०३ साउन २०८३, आइतबार

जो वातावरणमैत्री सेनेटरी प्याड बाँड्दै तथा बनाउन सिकाउँदै हिँड्छन् [भिडियो]

असार १२, २०७९

कोटेश्वरका ३२ वर्षीय सुशील कार्की वातावरण मैत्री सेनेटरी प्याडको विषयमा जागरण फैलाउन अनवरत रूपमा सक्रिय छन् । गाउँ–गाउँमा गएर महिलाहरूलाई जागरुक बनाउँछन् अनि उपयोगी सीप पनि सिकाउँछन् ।

उनको यो यात्रा २०७२ सालमा आएको महाभूकम्पपछि शुरू भएको रहेछ ।

भूकम्पपछि राहत बाँड्न जाने क्रममा महिनावारीसम्बन्धी पीडा देखेपछि सेनेटरी प्याडसम्बन्धी जनचेतना र महिनावारीसम्बन्धी स्वच्छता अभियान शुरू गरेको कार्कीले लोकान्तरसँग बताए ।

महिनावारीको समयमा महिलाहरूले प्रयोग गर्ने प्याडले नै प्रदूषणमा योगदान गरेको पाइएपछि वातावरणमैत्री प्याड प्रयोगका विषयमा जनचेतना फैलाउन थालेको उनले बताए ।

'प्याडहरूको उचित व्यवस्थापन नभएको देख्दा मलाई निकै दु:ख लाग्यो । महिनावारी स्वच्छता कसरी हुन्छ र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ज्ञान दिनुपर्छ भन्ने लागेर यो काम शुरू गरेको हुँ,' कार्कीले बताए ।

ग्रामीण महिलाहरूमा महिनावारी किन हुन्छ भन्ने कुराको पनि ज्ञान नरहेको र भर्खर महिनावारी भएका किशोरीहरू विद्यालय जानसमेत नमान्ने अवस्था रहेको उनले सुनाए ।

उनले यो कार्यक्रम स्थानीय सरकार र विभिन्न संघ –संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गर्दै आएका छन्, जसमा नुवाकोट,  मकवानपुर,  भक्तपुर,  सिन्धुली,  बैतडी,  बाजुरा,  अछाम, सर्लाही,  खोटाङ गरी ९ जिल्ला समावेश छन् ।

अभियानमा उनले महिनावारी स्वच्छताका विषयमा जागरुक बनाउने मात्र हैन, पुन: प्रयोग गर्न मिल्ने प्याड निर्माण लगायतका विषयमा पनि तालिम दिन्छन् ।

विद्यालयको कक्षाकोठामा विद्यार्थी र शिक्षक सबैलाई एकै ठाउँमा राखेर तालिम दिने गरेको कार्कीले बताए ।

'घरमै खेर गइरहेको सुतीको कपडालाई सदुपयोग गरी वातावरण मैत्री प्याड बनाउन सक्छौं,' उनले भने ।

यसबाट वातावरण प्रदूषण कम गर्न सहयोग पुग्ने, गाउँमै उद्यमशीलताको विकास हुने र महिलाहरू आफैँले निर्माण गर्न सक्ने उनले बताए । सरकारले पनि यसलाई प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड छ ।

सरकारले महिनावारी सामग्री (सेनेटरी प्याड)को आयातमा दिन लागेको ९० प्रतिशत कर छुटले यो निकै सस्तोमा र सुलभ मुल्यमा पाइने पाउने अवस्था आएपनि यसले वातावरणमा पार्ने असरका बारेमा भने सरकारले ख्याल नगरेको कार्की बताउँछन् ।

'महिनावारीको सामग्री (सेनेटरी प्याड) ग्रामिण भेगमा सजिलै पाइँदैन। पाइएका डिस्पोजेबल सेनेटरी प्याड महंगो अनि वातावरणमा नराम्रो प्रभाव पार्ने हुन्छन् । त्यसमा प्रयोग भएको केमिकलले महिलाको प्रजननसम्बन्धी स्वास्थ्यमा पनि असर गर्छ,' उनले भने ।

८० प्रतिशत ग्रामीण महिलाले कपडाजन्य सामग्रीबाट घरमै बनेको महिनावारी सामग्री गर्ने गरेको उनले बताए ।

कसरी बन्छ पुन: प्रयोग गर्न मिल्ने महिनावारी व्यवस्थापन सामग्री ?

पुन: प्रयोग गर्न मिल्ने कपडाको महिनावारी व्यवस्थापन सामग्री निर्माण गर्दा सकेसम्म कम केमिकल प्रयोग गरिएको र कम रंग जाने कटन तथा फलाटिनको कपडाको प्रयोग गरिन्छ ।

रगतलाई कपडामा लाग्न नदिन वाटर प्रुफ तथा ब्रेथेवल कपडाको समेत प्रयोग गरिन्छ । विभिन्न उमेर समूह र वजनअनुसार प्रयोग गर्न सजिलो होस् भनेर विभिन्न साइजमा उत्पादन हुने गरेको छ ।

यसलाई सजिलै धोएर पुन: प्रयोग गर्न सकिन्छ । एक चोटी खरिद गरेपश्चात यसलाई बढीमा एकदेखि दुई वर्षसम्म पुन: प्रयोग गर्न सकिछ ।

त्यसपछि यसलाई माटोमा गाडेमा कुहिएर माटोमा नै मिल्छ । त्यसैले यो वातावरण मैत्री र प्रयोग गरुञ्जेल स्वस्थ पनि रहेको उनले दाबी गरे ।

रुमालको डिजाइनमा उत्पादन गरिएकाले प्रयोग गर्न र कतै जाँदा बोक्न सजिलो तथा छरितो छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्