०५ साउन २०८३, मंगलबार
संसदीय चुनावको पूर्व तयारी

काठमाडौंको चुनावी जोडघटाउ : स्वतन्त्रले ‘थ्रेट’ बढाउँदा कसलाई अगाडि सार्दैछन् ठूला दल ?

असार ८, २०७९
काठमाडौंको चुनावी जोडघटाउ : स्वतन्त्रले ‘थ्रेट’ बढाउँदा कसलाई अगाडि सार्दैछन् ठूला दल ?

आसन्न संघीय चुनावलाई लक्षित गरेर धमाधम स्वतन्त्र उम्मेदवारी घोषणाले ठूला राजनीतिक दलभित्र परकम्प सिर्जना गरिरहेको छ । 

स्थानीय चुनावमा जीतको आकलन नै नगरेका व्यक्तिले चमत्कारिक नतिजा निकालेको र संघीय चुनावमा पनि स्वतन्त्र उम्मेदवारको लहर आएपछि दलहरूले आगामी चुनावको उम्मेदवारबारे औपचारिक/अनौपचारिक छलफल थालेका छन् । 

मुख्यगरी, काठमाडौंका निर्वाचन क्षेत्रलाई लक्षित गरेर स्वतन्त्र उम्मेदवारहरू सार्वजनिक भइरहेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमध्ये धेरैजसो सिट जित्दै आएको कांग्रेस र एमालेलाई आगामी चुनावको उम्मेदवार तय गर्नेबारे स्वतन्त्र उम्मेदवारी घोषणाले दबाब सिर्जना गरेको छ । 

राजधानी शहरको निर्वाचन क्षेत्र भएकाले पनि राजनीतिक दलहरूका लागि काठमाडौंको चुनाव विशेष महत्त्वको हुन्छ । राजधानीमा निर्वाचनको माहोल आफ्नो पक्षमा बनाउन सके देशभर प्रभाव रहेको ठहर्ने मनोवैज्ञानिक पक्षका कारण पनि दलहरूले राजधानीको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका छन् ।

अर्कोतर्फ, स्थानीय तहको निर्वाचनमा ठूला दलहरू काठमाडौंमा नै नराम्रोसँग पछारिएका कारण पनि आगामी चुनावमा कस्तो उम्मेदवार अघि सार्ने भन्नेबारे छलफलमा छन् ।

काठमाडौं महानगरमा एमालेले जित्दै आएको थियो । यसपटक एमालेविरूद्ध सत्तारूढ गठबन्धकातर्फबाट कांग्रेसले उम्मेदवार अघि सारेको थियो । तर, एमाले र गठबन्धनका उम्मेदवार चुनावमा पराजित भए । स्वतन्त्र उम्मेदवार बालेन्द्र साह काठमाडौंको मेयरमा निर्वाचित भए । 

काठमाडौंको केही निर्वाचन क्षेत्रलाई मुख्य राजनीतिक दलका केही नेताले आफ्नो विरासतको रूपमा लिने गरेका छन् । तर, यसपटक भने स्वतन्त्र उम्मेदवारले उनीहरूलाई सोच्न बाध्य बनाइदिएका छन् । 

सञ्चारकर्मी पृष्ठभूमिबाट चर्चा बटुलेका रवि लामिछाने पार्टी नै खोलेर राजनीतिमा हामफालेका छन् । उनी काठमाडौंकै कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा छ । तर, उनले कहाँबाट उम्मेदवार बन्ने भनेर खुलाएका छैनन् । लामिछाने काठमाडौंबाट उम्मेदवार बन्दा ठूला राजनीतिक दलका उम्मेदवारलाई बलियो चुनौती खडा हुनेछ । 

काठमाडौंको क्षेत्र नम्बर १ कांग्रेस नेता प्रकाशमान सिंह, क्षेत्र नम्बर २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, क्षेत्र नम्बर ४ कांग्रेसका महामन्त्री गगन थापा, क्षेत्र नम्बर ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको क्षेत्र भनेर चिनिने गरेको छ । तर, आगामी निर्वाचनमा उनीहरूले नै आफूलाई असुरक्षित महसूस गर्ने परिस्थिति बनेको छ । 

राजनीतिक मान कमजोर भएका प्रकाशमान 

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएका छन् । २०७४ को निर्वाचनमा जम्मा ८१८ मतले रविन्द्र मिश्र पराजित भएका थिए । सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत पाएका पाएका थिए । 

