०४ साउन २०८३, सोमबार
स्थानीय चुनाव

मन्त्री आलेकै गाउँमा एसलाई सकस, कांग्रेसबाट तानेका उम्मेदवारले जोगाउलान् इज्जत ?

मन्त्री आलेकै गाउँमा एसलाई सकस, कांग्रेसबाट तानेका उम्मेदवारले जोगाउलान् इज्जत ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको गाउँपालिका जोरायलमै नेकपा एकीकृत समाजवादी (एस) कमजोर देखिएको छ ।

डोटीको जोरायल गाउँपालिकामा नेकपा (एस) र माओवादी केन्द्रको गठबन्धनबाट किरण मल्ललाई उम्मेदवार बनाइएको हो । 

कांग्रेसको जिल्ला उपसभापति तथा तरुण दलको केन्द्रीय सदस्य समेत रहेका मल्ललाई मन्त्री आलेले नै पार्टी प्रवेश गराएर अध्यक्षको उम्मेदवार बनाएका हुन् ।

‘म कांग्रेसको जिल्ला उपसभापति र तरुण दलको केन्द्रीय सदस्य समेत भएर काम गरेको थिएँ । कांग्रेसमा मेरा केही असन्तुष्टि भएर नेकपा (एस)मा आएको हुँ,’ मल्लले भने, ‘यहाँ आएर उम्मेदवार नै भएको छु ।’

‘घण्टेश्वर निर्माण सेवा’मार्फत गाउँको सडकको ठेक्कापट्टा गर्दै आएका मल्ल काठका ठेकेदार हुन् । 

नेकपा एसका नेता तथा मन्त्रीकै गाउँमा समाजवादीले बलियो उम्मेदवार नपाएका कारण कांग्रेसबाट तानेर ल्याएको स्थानीयको भनाइ छ । गाउँमा ठेक्कापट्टाको काम गर्दै आएका मल्ल स्थानीयसँग खासै नभिजेको स्थानीय खड्गबहादुर बोहोराले बताए । 

‘हिजो एमालेले जितेको हो, अहिले पनि उनीहरूले अगाडि देखिन्छन्,’ आगामी चुनावी परिणमको अनुमान गर्दै उनले भने, ‘एसको संगठन बलियो छैन, नयाँ पार्टी हो ।’ 

संगठन बलियो नभएको र नयाँ पार्टी भएका कारण समाजवादीलाई चुनाव जित्न मुस्किल रहेको अर्का स्थानीय विकास सिञ्जाली मगरले बताए ।

‘खासै संगठन राम्रो छैन, मन्त्रीको गाउँ भनेकै भरमा एसले जित्छ भन्न सकिन्नँ,’ मगरले लोकान्तरसँग भने ।

नेकपा एमालेका तर्फबाट जोरायल गाउँपालिकाको अध्यक्षमा निवर्तमान अध्यक्ष दुर्गादत्त ओझाले पुनः उम्मेदवारी दिएका छन् ।

अघिल्लो निर्वाचनमा जितेकै कारणले यसपालि पनि टिकट पाएको र आफैंले जित्ने दाबी उनको छ ।

ओझा पनि सार्वजनिक पदमा बहाल रहँदा अश्लील फोटो तथा भिडियो सार्वजनिक भएर विवादमा आएको पात्र भएको स्थानीयको भनाइ छ ।

ओझा व्यक्तिगत जीवनमा नगई कुरा गर्दा आफू बलियो रहेको बताउँछन् । ‘कसैको व्यक्तिगत जीवनमा नगाई कुरा गर्नुपर्छ । मैले सार्वजनिक रूपमा राम्रो काम गरेको छु । एक कार्यकाल गाउँपालिकामा बसेर बनाएका राम्रा योजनाको कार्यान्वयन र अधुरा काम पूरा गर्न फेरि अवसर दिन आग्रह गरेको छु ।’

नेपाली कांग्रेसबाट भने दीपक विष्ट गाउँपालिका अध्यक्षको उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका विष्ट एमाले विभाजनको लाभ उठाउँदै चुनाव जित्ने रणनीतिमा छन् ।

गाउँमा चुनावले छपक्कै छोपेको छ । दलका झण्डाहरू घरघरमा टाँगिएका छन् । पहिले एमालेको पकड रहेको यस क्षेत्रमा अहिले फाट्टफुट्ट समाजवादीको झण्डा पनि देखिन्छ ।

एमाले विभाजनका कारण कांग्रेसको स्थिति पनि सुधारोन्मुख छ । २० हजार जनसंख्या रहेको जोरायलमा १३ हजार मतादाता छन् । 

जग्गा विवाद मिलाइदिनेलाई भोट !

