०३ साउन २०८३, आइतबार
स्थानीय चुनाव

पोखरामा गठबन्धनसँग भिडेर विरासत जोगाउन बलियो उम्मेदवार खोज्दै एमाले

चैत २८, २०७८
पोखरामा गठबन्धनसँग भिडेर विरासत जोगाउन बलियो उम्मेदवार खोज्दै एमाले

भौगोलिक हिसाबले देशकै ठूलो महानगरपालिका पोखराको मेयर पदका लागि एमालेले सत्ता गठबन्धनलाई चुनौती दिने गरी उम्मेदवार खोजी गरिरहेको छ । 

एमालेविरुद्ध गठबन्धनले चुनावी तालमेल गर्ने तयारी गरेपछि एमालेमा बलियो उम्मेदवारको खोजी भएको हो ।

एमाले कास्कीका इञ्चार्ज भीम कार्कीले गठबन्धनसँग भिड्न आफूहरू तयार रहेको र सोहीअनुसार उम्मेदवार छनोट गरिने बताए ।

‘पाँचवटा दलको गठबन्धनसँग भिड्ने साहस धेरैले देखाउनुभएको छ, तर पोखराका जनताको चाहना र सर्वोपरि हितलाई ध्यानमा राख्दै उमेदवार सिफारिश गरिने छ,’ कार्कीले लोकान्तरसँग भने ।  

कास्कीका पालिका प्रमुखका लागि एमालेले चैत २९ गते उमेदवार सिफारिश गर्नेछ । सिफारिशको मिति नजिकिँदै जाँदा टिकट पाउनका लागि आकांक्षीहरूको दौडधूप र जिल्लास्तरीय बैठक पनि तीव्र बनेका छन् ।

आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट पोखराको मेयरको उम्मेदवार बन्ने चर्चामा सबैभन्दा अगाडि प्रदेश सांसद राजीव पहारी र पोखराका पूर्व मेयर तथा एमाले कास्कीका पूर्वअध्यक्ष कृष्ण थापा छन् । 

मितिअगावै घोषणा गर्न नमिले पनि अघिल्ला चुनावदेखि नै चुनावी प्रतिस्पर्धा गरिरहेका र पोखरेली जनताको निकटता, ख्याति, सामाजिक पृष्ठभूमि सबैका हिसाबले पोखराको मेयरका लागि उनीहरूको नाम अग्रपंक्तिमा रहेको नेकपा एमाले जिल्ला कमिटीका एक नेताले बताए । 

अघिल्लो २०७४ सालको स्थानीय चुनावमा पोखरा महानगरपालिकामा मेयर पदका लागि भएको प्रतिस्पर्धामा एमालेले १३ हजार मतान्तरले जीत हात पारेको थियो । 

अहिले कतिपयले भने बहालवाला पदाधिकारीलाई दोहोर्‍याएर शुरू भएका कामलाई निरन्तरता दिनुपर्ने बताउने गरेका छन् ।

बहालवाला उपमेयर मञ्जु देवी गुरुङको नाम पनि भावी मेयरको उम्मेदवारका रूपमा चर्चामा छ । जनप्रतिनिधिका रूपमा पाँच वर्षसम्म काम गरिसकेकाले यहाँका विकासका समस्या लगभग पहिचान भइसकेको र अबका दिनमा कार्यसम्पादन अझै द्रुतस्तरमा अगाडि बढाउन आफूलाई निकै सजिलो हुने गुरुङको तर्क छ ।

त्यस्तै, करीब चार दशक अघिदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता रहेका नेता एवं कास्की जिल्ला इञ्चार्ज भीम कार्कीको नाम पनि कतिपयले भावी मेयरको उम्मेदवारका रूपमा लिने गरेका छन् । पार्टीका पुराना नेता भए पनि उल्लेख्य अवसर नपाएकाले यसपालि उनलाई मौका दिनुपर्ने कार्यकर्ताहरूको तर्क छ ।

त्यसैगरी इञ्जिनीयर तथा पोखराको लेकसाइडका रैथाने भरत पहारीको चर्चा पनि उत्तिकै छ । पहारीले पोखरा महानगरपालिका लगायतका विभिन्न स्थानीय तहले गठन गरेका कार्यदलमा बसेर स्थानीय विकाससम्बन्धी काम गरिसकेका छन् ।

एमालेकै युवा वर्गका माझ भने अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यको नाम पनि चर्चामा छ । दिगो विकास विषयमा पोखरा विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका आचार्यले गण्डकी प्रदेश क्षेत्रको सबैभन्दा ठूलो तथा पुरानो क्याम्पस पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएर काम गरिसकेका छन् ।

यसपटकको स्थानीय तह चुनावमा मेयरका लागि व्यावसायिक र बौद्धिक क्षेत्रमा स्थापित नयाँ अनुहारको चर्चा उत्तिकै छ । करीब डेढ दशक बेल्जियम बसेर उत्कृष्ट व्यावसायिक ज्ञान हासिल गरेका भनेर चिनिने पोखराका स्थानीय पुष्पराज अधिकारीको नाम पनि जनस्तरमा चर्चामा आएको छ । 

अधिकारीले होटल व्यवसायमार्फत छोटो समयमै पोखरालाई बेस बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका छन् । रूपाकोट रिसोर्टका सञ्चालक अधिकारीले पर्यटन विकासमार्फत पोखराको द्रुततर विकासको भिजन प्रस्तुत गरेका छन् । 

त्यस्तै लामो समय प्राध्यापन र सामाजिक काममा बिताएका प्राध्यापक डा. विश्वकल्याण पराजुली, सामाजिक व्यक्तित्व पुष्पज्योति ढुंगाना, पोखरा वडा नं १३ का वडाध्यक्ष तथा जुझारु युवा नेता दर्शन लामा लगायतलाई पनि कतिपयले सम्भावित उम्मेदवारका रूपमा हेर्ने गरेका छन् ।

एमालेको राजनीतिमा लामो समय बिताएकी समाजिक तथा बौद्धिक ब्याक्तित्व मीना गुरुङको नाम पनि पोखराको मेयरका लागि चर्चामा छ ।

गुरुङ २०४२ सालमा पृथ्वीनारायण क्यम्पसमा स्वविय सदस्य समेत रहिसकेकी छन् ।

कार्यकर्ता स्तरबाट आएका नामहरूमा छलफल चलिरहेको र २९ गते कम्तीमा एक महिलासहित ३ जनाको नाम सिफारिश गरिने एमाले कास्कीका एक नेताले बताए ।

एमाले उम्मेदवार चयन प्रक्रियामा प्रवेश गरिसक्दा सत्ता गठबन्धनमा भने को उम्मेदवार बन्ने भन्ने टुंगो लाग्न सकेको छैन । गठबन्धनको निर्णय आएपछि मात्र आफूहरूले उम्मेदवार छान्ने कांग्रेसका एक जिल्ला नेताले बताए ।

महानगरको विषयमा केन्द्रबाटै निर्णय लिने सत्ता गठबन्धनको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्