यसपटक क्षेत्र नम्बर १ बाट पुकार बमले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक, राजनीतिक अभियन्ता रहेका बम भूकम्प, कोरोना महामारी, संविधान र अकुपाई बालुवाटार जस्ता अभियानबाट चर्चित बनेका थिए । 

उनले भूकम्पका बेला राहत संकलन र वितरण गरेर चर्चा कमाएका थिए । कोरोना महामारीका बेला खाना खुवाउने, अक्सिजन जुटाउने, बिरामीको उद्धार गर्ने लगायतका कामले उनलाई चर्चित बनाएको थियो । उनले यही सामाजिक पूँजीलाई आधार बनाएर चुनाव लड्ने घोषणा गरेका छन् । 

प्रकाशमान सिंह

एमालेकातर्फबाट भने काठमाडौं क्षेत्र नम्बर–१ मा कसलाई उम्मेदवार बनाउने भन्ने अहिल्यै एकिन नहुने नेताहरू बताउँछन् । तर, प्रदेश सभा सांसद रहेका गणेशप्रसाद दुलालले उक्त क्षेत्रबाट संघीय संसदको उम्मेदवार बन्ने गरी तयारी गरिरहेको एमालेका नेताहरू बताउँछन् । 

बमले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेको र पार्टीमा पनि प्रकाशमानको विकल्प मागिरहेको हुँदा उनै उम्मेदवार हुँदा कांग्रेसले जित्नेमा शंका रहेको कांग्रेसकै एक केन्द्रीय सदस्य बताउँछन् । ‘काठमाडौंमा युवाहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर आइसकेका कारण कांग्रेसले पुरानै उम्मेदवारलाई दोहोर्‍याउँदा जित्ने सम्भावना नै हुँदैन । अघिल्लो पटक रविन्द्रले झण्डै पराजित गरेका हुन्’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।  

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले पनि काठमाडौं क्षेत्र नम्बर–१ बाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनी नेपाल प्रहरीका पूर्व डिआइजी हुन् । 

विकल्प हेरिरहेका माधव नेपाल

अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपालले नेकपा एमालेमा रहँदा काठमाडौं क्षेत्र नम्बर–२ बाट चुनाव जितेका हुन् । तर, उनी अहिले काठमाडौंबाटै उम्मेदवार बन्ने कि तराई झर्ने भन्ने बारेमा विकल्प हेरिरहेको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् । अध्यक्ष नेपाल यसपटकको चुनावमा रौतहटबाट चुनाव लड्न सक्ने सम्भावना पनि उत्तिकै रहेको उनीनिकट नेताहरू बताउँछन् । 

२०७० सालसम्म उनी रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका थिए तर संविधान बनेपछि एउटै उम्मेदवार २ निर्वाचन क्षेत्रबाट चुनाव लड्न नपाउने व्यवस्था गरियो । त्यसपछि २०७४ सालको चुनावमा नेपाल रौतहट छाडेर काठमाडौंको क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए । स्थानीय तहको चुनावको नतिजा हेर्दा पनि नेपालका लागि काठमाडौंभन्दा रौतहट अनुकूल देखिएको छ । 

रौतहटमा माधव नेपालकै निर्वाचन क्षेत्रमा पर्ने २ वटा स्थानीय तहमा एकीकृत समाजवादीले एक्लै जीत निकालेको छ । काठमाडौंमा भने नेपालको निवास रहेको वडा नम्बर ३२ मा एमालेले जितेको छ । 

माधव नेपाल

अर्कातर्फ चुनावी तालमेल हुँदा सिट बाँडफाँट कसरी हुन्छ भन्ने कुराले पनि नेपालले कहाँबाट चुनाव लड्ने भन्ने निर्क्यौल हुने एकीकृत समाजवादीका नेताहरू बताउँछन् । 

अघिल्लो चुनावमा नेपालले कांग्रेसका उम्मेदवार दीपक कुँइकेललाई १२ हजार ४६३ मतान्तरले पराजित गरेका थिए । 

माधव नेपाल काठमाडौंबाटै चुनाव लड्ने अवस्थामा त्यहाँ गठबन्धनका अन्य दलको उम्मेदवार नहुने सम्भावना रहेको कांग्रेसका नेताहरू बताउँछन् ।

