
पोखरा–३१, वेगनासको महडाँडामा शुक्रवारदेखि कृषि उपज बजार केन्द्र शुरू भएको छ । उद्घाटन समारोहमा भेटिएकी २६ वर्षीय सृजना सापकोटाको मुहारमा अरू बेलाभन्दा बेग्लै चमक थियो ।
‘दुई पैसो आम्दानी होला कि भनेर दिनदिनै गरिरहेको खेतीकिसानी उँभो लाग्ने भो अब,’ हाते झोलामा ल्याएको काँक्रो र प्लास्टिकमा ल्याएको नुन खुर्सानीको पोको झिक्दै उनले भनिन् । त्यो काँक्रो उनले उद्घाटनमा आएका आगन्तुकलाई निःशुल्क खुवाउन ल्याएकी रहिछन् ।
गाउँमा उनले पाँचवटा भैँसी पालेकी छन् । दूध बेच्ने ठाउँ नभएकाले भैँसी पाले पनि ब्याउने बित्तिकै बेच्दा १५/२० हजार नाफा हुन्छ रे । बारीमा फलाएका तरकारी डोकामा र झोलामा लिएर उनी घरघर पसलपसल चहार्छिन् । यसबाट दिनको ५०० रूपैयाँ मुस्किलले कमाइ हुने उनी बताउँछन् । तर दिनभरको समय जाने हुँदा खेतबारीकै काममा भनेअनुरुप उनले समय दिन पाउँदिनन् । ‘अब मैले यो सबै दुःखबाट धेरथोर छुट्कारा पाउने भएँ,’ उनले भनिन् ।
पोखराको महत्त्वपूर्ण जैविक विविधता क्षेत्र वेगनास ताल जलाधार क्षेत्रका कृषकहरूको सुविधाका लागि शुक्रवारदेखि स्थानीयस्तरमै कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएको हो ।
केन्द्रले बजार मूल्यमा कृषकको उत्पादन खरिद गर्नेछ भने पोखराका मुख्य बजारमा आपूर्ति गर्नेछ ।
पछिल्लो समय धेरै मानिसलाई कृषिमा आकर्षित गर्न र सोही पेशामै टिकाइराख्न पोखरा महानगरपालिकाका करीब आधा दर्जन वडामा यो अभ्यास शुरु भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा यस्ता कृषि उपज बजार केन्द्र सञ्चालन भइरहेका छन् ।
यसैअन्तर्गत शुक्रवारदेखि वेगनासको महडाँडामा कृषि उपज बिक्री केन्द्र स्थापना भएको हो । स्थानीय कोट देउराली कृषि सहकारी संस्थाको अगुवाइमा उक्त उपज केन्द्र सञ्चालन गरिएको हो । यस केन्द्रले वेगनास क्षेत्रका करीब ३०० घर लाभान्वित हुने सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटा भाटले बताए ।
वेगनासमा स्थापना भएको उक्त कृषि उपज बजार केन्द्रको उद्घाटनका क्रममा पोखरा महानगरपालिका कृषि तथा पशु स्वास्थ्य महाशाखाका प्रमुख मनोहरी कडरियाले यतिबेला धेरै युवाहरू कृषि पेशामा आकर्षित भएको तर बजारसम्मको पहुँच नभएकै कारण लामो समय पेशामा टिक्न नसकेको समस्या औंल्याए । यही समस्या सम्बोधन गर्न पोखरा महानगरपालिकाले गाउँगाउँमा कृषि उपज बजार केन्द्र कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।