
सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समितिले ४४ अर्ब अमेरिकी डलरमा कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए ।
सन् २००६ को मार्चमा यसको स्थापनापछि ट्विटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ताहरू जम्मा गरेको छ । तीमध्ये ८० प्रतिशत भन्दा बढी संयुक्त राज्य अमेरिका बाहिरका छन् ।
ट्विटरले २०१७ को अन्त्यसम्म नाफा लिन सकेन । यद्यपि ट्विटरले गत वर्ष २२ करोड १० लाख अमेरिकी डलर बराबरको रकम घाटा भएको बताएको थियो ।
हालको अवस्थामा ट्विटरमा 'व्यापक सम्भावना' रहेको र ती सम्भावनाका ढोकाहरूलाई आफूले खोल्ने मस्कले बताए । उनले नक्कली खाताहरूलाई हटाउने तथा कैयौँ प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका छन् । कम्पनीले शुरूमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो ।
फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर छ । उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेयरधनी हुन् । -रासस/एएफपी