मन्त्री प्रेम आलेको वडाकी मतदाता पद्मादेवी खातीले आफ्नो जग्गाको विवाद मिलाइदिनेलाई भोट दिने बताइन् । 

राजमार्गको छेउमा रहेको उनको जग्गामा विवाद भएपछि गाउँपालिको न्यायिक समितिमा उजुरी दिएकी थिइन्, तर आफ्नो गल्ती नहुँदा पनि उपाध्यक्षले जबरजस्ती मिलापत्र गराएको उनको गुनासो छ ।

यसअघि गाउँपालिका कार्यालयमा कार्यालय सहयोगी समेत रहेकी उनी आफूलाई पूर्वाग्राही भएर कामबाट निकालेको भन्दै रुष्ट छिन् । 

उम्मेदवारका आ–आफ्नै दाबी

स्थानीय तहमा बसेर युवालाई रोजगारी दिइरहेकाले पनि आफूले जित्ने दाबी नेकपा एसका उम्मेदवार किरण मल्लको छ ।

‘विगतमा मैले काठ, सडकलगायतबाट स्थानीय युवालाई १५ वर्षदेखि रोजगारी दिएको छु । स्थानीयको सेवामा पनि खटिएको छु, त्यसकारण मैले नै जित्छु,’ मल्लले लोकान्तरसँग भने ।

पार्टी मात्र हैन, व्यक्ति हेरेर समेत आफूलाई भोट आउने उनले बताए ।

उनी केही विकासे एजेन्डा लिएर जनतामा गएका छन् । ‘गाउँपालिकाका कतिपय स्थानमा स्वास्थ्य सेवाको ठूलो समस्या छ, जसको प्रमुख कारण सडक हो । सडक विस्तार गरेर स्वास्थ्य सेवाका लागि एम्बुलेन्स उपलब्ध गराउने योजना छ,’ मल्लले भने ।

गाउँपालिकामा गरीबी मुख्य समस्या रहेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि कृषि क्षेत्रको विकास, सिलाइ कटाइ सिकाएर स्वरोजगार तथा र आफ्नो कम्पनीमा काम लगाउने पनि उनले बताए । 

‘हाम्रो काठ ठेक्का छ, खोटो निकाल्ने काम छ, त्यसमा रोजगार दिन्छु,’ उम्मेदवार मल्लले लोकान्तरसँग भने, ‘उद्योग स्थापना गरेर २ सय जनालाई रोजगारी दिने योजना बनाएको छु ।’

आफूले ३ हजार मतान्तरले जित्ने दाबी मल्लले गरे ।

यता एमाले उम्मेदवार दुर्गादत्त ओझाले भने आफूले शुरू गरेका अधुरा काम गर्नका लागि पुनः निर्वाचित हुने विश्वास व्यक्त गरे ।

‘अघिल्लो चुनावमा विश्वास गरेर हामीलाई भोट दिनुभएको हो । हामीले विकासका पूर्वाधार खडा गरेका छौं, त्यसलाई पूर्णता दिनका लागि पनि मतदाताले हामीलाई फेरि जिताउनुहुन्छ भन्ने विश्वास छ,’ ओझाले लोकान्तरसँग भने ।

‘पर्यटकीय क्षेत्र र कृषि क्षेत्रको विकास, पशुपालन लगायतका क्षेत्रका कामको शुरूआत भएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम भएका छन् । गाउँपालिकाका विभिन्न ठाउँमा सडक विस्तारको काम शुरूआत भएको छ,’ उनले थपे ।

गरीबी निवारण, रोजगारी सिर्जनालगायतका कामलाई नीति नियम बनाएरै अगाडि बढाएको उनको दाबी छ । मल्लले आफ्नो मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने बताए ।

‘प्रतिस्पर्धा भनेकै एमाले र कांग्रेसबीच हुने हो, नयाँ पार्टीको हिसाबै छैन,’ ओझाले लोकान्तरसँग भने । 

कमेन्ट गर्नुहोस्