एमालेका लागि भने काठमाडौं क्षेत्र नम्बर–२ नयाँ अवसर हो । तर, एमालेले कसलाई अघि सार्छ अहिल्यै आंकलन नहुने एमालेका नेताहरू बताउँछन् । 

३ नम्बरमा स्वतन्त्र सिर्जित त्रास

काठमाडौंको क्षेत्र नम्बर ३ मा पूर्व सञ्चारकर्मी हरिशरण लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ३ मा यसअघि एमालेका कृष्णबहादुर राईले कांग्रेसकी अम्बिका बस्नेतलाई ४ हजार २८५ मतले पराजित गरेका थिए ।

एमालेबाट उक्त क्षेत्रमा अहिले पनि राई नै दाबेदार रहेको एमाले नेताहरू बताउँछन् । तर, कांग्रेसले फेरि बस्नेतलाई नै उम्मेदवार बनाउँदा जित्ने अवस्था नरहेको कांग्रेस काठमाडौं जिल्ला समितिका एक सदस्य बताउँछन् । 

‘उहाँले पटक–पटक चुनाव हारिसक्नुभयो । फेरि पनि उम्मेदवार बनाउँदा जित्ने अवस्था देखिँदैन । स्वतन्त्र उम्मेदवारले पनि चुनौती थपेका छन् । त्यसो हुँदा जित्ने उम्मेदवार खोज्नुपर्ने बाध्यता छ’, ती नेताले बताए ।

काठमाडौं– ३ (क)बाट प्रदेश सांसद निर्वाचित छिरिङ दोर्जे लामाले यसपटक कांग्रेसमा संघीय सांसदको टिकट दाबी गरिरहेका छन् । विद्यार्थी राजनीतिबाट आएको र उक्त क्षेत्रमा राम्रो प्रभाव राख्ने भएकाले कांग्रेसमा धेरैले उनले चुनाव जित्न सक्ने विश्लेषण गरेका छन् । स्थानीय चुनावमा पनि आफ्नो क्षेत्रको वडा जिताउन राम्रो पहल गरेको भनेर पार्टीमा उनको प्रशंसा भएको सुनेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । 

गगनलाई एमसीसीको भारी

कांग्रेसभित्र र बाहिर उत्तिकै लोकप्रिय छवी बनाएका र चमत्कारिक नेतृत्वको आशा गरिएका युवा नेता गगन थापाको क्षेत्र हो काठमाडौं– ४ । 

यसअघि उनले उक्त निर्वाचन क्षेत्रमा एमाले (वाम गठबन्धन)का राजन भट्टराईलाई ३ हजार ४१८ मतले पराजित गरेका थिए । 

तर, यसपटक गगनलाई संघीय चुनावमा एमसीसीले अप्ठ्यारो पार्ने स्थानीय मतदाताको आशंका छ । विशेषगरी, प्रदेश निर्वाचन क्षेत्र (क)मा गगनसँग असन्तुष्टहरूको संख्या बढेको छ । 

गगन थापा

‘संसद्मा एमसीसी अनुमोदनका लागि गगनले जुन भूमिका निर्वाह गरे त्यसबाट प्रदेशको (क) निर्वाचन क्षेत्रका मतदातामा असन्तुष्टि देखिन्छ । उक्त क्षेत्रमा असाध्यै धेरै मेहनत गर्नुपर्ने अवस्था छ’, गगन थापानिकट रहेका कांग्रेसका एक नेताले बताए । 

विशेषगरी बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा गगन थापाले विशेष ध्यान दिएर मेहनत गरिरहेको कांग्रेसकै नेताहरू बताउँछन् ।

उक्त क्षेत्रमा भने एमालेका भट्टराईले नै टिकट दाबी गरिरहेका छन् । 

एमाले अध्यक्ष ओली निकटस्थ मानिने भएका कारण अहिलेकै अवस्था हुँदा भट्टराईले नै टिकट पाउने अवस्था रहेको एमाले नेताहरू बताउँछन् । 

भट्टराई अहिले एमालेमा विदेश विभाग प्रमुख छन् । 

ईश्वर पोखरेललाई स्वतन्त्र युवाको चुनौती 

काठमाडौं क्षेत्र नम्बर ५ बाट २०७४ सालमा ईश्वर पोखरेल विजयी भएका थिए । उनी अहिले एमालेको वरिष्ठ उपाध्यक्ष छन् । 

