमाले प्रवेश गरे ।
आकर्षक नाराको अभाव नेकपा एमालेले राष्ट्रियताको मुद्दा लगायत जनताका दैनिज जीवनसंग गासिएका एजेण्डा, बृद्धभत्ता बृद्धि लगायत आकर्षक नारा लिएर चुनावमा गएको थियो । कांग्रेसले एमालेलाई टक्कर दिने कार्यक्रम ल्याउनुको सट्टा पूरानै अमूर्त नारा लिएर चुनाव प्रचार प्रसारमा गएको थियो ।
यसपटकको चुनावमा कांग्रेसले जनताको मनजित्ने लोकप्रिय नारा दिन सकेन । कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा एमालेको आक्रामक मुद्दाहरुलाई पर्याप्त डिफेन्स गर्न नसक्नु पनि कांग्रेसको कमजोरी रहेको बताउँछन् । ‘एमालेका आक्रामक मुद्दालाई शालिन आक्रमकता साथ चिरेर अगाडि बढ्न नसक्नु हाम्रो कमजोरी रह्यो’ शर्माले भने ।
भद्रगोल संगठन देशकै सबभन्दा पुरानो पार्टी भएपनि कांग्रेसको संगठन कमजोर बनेको टिप्पणी कांग्रेस भित्रै हुने गरेको छ । नेता कार्यकर्ता शहरमुखी हुँदा स्थानीय तहमा कांग्रेसको संगठन अस्तव्यस्त र भद्रगोल बन्दै गएको छ ।
‘मास वेस पार्टीको ट्याग ‘संगठन त कम्युनिष्टले पो बनाउने’ जस्ता अमूर्त कुराको पछाडि लाग्ने कांग्रेस नेताहरुले संगठन बनाउने तर्फ खास ध्यान दिएनन् । सक्रिय कार्यकर्ता बनाउन नसक्दा त्यसले हानी पुगेको कांग्रेसीहरु स्विकार गर्छन् । बलियो मानिएको काठमाडौं महानगरपालिका पहिलो चरणको निर्वाचनमा पराजित हुन पुग्यो । जहाँ जितिहालिन्छ नी भन्ने गणितले कांग्रेसलाई धोका दियो ।
बीपी कोइरालाको फोटो देखाएर ‘त्यो दारी बुढो को हो ?’ भन्ने कांग्रेसका नबआगन्तुक कार्यकर्ताका कारण निष्ठाबान कार्यकर्ता राजनीतिबाट अलग हुँदै गएका टिप्पणी कांग्रेसमा सुनिन्छ । कार्यकर्ताहरुको व्यबस्थापन गर्न नसक्दा इमान्दार कार्यकर्ताको पलायन र उनीहरु गाउँमा सक्रिय नहुँदा कांग्रेसले पराजय व्यहोरेको विश्लेषण तल्लो तहमा हुन थालेको छ । राजनीतिमा पैसाको बोलवाला बढ्दै जादा कांग्रेसका इमान्दार कार्यकर्ता पलायन हुने समस्या कांग्रेसमा रोगको रुपमा झांगिदै छ ।
संविधान जारी गरेको जसनेपालको संविधान नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष सुशील कोइराला प्रधानमन्त्री भएको समयमा जारी भएको थियो । जसलाई कांग्रेसले आफू नेतृत्वको सरकारले संविधान जारी गरेको भन्दै घोषणा पत्रमा लेखेपनि त्यसको प्रचार र मतदातामाझ लान सकेन ।
पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड सरकारमा रहेका कांग्रेसका केही मन्त्रीले उल्लेखनीय काम गरेपनि त्यसको जस लिन नजानेको भनेर कांग्रेसका कार्यकर्ताहरुले गुनासो गरेका छन् ।
‘हाइटेक’ प्रचार शैलीको कमीमुख्य प्रतिष्पर्धी नेकपा एमालेले चुनावमा मात्र नभई अन्यसमयमा पनि कुशलता पूर्वक‘मिडिया मेनेज’ गर्ने गरेको छ । उसले यो कामलाई चुनवामा पनि जारी राख्यो । सामाजिक सञ्जालको व्यापकता र भिडियोसहितको मन छु्ने खालमा प्रचार समाग्रीहरुको प्रयोग गर्यो तर नेपाली कांग्रेसले यस्ता सामाग्री र प्रचर शैलीलाई ‘वाइयात’ सम्झन गयो ।
नेकपा एमालेका नेताहरुले एकै दिनमा पाँचवटा ठूला सभालाई सम्वोधन गरेपनि कांग्रेसका नेताहरु आफ्नो चुनावी क्षेत्रलाई बलियो बनाउन मात्र सीमित रहे । ‘चुनावका लागि म्यानेजमेण्ट र मुभमेण्ट दुईवटा कुरा हुन्छन, यी दुईवटा कुरामा हाम्रो कमजोरी रह्यो’ शर्माले लोकान्तरसंग भने ।
