
बैंकिङ प्रणालीमा चालू आर्थिक वर्ष लागेदेखि नै देखिएको लगानीयोग्य रकम (तरलता) अभाव अझै उस्तै छ । बैंकहरूमा तरलता अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले ठूल्ठूला लिलामीका सूचना निकालिरहेका छन् ।
पछिल्लो समय नेपाल बैंक लिमिटेडले ठूलो लिलामीको सूचना निकालेको छ । यसले यो बेला बैंकहरूले मागेजस्तै लिलामी सकार्ने व्यक्ति पाउँदैन कि भन्ने संशय शुरू भइसकेको छ ।
पोखराको द फूलबारी रिसोर्टमा नेपाल बैंकले गरेको ऋण लगानी साढे दुई दशकदेखि उठेको छैन । यो रकम उठाउन बैंकले ४ असारमा ३५ दिने समय दिएर उक्त होटल लिलामीको सूचना निकाल्यो ।
यो होटललाई नेपाल बैंकको सहवित्तीयकरणमा तीनवटा संस्थाबाट लगानी गरेको सवा अर्ब रुपैयाँको सावाँ मात्रै साढे ३ अर्ब रुपैयाँ पुगेको छ ।
होटल लिलामीमा गएकाले जसले बढी कबोल गर्छ उसैले पाउँछ । यसैका लागि इच्छुक लगानीकर्ताले बढाबढमा दाबी गर्नुपर्छ ।
यसै साता घरजग्गा व्यवसायी सुधीर बस्नेतको कोहिनूर हिल नामको एक हाउजिङ कम्पनी पनि लिलामीमा चढेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको उक्त हाउजिङले कर्मचारी सञ्चय कोषले लगानी गरेको १ अर्ब ३८ करोड रुपैयाँको ऋण चुक्ता नगरेपछि कोषले यसको सम्पत्ति लिलामीमा चढाएको हो ।
कोषले यसअघि पनि उक्त सम्पत्ति लिलामीको सूचना निकालेको थियो । बस्नेतको त्यो सम्पत्ति लिलामी नहुँदा कोषले पुनः सूचना निकालेको हो । बस्नेतको उक्त हाउजिङ करीब साढे १० रोपनी क्षेत्रफलमा निर्माणाधीन छ ।
‘पोखराको फूलबारी रिसोर्ट सामान्य हैसियत भएका व्यवसायीले सकार्न सक्दैनन् । विशेष हैसियत भएका र ठूला व्यवसायी वा विदेशी लगानीकर्ताले चासो देखाएका छन्,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी भने, ‘उक्त रिसोर्ट आन्तरिक व्यवस्थापन मिलाउन नसकेर समस्यामा गएको हुँदा व्यवस्थापन गरेर चलाउन चाहनेले सकार्न सक्छ ।’
रुचि देखाउनेमध्ये केहीले बिडिङ डकुमेन्टसमेत खरिद गरिसकेको बैंकले जानकारी दिएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा पैसाको अभाव भएको हुँदा फूलबारीको बिडिङमा को सहभागी होला भन्ने चासो छ ।
धेरैको रुचि भएकाले भएकोले कुनै न कुनै व्यवसायीले यो लिलामी सकार्नेमा बैंक विश्वस्त छ । यो रिसोर्ट सकार्न कम्तिमा पनि पौने ५ अर्ब जुटाउनुपर्छ ।
फूलबारी रिसोर्टको खराब कर्जा नउठेकाले यसैमा फेरि बैंकहरूले लगानी नगर्न पनि सक्छन् । नेपाल बैंकको फसेको ऋण उठाउन खोजेको हो ।
हेर्नुहोस्, लिलामीको सूचना :
तर, एउटा बैंकको फसेको लगानीमाथि फेरि अर्को बैंकले सोही सम्पत्ति खरिद गर्नेलाई ऋण नदिन सक्छ ।
सीईओ अधिकारी भने रिसोर्टको सम्पत्ति बिक्री गर्न लागिएकाले यसमा कर्जा खराबमा परेको विषयले सम्पत्तिको खरिद बिक्रीमा कुनै असर नपर्ने बताउँछन् ।