त्यसअघि २०५६ सालमा निर्वाचन प्रचारकै क्रममा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि ईश्वर पोखरेललाई सोही क्षेत्रमा उम्मेदवार बनाइएको थियो । त्यसबेला पनि उनले चुनाव जितेका थिए । 

२०६४ र २०७० सालमा भने पोखरेलले चुनाव हारेका थिए । त्यसबेला कांग्रेसका नरहरि आचार्य विजयी भएका थिए ।

२०७४ सालमा कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई एमालेका नेता ईश्वर पोखरेलसँग भिडाएको थियो । तर डा. महतले करीब १० हजार मतान्तरले चुनाव हारे । 

ईश्वर पोखरेल

अहिले डा. महत काठमाडौंको क्षेत्र छाडेर आफ्नो गृहजिल्ला नुवाकोट फर्किने मनस्थितिमा रहेको चर्चा कांग्रेसभित्र छ । 

नुवाकोटमा उनका दाजु डा. रामशरण महतले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने प्रयासमा उनी रहेका कांग्रेस नेताहरू बताउँछन् । 

डा. महत काठमाडौं– ५ बाट उम्मेदवार हुँदा कांग्रेसकै कार्यकर्ता उनलाई हराउन लाग्ने अवस्था भएकाले पनि उनले निर्वाचन क्षेत्र सार्न लागेको कांग्रेसका एक नेताले बताए । 

टोखा नगरपालिकामा डा. महतकै कारण चुनाव हारेको कांग्रेसको स्थानीय कमिटीहरूको विश्लेषण छ । टोखामा कांग्रेस उम्मेदवार रजनी थापाले चुनाव हार्नुमा डा. महतको भूमिका रहेको कांग्रेसका स्थानीय कार्यकर्ता बताउँछन् । 

डा. महत भने टोखामा थापालाई उम्मेदवार बनाउने पक्षमा थिएनन् । तर, गगन थापाले हस्तक्षेप गरेर रजनी थापालाई उम्मेदवार बनाएका थिए । त्यसमा चित्त नबुझाएका महतले चुनावमा हराउन भूमिका निर्वाह गरेको स्थानीय कार्यकर्ता बताउँछन् । ‘उहाँले जो उम्मेदवार भए पनि कांग्रेसकै उम्मेदवार हो । जसरी पनि जिताउनुपर्छ मात्रै भनिदिनुभएको भए पनि चुनाव जित्ने अवस्था हुन्थ्यो । चुनाव जिताउन उहाँ (महत)को कुनै भूमिका भएन’, स्थानीय एक नेताले भने । 

डा. महत नुवाकोट फर्किएको अवस्थामा कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ मा नयाँ उम्मेदवार अघि सार्नुपर्ने हुन्छ ।

महत गृह जिल्ला फर्कने चर्चा भएपछि विद्यार्थी राजनीतिबाट आएका नैनसिंह महरले काठमाडौं– ५ मा राजनीतिक गतिविधि बढाएका छन् । 

‘उक्त निर्वाचन क्षेत्रका केही प्रतिष्ठित व्यक्तिहरूसँगको भेटघाट उहाँले बढाउनुभएको छ । तर, उहाँले नै टिकट पाइहाल्ने सम्भावना त्यति बलियो भने छैन । जो आए पनि उक्त क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवानिकटकै मान्छे आउँछन्’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने । 

यसअघि विवेकशील साझा पार्टीमा रहेकी रञ्जु दर्शनाले पनि उक्त क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । 

६ नम्बरमा भीमसेनदास नै बलियो दाबेदार

काठमाडौं क्षेत्र नम्बर ६ बाट यसअघि कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका थिए ।

उनले माओवादी केन्द्रका उम्मेदवार झक्कुप्रसाद सुवेदीलाई १३ सय मतले पराजित गरेका थिए । त्यसबेला एमाले र माओवादी केन्द्रले गठबन्धन गरेको थियो । 

उक्त निर्वाचन क्षेत्रमा अहिले पनि प्रधान नै सशक्त दावेदार रहेको कांग्रेसका नेताहरू बताउँछन् । केही गरी प्रधान उम्मेदवार नबन्ने अवस्था आउँदा अहिले नगर सचिव रहेका सुशन वैद्य पनि कांग्रेसबाट दाबेदार छन् । 

त्यसबाहेक, गत महाधिवेशनमा क्षेत्रीय सभापतिमा पराजित भएका कृष्णमान श्रेष्ठले पनि टिकटको दाबी गरिरहेका छन् । 

