१० साउन २०८३, आइतबार

आत्मसम्मानको भोकले व्यावसायिक यात्रामा प्रतीक

फागुन ३०, २०७८
आत्मसम्मानको भोकले व्यावसायिक यात्रामा प्रतीक

३२ वर्षीय प्रतीक कार्की पेशाले शिक्षक हुन् । 

काठमाडौं इन्टरनेसनल स्कूलमा अध्यापन गर्ने कार्कीको परिचय केवल शिक्षकमा मात्र सीमित छैन । उनी समाजसेवी तथा उद्यमी पनि हुन् ।

प्रतीक शिक्षण पेशामा जति छन्, त्यो भन्दा बढी व्यवसाय र समाजसेवामा लागेको देख्न सकिन्छ ।

करीब ४ वर्ष मात्रै भयो उनले व्यवसाय थालेको ।

त्यसअघिका दिनमा उनी शिक्षक र समाजसेवी मात्रै थिए । आफ्नो नयाँ रहरलाई सार्थकता दिन उनी व्यावसायिक क्षेत्रमा प्रवेश गरे । 

एउटा शिक्षकले विद्यार्थीहरूलाई सपना देखाउने गर्छ, असल हुनू, राम्रो हुनू, देशको विकास गर्न लागि पर्नू । तर, साँच्चै यो शिक्षाले मुलुकलाई सही दिशामा लैजानका लागि भूमिका खेल्छ ? उनको मनमा निरन्तर यही प्रश्न उब्जिरहन्थ्यो ।

एक दिन उनलाई विद्यार्थीले भनेका थिए, ‘मलाई प्रधानमन्त्रीसँग भेट्न मन छ ।’

विद्यार्थीको त्यो भनाइ जिद्दीमा परिणत हुँदै गयो । तर त्यसको समाधान उनीसँग तत्काल थिएन । 

विद्यार्थीलाई उनले भनेका थिए, ‘केही राम्रो काम गरियो भने अवश्य भेट्न सक्छौँ, तर केही समय पर्खनुपर्छ ।’

विगतका दिन सम्झँदै कार्की भन्छन्, ‘मनमा केही न केही गरौँ भन्ने जोश त्यहीँबाट पनि आयो । त्यसपछि लामो रिसर्च गरेर मैले व्यावसायिक क्षेत्रमा हात हालेँ ।’

मुलुकलाई आत्मनिर्भर बनाउनु नै समृद्धि हासिल गर्ने उपाय हो भन्ने निष्कर्षमा उनी पुगे ।

त्यसपछि गाँस र बासको क्षेत्रमा पनि उनले विभिन्न काम गरे । साथमा अगाडि बढाए कपास अर्थात् लत्ताकपडाको काम । 

यहीँबाट शुरू भएको हो उद्यमी ग्रुप पब्लिक लिमिटेडको यात्रा ।

उनकै नेतृत्वमा ग्रुपको स्थापना भयो । ग्रुपले अल्लो तथा भाङ्ग्रोको कच्चा पदार्थ संकलन गर्दै धागो, कपडा लगायतका विभिन्न वस्तुहरू उत्पादन तथा निर्यातको काम गरिरहेको छ ।

कार्कीले ग्रुपमा काम गर्नुअघि विभिन्न हस्तकला उद्योगहरूमा पनि केही अनुभव संगालेका थिए । केही साथीहरू बटुलेका थिए । 

त्यही अनुभवलाई अवसरको रूपमा लिनका लागि उनले पाइला अगाडि बढाए । 

‘त्यतिबेला यस्तो क्षेत्रमा धेरैजसो साना उद्योगमात्र थियो, शायद लगानी तथा प्रविधिको कमी भएर होला,’ उनले सुनाए । 

उनले प्रयोगमा नल्याइएका विभिन्न वस्तुहरू देखे । 

त्यतिबेला अल्लो तथा भाङ्ग्रो प्रशस्तै भएपनि त्यसको प्रयोग निकै कम भएको थियो । 

त्यसपछि कार्कीले त्यसलाई नै अवसरको रूपमा देखे । 

उनी सम्झन्छन्, ‘पहिले पनि ह्याडिक्राफ्टमा काम गरेको हुनाले त्यसैलाई अगाडि बढाउने सोच बनाएँ ।’