रिसोर्टको लिलामी सकार्न ठूला व्यवसायी, हैसियत भएका लगानीकर्ता आए भने त्यसको सकारात्मक पक्ष हेरेर अरू बैंकले लगानी गर्न कुनै समस्या नहुने तर्क पनि सीईओ अधिकारीले गरे ।
अन्तर्राष्ट्रिय निकायसँग नेपाली लगानीकर्ताले सहकार्य गरेर त्यो लिलामी सकार्न पनि सक्छन् । अहिलेसम्मको चासो र व्यावसायिक रुचिलाई हेर्ने हो भने यो रिसोर्ट लिलामी हुनेमा बैंक विश्वस्त रहेको अधिकारीले बताए ।
तरलता अभावले ठूला लिलामीलाई चुनौती
बैंक तथा वित्तीय संस्थालाई असारमसान्तको चटारो छ । राष्ट्र बैंकको नियम अनुसार यही असारभित्रै बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा कम बनाउनुपर्ने छ ।
अहिले नै बैंकहरूले सीमाभन्दा बढी लगानी गरिसकेका छन् । सीडी रेसियो मेन्टेन गर्नुपर्ने कारण अधिकांश बैंक थप लगानी गर्न नसक्ने अवस्थामा छन् । पछिल्लो समय बैंकहरूमा निक्षेप घट्दै गएकाले पनि बैंकहरू ठूलो लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।
बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले बैंकहरूको पहिलो आवश्यकता नियामकको निर्देशनअनुसार सीडी रेसियो मेन्टेन गर्नु भएको बताए ।
राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट असारभित्रै सीडी रेसियो ९० प्रतिशतभन्दा कम बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
सो व्यवस्थाको पालना गर्दै खराब कर्जा (एनपीएल) पनि घटाउनुपर्ने हुँदा धेरैजसोले आवको अन्तिमतिर ऋण लगानी गर्न सक्दैनन् ।
डुबेको व्यवसायमा बैंकले पुनः लगानी गरिहाल्ने अवस्था पनि हुँदैन । त्यसैले कुनै पनि लिलामी जसले लिने हो उसैले स्रोतको व्यवस्थापन मिलाएर आउनुपर्छ ।
यस्तो अवस्थामा एउटा सम्पत्ति बिक्री गरेर अर्को खरिद गर्ने पनि हुनसक्छ । अन्यथा लिलामी गर्दैमा नहुन पनि सक्ने बुझाई बैंकर्स संघका अध्यक्षको छ ।
असार मसान्तको चटारोले प्राथमिकता ऋण लगानीभन्दा पनि ब्यालेन्ससिट मेन्टन गर्नुमा हुने हुँदा यो बेला ठूलो लिलामीमा ऋण प्रवाह हुने सम्भावना न्यून हुने तर्क पनि बैंकर्स संघका अध्यक्ष उपाध्यायको छ ।
उनका अनुसार मौद्रिक नीतिपछि बैंक कसरी जाने भन्ने स्पष्ट हुन्छ भने सोहीअनुसारको रणनीति बनाउनुपर्ने हुन्छ ।
यद्यपि आ–आफ्नो अवस्थाअनुसार बैंकले लगानी गर्न सक्ने हुँदा अहिले नै हतार गरेर आकलन गर्न नहुने तर्क उपाध्यायको छ ।
बैंकहरूमा यो वर्ष ५ प्रतिशतले मात्रै निक्षेप बढ्दा कर्जा वृद्धि भने १४ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थामा पैसा नभई बजारमा जाँदैन ।
पैसा बजारमा नगएसम्म त्यसको प्रभावकारिता हुँदैन । त्यसो हुँदा अहिले तरलता अभाव र आवको अन्तिममा आएका लिलामीमा लगानी जुट्न चुनौतीपूर्ण छ ।
यस्तो अवस्थमा कसैले पैसा जुटाउन नसकेको लिलामी नहुने पनि हुन सक्छ । बैंकहरूले गरेको लिलामी एकपटकमा नहुँदा पटक–पटक सूचना जारी गर्नु परिरहेको पनि छ ।