भीमसेनदास प्रधान

कांग्रेसको काठमाडौं जिल्ला सभापति सबुज बानियाँको निर्वाचन क्षेत्र पनि त्यही हो । उनी पनि संघीय संसद्को उम्मेदवार बन्ने लबिङमा रहेको कांग्रेसका नेताहरू बताउँछन् । तर, उनीहरू प्रदेश सभामा समेटिन सक्ने र अन्ततः प्रधान नै फेरि संघीय उम्मेदवार बन्ने अवस्था रहेको कांग्रेसका नेताहरू बताउँछन् ।

क्षेत्र नम्बर ७ मा पर्ख र हेरको अवस्था  

काठमाडौं क्षेत्र नम्बर ७ बाट अघिल्लो चुनावमा रामवीर मानन्धर संघीय संसद सदस्यमा निर्वाचित भएका हुन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापालाई पराजित गरेका थिए । त्यसबेला कांग्रेस र राप्रपाले काठमाडौं क्षेत्र नम्बर ७ मा तालमेल गरेका थिए । राप्रपालाई टिकट दिएको भनेर कांग्रेसका कार्यकर्ता असन्तुष्ट थिए । कतिपय कांग्रेसका कार्यकर्ता त्यसबेला भोट हाल्नै गएनन् । 

काठमाडौं क्षेत्र नम्बर– ७ मा रामवीरको राम्रो पकड छ । तर, स्थानीय तहको चुनावमा उनले एमाले उम्मेदवार केशव स्थापितलाई असहयोग गरेर हराउन भूमिका निर्वाह गरेको आरोप छ । एमालेले कुनै पनि बेला मानन्धरलाई कारवाही गर्न सक्ने एमाले नेताहरू नै बताउँछन् । 

रामवीर मानन्धर

एमालेले मानन्धरलाई कारवाही गरेको अवस्थामा उनी एकीकृत समाजवादी प्रवेश गरेर वा कांग्रेससँगै सहकार्य गरेर पनि उम्मेदवार बन्न सक्ने आंकलन एमालेभित्रै छ । त्यसकारण, रामवीरको व्यवस्थापन कसरी हुन्छ भन्ने कुरामा एमालेको उम्मेदवार को हुने भन्ने निर्क्यौल हुने अवस्था छ । यो निर्वाचन क्षेत्र एमालेका नेता कार्यकर्ताका लागि पर्ख र हेरको अवस्थामा छ । 

कांग्रेसमा भने प्रगतिमान रञ्जितले संसदीय चुनावको टिकटका लागि लबिङ थालेका छन् । १४ औं महाधिवेशनको क्रममा नगर सभापति हारेका उनी काठमाडौं क्षेत्र नम्बर ७ मा देउवा खेमाका बलियो दाबेदार हुन् । 

‘देउवा खेमामा काठमाडौंमा देखिने अनुहार उनी नै हुन् । देउवा सकारात्मक हुँदा उनले टिकट पाउन सक्छन्’, कांग्रेसका एक नेताले भने । 

जीवनराम भर्सेस सुमन

क्षेत्र नम्बर ८ मा अघिल्लो चुनावमा एमालेबाट जीवनराम श्रेष्ठले चुनाव जितेका थिए । तर, उनी अहिले एकीकृत समाजवादीमा छन् । 

सत्तारुढ गठबन्धनकै दलहरूबीच चुनावी तालमेल गर्दा उक्त क्षेत्र एकीकृत समाजवादीले दाबी गर्ने कुरा स्वाभाविक छ । त्यसो हुँदा गठबन्धनकातर्फबाट जीवनराम नै उम्मेदवार बन्ने अवस्था छ ।

गठबन्धन नभएको अवस्थामा कांग्रेसबाट सपना जोशीले टिकटको दाबी गर्न सक्ने कांग्रेसका नेताहरू बताउँछन् । अघिल्लो चुनावमा जीवनराम श्रेष्ठले कांग्रेसका नविन्द्रराज जोशीलाई ४ सय ४४ मतको अन्तरले पराजित गरेका थिए । 

जोशीको मस्तिष्कघातका कारण २०७७ चैतमा निधन भएको थियो । उनकी श्रीमती सपना जोशीले आगामी निर्वाचनमा टिकटको दाबी गर्न सक्ने कांग्रेसमा चर्चा छ ।