यस ग्रुपमा उनले किसानदेखि उद्यमीसम्म समेटेका छन् । 

सोही ग्रुपबाट नेपालमै पहिलोपटक अल्लो र भाङ्ग्रोको व्यावसायिक धागो उत्पादन भएको उनको दाबी छ । 

करीब एक वर्ष अगाडि (२०७७ को शुरूआतमा)मा ग्रुपले अल्लो तथा भाङ्ग्रोबाट व्यवसायिक धागो उत्पादन तथा बिक्री थालेको हो  । 

नेपाली बजारका लागि यो नयाँ उत्पादन थियो । 

यसको बजार विस्तारका लागि त्यति सहज थिएन । धेरै संघर्ष गर्नुपरेको उनी सम्झन्छन् ।

नेपालमा अल्लो र भाङ्ग्रोको उत्पादनले बजार पाउन निकै गाह्रो थियो । तर विदेशमा भने यसले छिट्टै बजार पाएको कार्की बताउँछन् । 

कार्कीकै एक टीमले भाङ्ग्रो तथा अल्लोबाट सामान बनाउनका लागि ‘सिस्टम’ निर्माण गरेको थियो ।

ग्रुपले अहिले धागो, कार्पेट, मोजा, जिन्स पाइन्ट लगायतका उत्पादनहरू गरिरहेको छ ।

केही समयमै उत्पादन हुने गरी अहिले २ लाख किलो कच्चा पदार्थ संकलन गरिरहेको कार्की बताउँछन् । 

उनका अनुसार अहिले किसानबाट कच्चा पदार्थ संकलन गर्ने काम भइरहेको छ ।

केही समयमा यसबाट विभिन्न सामानहरू उत्पादन हुने र बिक्रीका लागि तयारी हुने प्रतीक बताउँछन्  ।

ग्रुपले अल्लो र भाङ्ग्रोको प्रयोगबाट हालसम्म १९ प्रकारका कपडाहरू बनाएको छ । 

उत्पादित कपडाहरूमा जिन्स, कोट, टिसर्ट, पाइन्ट, सर्ट लगायत छन् ।

यसबाहेक धागो तथा अन्य उत्पादनहरू पनि सोही कच्चा पदार्थबाट निर्माण हुँदै आएको छ ।

धागो, मोजा, मास्कलगायत अन्य विभिन्न १२ उत्पादन ग्रुपले गरिरहेको कार्की बताउँछन् ।  

किसान र ठूला उद्यमीका पुल ‘प्रतीक’

अल्लो र भाङ्ग्रोको व्यावसायिक उत्पादनलाई अगाडि बढाउँदै आएका प्रतीक अहिले किसान र ठूला व्यवसायिक घरानालाई जोड्ने पुल बनिरहेका छन् ।

उनको नेतृत्वमा रहेको उद्यमी ग्रुप पब्लिक लिमिटेडले अहिले पुलको काम गरिरहेको कार्की बताउँछन् । 

ग्रुपले किसानहरूलाई अल्लो र भाङ्ग्रोको उत्पादन तथा कच्चा पदार्थ निर्माणमा प्रेरित र अग्रसर गराउन विभिन्न काम गर्छ । 

त्यसपछि ठूला उद्योगहरूसँग मिलेर उत्पादनमा वृद्धि गर्ने/गराउने काम ग्रुपको हो । 

धागो गोल्यान ग्रुपको स्पाइनिङ मिलबाट उत्पादन गर्दै आइरहेको उनी बताउँछन् । यसबाहेक अन्य उद्योगहरूसँग पनि ग्रुपको सहकार्य रहेको छ । 

उनी भन्छन्, ‘हामीले उनीहरूलाई कच्चा पदार्थ दिने, उनीहरूले बनाउने र हामीले फेरि बजार विस्तार गर्ने काम गर्छौँ ।’

बजार विस्तारमा आक्रामक

गत वर्षबाट मात्रै उत्पादन थालेको अल्लो तथा भाङ्ग्रोका सामग्रीहरूले आक्रामक रूपमा बजार पाउन थालेका छन् । 

हालसम्म यी उत्पादनहरू युरोप, अमेरिका, अस्ट्रेलियासहित विभिन्न १९ मुलुकमा निर्यात हुँदै आएको छ । 