तालमेलमा अविश्वासस्थानीय निर्वाचनमा कांग्रेसले मुख्यतः माओवादी केन्द्रसँग देशका विभिन्न भागमा चुनावी तालमेल गरेको थियो । पहिलो चरणमा पार्टी नेतृत्वले माओवादीसँग तालमेल गरेपनि त्यसप्रति कांग्रेसमा दुईधार देखियो । नेतृत्वले गरेको तालमेलालाई अर्को पक्षले जालझेल गर्यो, तालमेल गरेको ठाउँमा कांग्रेसका उम्मेदवारले धेरै मत ल्याउँदा माओवादीका उम्मेदवारले कम मात्र भोट पाए । दोस्रो चरणमा माओवादीले पनि कतिपय स्थानमा कांग्रेसलाई भोट नहालेको टिप्पणी सुनियो ।
नीति र सिद्धान्तको खडेरी ?मुलुकमा भएका ठूला राजनीतिक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारालाई कांग्रेसले आदर्श मान्दै आएको छ । सोही सिद्धान्तमाथि बीपीले गरेको व्याख्याको व्याज कांग्रेसले लिइरहेको छ । स्थानीय चुनावमा पराजयका लागि कांग्रेसले पछिल्लो समयमा लिएका कतिपय नीति जिम्मेवार रहेको कांग्रेसकै नेताहरु बताउँछन् । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेतृत्वको कमजोरीका कारण कांग्रेस जराजय भएको निश्कर्ष निकालेको थियो ।
२०४६ सालको जनआन्दोलनपछि लामो समयसम्म सत्ताको नेतृत्व गरेको कांग्रेसले लिएको आर्थिक नीतिका कारण देशमा गरिवी बेरोजगारी लगायतका समस्या निम्तिए । पटक पटक सरकारमा गएपनि जनताका भावना अनुरुप काम गर्न नसकेपछि कांग्रेसप्रतिको मोह भंग हुदै गएको प्रमाणको रुपमा समेत टिप्पणी गरिएको छ ।
कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा भने कांग्रेसमा सिद्धान्तको खडेरी लागेको भन्ने कुरा स्वीकार्न तयार छैनन् । ‘सिद्धान्तको खडेरी लागेको भन्ने कुरा विल्कुलै होइन, बहुदलीय प्रतिष्पर्धाको नीति कांग्रेसकै हो’ उनले लोकान्तरसंग भने, ‘स्थानीय तहमा अधिकार प्रत्यायोजन गर्ने (स्वायत्त शासन) कांग्रेसकै नीतिको कुरा हो, कम्युनिष्ट दर्शन भएको मुलुकमा स्थानीय तहलाइै यति अधिकार दिइएको छैन ।’
कांग्रेस कमजोर भएकै हो ?एउटा चुनावमा जित्ने वित्तिकै हौसिने र अर्को निर्वाचनमा पराजय व्यहोर्ने कांग्रेसको पचिहान बनेको छ । २०४८ सालको चुनावमा भारी बहुमत पाएको कांग्रेस २०५१ सालको मध्यावधी निर्वाचनमा दोस्रो स्थानमा पुग्यो । २०५६ सालमा पहिलो दल बनेको कांग्रेस २०६४ को संविधानसभा चुनावमा दोस्रो बन्न पुग्यो । २०७० को संविधानसभा चुनावमा पहिलो दलबनेको कांग्रेस स्थानीय चुनावमा दोस्रो दल बन्यो ।
‘चुनावमा व्यहोरेको पराजयबारे गरिहरो समिक्षा गर्छांै र तेस्रो चरणको चुनावमा जान्छाैं’ कांग्रेस नेता शर्मा भन्छन्, ‘अहिलेको पाठले अबको निर्वाचनका सन्दर्भमा कांग्रेसको मार्ग प्रसस्त गरेको ठान्छु ।’ स्थानीय चुनावमा सोचे अनुसारको नजिता नआएपनि कांग्रेस अवको चुनावमा पहिलो दल बन्ने शर्माका दावी छ ।
‘२०५४ सालको स्थानीय चुनावमा एमालेको ‘दिग्वीयज’ पछि एमाले टुक्रियो, अहिले एमालेको जित त्यस्तो पनि होइन’ नेता शर्मा भन्छन, ‘कांग्रेस पनि त्यसरी पराजीत भएको छैन कि सम्हालिन नसकोस् ।’
Advertisment
Advertisment