जीवनराम श्रेष्ठ

उनी कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएकी थिइन् । 

एमालेबाट चुनाव जितेका जीवनराम अर्को पार्टीमा गएपछि एमालेले भने नयाँ उम्मेदवारलाई ठाउँ दिन पाउने भएको छ । 

काठमाडौंको क्षेत्र नम्बर ८ स्वतन्त्र उम्मेदवार सुमन सायमीले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेका उनलाई निर्वाचित मेयर बालेन्द्र साहको समेत समर्थन रहेको छ । 

मेयरको उम्मेदवार हुँदा करीब १३ हजार मत ल्याएका सायमीले संघीय संसद्को निर्वाचनका लागि तयारी थालिसकेका छन् ।  

कृष्णगोपाललाई चुनौती दिने ध्यानगोविन्द कि नानू बास्तोला 

क्षेत्र नम्बर ९ मा एमालेका सदाबहार उम्मेदवार हुन्, कृष्ण गोपाल श्रेष्ठ । एमालेको केन्द्रीय सदस्य रहेका उनी काठमाडौं जिल्लाका इञ्चार्ज पनि हुन् ।

अघिल्लो चुनावमा कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मतान्तरले पराजित गरेको श्रेष्ठ फेरि पनि उम्मेदवार बन्ने गरी तयारी गरिरहेका छन् ।

तर, कांग्रेसमा भने ध्यानगोविन्दलाई फेरि उम्मेदवार बनाउने कि नयाँ उम्मेदवार अघि सार्ने भन्नेबारे बहस शुरू भएको छ । उक्त बहसमा वैकल्पिक उम्मेदवारको नाम आएको छ, नानु बास्तोला ।

कांग्रेसको केन्द्रीय सदस्य रहेकी बास्तोला युवा र महिला भएका कारण पनि उम्मेदवार बनाउनुपर्ने चर्चा कांग्रेसमा कतिपयको छ ।

कृष्णगोपाल श्रेष्ठ

‘ध्यानगोविन्दलाई फेरि उम्मेदवार बनाउँदा जीत सहज नभएकाले अर्का उम्मेदवारको खोजी भइरहेको छ । तर, कालिमाटीदेखि स्वयम्भु क्षेत्रसम्म समेटिएको उक्त निर्वाचन क्षेत्रमा नेवारी समुदायकै मतदाता धेरै भएकाले बास्तोलाको उम्मेदवारी के हुन्छ अहिल्यै भन्न सकिँदैन’, कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

राजेन्द्र भर्सेस सुरेन्द्र 

काठमाडौं क्षेत्र नम्बर १० कांग्रेसको पकड क्षेत्र हो । त्यहाँ कांग्रेसका राजेन्द्रकुमार केसीले निरन्तर चुनाव जित्दै आएका छन् । 

२०७० को चुनावमा उनैले माओवादी अध्यक्ष प्रचण्डलाई पराजित गरेका थिए । २०७४ को चुनावमा एमाले माओवादी गठबन्धनका उम्मेदवार हितमान शाक्य उनै केसीसँग २२ सय ८३ मतले पराजित भएका थिए । 

कांग्रेसले अब पनि राजेन्द्रलाई नै उम्मेदवार बनाउने कांग्रेस नेताहरू बताउँछन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवारको लहर आएका बेला क्षेत्र नम्बर १० मा कांग्रेसबाट जित्ने उम्मेदवार नै राजेन्द्रकुमार केसी भएको कांग्रेसका नेताहरू बताउँछन् । 

राजेन्द्र केसी

उक्त क्षेत्रमा एमालेबाट टिकटको दाबी गरिरहेका व्यक्ति हुन्, सुरेन्द्र मानन्धर । एमाले विभाजन नहुँदा माधव नेपाल खेमामा रहेका मानन्धर पार्टी विभाजनमा साथ नदिएर एमालेमै रहेका थिए । तर, उनी एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न पाएका थिएनन् ।

एमाले अध्यक्ष ओलीसँग उनको खासै राम्रो सम्बन्ध छैन । तर, काठमाडौं क्षेत्र नम्बर–१० मा मानन्धरले संसदीय चुनावको तयारी गरिरहेको बताएका छन् । 

अघिल्लो चुनावमा उनको टिकट खोसेर गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई दिइएको थियो । तर, वामपन्थी गठबन्धनले अघिल्लो चुनाव जित्न सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्