यसबाहेक अन्य मुलुकमा पनि विभिन्न प्रकारका सामानहरूको बजार विस्तार गर्ने तयारी भइरहेको उनी सुनाउँछन् । 

कार्कीले साथीहरूसँग मिलेर विभिन्न उद्योग खोल्ने योजना बनाइरहेका छन् । 

जसमध्ये एक प्रमुख उद्योग हो, भाङ्ग्रोको प्लाष्टिक उद्योग । 

यो पनि नेपालको लागि नयाँ उत्पादन हुने उनी बताउँछन् । 

विभिन्न क्षेत्रमा उद्योग स्थापना र सञ्चालन गरी २ लाख ८८ हजार जनालाई रोजगारी दिने महत्त्वाकांक्षी योजना समेत उनीसँग छ । 

उनी भन्छन्, ‘केही कठीन पक्कै छ, सरकारसँग पनि हाम्रो योजना सुनाइरहेका छौँ, तर केही समयमा सफल भएरै छाड्छौँ ।’

आत्मसम्मानको भोकले जिरोबाटै शुरू भएको यात्रा

पछिल्लो समय युवा उद्यमशीलताको चर्चा खुबै हुने गरेको छ । नयाँ उद्यमीहरूलाई सरकारले समेत प्रोत्साहन दिने नीति लिएको छ । यसै बखत कार्कीलाई पनि अचम्मको ‘आत्मसम्मानको भोक’ लाग्न थाल्यो । 

प्रतीकका बुवा स्कूल सञ्चालन गर्दथे । व्यावसायिकतामा परिवारका कुनै पनि सदस्यको ध्यान थिएन ।

तर, प्रतीकमा भने लगानी तथा व्यवसाय गर्ने सोच आयो ।

उनले लगानीका लागि परिवारसँग कुनै सहयोग मागेनन् । बरु काम शुरू गरेको डेढ वर्षसम्म बेतलबी नै बसे ।

‘मैले परिवारसँग लगानी लिइनँ । डेढ वर्ष जिरोबाटै काम गरें । मलाई सबैभन्दा प्यारो आत्मसम्मान थियो । उहाँहरूसँगै काम गरिरहँदा आत्मसम्मान नरहला भन्ने लाग्थ्यो,’ उनले भने ।

उनले शुरूमा अल्लो तथा भाङ्ग्रोको व्यावसायिक उत्पादनका लागि काम नजानेर निकै समस्या भोगे । त्यतिबेला आफूमा ‘फ्रस्टेसन’ बढेको महशुस गरेको उनी बताउँछन् ।

‘कुनै समय त म नै नराम्रो हो कि क्याहो भन्ने लाग्यो । पछि विस्तारै सिक्दै गएँ । सहज हुँदै गयो ।’

आफूले व्यावसायिक दिनका शुरूआतमा निकै चुनौति झेल्नुपरेको उनी सम्झन्छन् ।

उनले ८/१० हजार रुपैयाँबाट आफ्नो व्यावसायिक जीवनको शुरूआत गरेका थिए । तर अहिले त्यो लगानी करीब एक करोड रुपैयाँमा पुग्दैछ ।  

अहिले बजार विस्तार गर्दै जाने र सो पूँजी पनि वृद्धि गर्दै लैजाने सोचमा छन् उनी ।

यसबाहेक कृषि क्षेत्रमा सामूहिक कृषि कम्पनीसमेत उनले सञ्चालन गर्दै आइरहेका छन् ।

काठमाडौंको बूढानीलकण्ठमा कागज बनाउने उद्योग सञ्चालन गरिरहेका छन् ।  यस्तै उनीसँग अहिले अक्षरा ब्राण्ड छ । 

यसमार्फत उनले करीब ४५ वटा कस्मेटिक उत्पादन गरिरहेका छन् । 

उनी भन्छन्, ‘मैले विभिन्न क्षेत्रमा काम गरिरहेको छु, यसको एउटै लक्ष्य नेपाललाई कसरी चिनाउने र समृद्ध बनाउने भन्ने हो ।’ 

उनी अहिले नेपाल चिनाउने विभिन्न अभियानमा समेत संलग्न हुँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्