
चैते दशैंको अवसर पारेर बुधवारदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला शुरू भएको छ ।
एक कार्यक्रमका बीच बुधवार बिहान भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मेलाको शुरूवात गरिएको हो ।
सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरू खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको हो ।
इभेन्ट सोलुसन प्रालिले आयोजना गरेको मेलामा ५० भन्दा बढी स्टलमा दैनिक उपभोग्य सामग्रीका साथै वस्तु तथा सेवा उपलब्ध हुने इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।
‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा चैते दशैँका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरूको कारोबार हुने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरूको सहभागिता छ ।
विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरू, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरू रहेका छन् ।
चैत २७ गते चैते दशैंका दिनसम्म सञ्चालन हुने मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरू सामान किन्न आउने र बिक्रेताहरूको पनि राम्रो जमघट हुने विश्वास इभेन्ट सोलुसनले लिएको छ ।
‘सपिंग गर्न उपभोक्ताहरू बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं,’ इभेन्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए ।