१२ असार २०८३, शुक्रबार
कांग्रेसमा उकुसमुकुस

कांग्रेस महामन्त्रीद्वयको फेरिएको रणनीति : सभापतिसँग संवाद मात्रै होइन, अब संघर्ष पनि

साउन २, २०७९
कांग्रेस महामन्त्रीद्वयको फेरिएको रणनीति : सभापतिसँग संवाद मात्रै होइन, अब संघर्ष पनि

कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद र सहकार्यको नीतिमा काम गरिरहेका कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले रणनीति बदलेका छन् । 

उनीहरूले पार्टी सभापतिमाथि दबाबको नीति अख्तियार गरेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठकमा थापा र शर्माले पार्टी सभापति देउवाको खुलेर आलोचना गरे ।

१४ औं महाधिवेशन सम्पन्न भएको ७ महिना बितिसक्दा पनि पार्टीलाई विधिअनुसार अघि बढाउने काममा सभापतिले उदासीनता देखाएपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले भेटेरै देउवालाई झक्झक्याएका थिए । 

वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न लागेको भन्दै मस्यौदा सार्वजनिक भइसकेपछि गत असार ६ मा दुवै महामन्त्रीले बालुवाटार पुगेर देउवालाई भेटेका थिए । 

उक्त भेटमा एसपीपी सम्झौताको बारेमा वास्तविकता सार्वजनिक गर्न, सम्झौता अघि नबढाउन र पार्टीलाई विधानअनुसार अघि बढाउन उनीहरूले देउवालाई आग्रह गरेका थिए । तर, भेटमा देउवाले दुवै महामन्त्रीसँग आक्रोश व्यक्त गरेको र उक्त भेट सौहार्दपूर्ण नभएको महामन्त्री निकट स्रोतहरूले बताएका छन् । 

पार्टीको नीति महाधिवेशनबारे उदासीनता व्यक्त गरेको, विभागहरू गठनमा बेवास्ता गरेको, भ्रातृ संघ–संस्था पूर्णताबारे पनि सभापतिले ध्यान नदिएको भन्दै महामन्त्रीहरूले देउवाको ध्यानाकर्षण गराएका थिए । तर, देउवा भने दुवै महामन्त्रीमाथि खनिएको कांग्रेस स्रोत बताउँछ । 

त्यसैबेलादेखि थापा र शर्मा सभापति देउवाप्रतिको रणनीति बदल्ने निष्कर्षमा पुगेको उनीहरू निकट कांग्रेसका नेताहरू बताउँछन् । सभापतिले आफूहरूलाई हेपेको अर्थमा दुवै महामन्त्रीले बुझेका छन् भने देउवाले चाहिँ महामन्त्रीहरूले आफूलाई सार्वजनिकरूपमा आलोचित बनाउने प्रयास गरेको बताउने गरेका छन् । 

संसदमा गगन थापाले सरकारको बजेटमाथि टिप्पणी गरेकोमा पनि देउवा खुशी छैनन् । सत्तारूढ दलको महामन्त्रीले बजेटको पक्षपोषण गर्नुपर्नेमा आलोचना गरेको भन्दै देउवाले गगनको आलोचना गर्ने गरेको कांग्रेसका नेताहरू बताउँछन् ।

कांग्रेसको विधानमा महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने व्यवस्था छ । तर, सभापतिले तदारुकता नदेखाउँदा त्यो काम ७ महिनामा पनि हुन सकेको छैन ।

विधानअनुसार संगठनको अंगहरू तयार नहुँदा दुई युवा महामन्त्रीहरूको कार्यक्षमतामा पनि प्रश्न उठ्न थालेको थियो । आफूहरूमाथि नेता/कार्यकर्ताले प्रश्न थालेपछि उनीहरूलाई देउवालाई घच्घच्याएका थिए । तर, सभापति देउवासँग महामन्त्रीहरूको पछिल्लो भेट सौहार्दपूर्ण नभई नोकझोकमा बदलिने गरेको कांग्रेसका नेताहरू बताउँछन् । सभापति र महामन्त्रीबीचको नोकझोक केन्द्रीय समितिको शनिवारको बैठकमा पनि देखिएको थियो । 

कांग्रेस महामन्त्री गगन थापाले केही समय अघि हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिँदै सभापति देउवाप्रतिको रणनीति बदल्नुपर्ने अवस्था आएको बताएका थिए । थापाले त्यसबेला भनेका थिए, ‘हार्दिकतापूर्वक काम गर्न पाए हुन्थ्यो । बाहिर बोल्न नपरे हुन्थ्यो । पार्टी सभापतिको कामको बाहिर आएर प्रतिरक्षा गर्न पाए हुन्थ्यो भन्ने थियो । बन्द कोठाभित्र त्यही कुराका लागि प्रयास गर्‍यौं । त्यो शैली नभएपछि अब अर्को शैली अवलम्बन गर्नै पर्छ ।’

शैली बदल्ने कुरामा दुई महामन्त्री सहमत भएको पनि थापाले बताएका थिए । उनले भनेका थिए, ‘पार्टीलाई विधिसम्मत चलाउन अब आन्तरिक छलफल, भेला र बैठक हुन्छ । महामन्त्रीको जिम्मेवारी निर्वाह गर्ने कुुरामा दुईजना बसेर सभापतिबाट  परिणाम निकाल्ने गरी अब अलि शैली बदल्नु पर्छ भनेर प्रशस्त छलफल गरेका छौँ ।’

उनीहरूले संवादको शैलीलाई संघर्षमा बदलेको भाव जारी केन्द्रीय कमिटीको बैठकमा देखिएको छ । 

केन्द्रीय कमिटीको बैठकमा देउवा पक्षका केही केन्द्रीय सदस्यले महामन्त्रीद्वयको आलोचना गरेका थिए । सार्वजनिक खपतका लागि सञ्चार माध्यममा पार्टीको आलोचना गरेको र सभापतिलाई असहयोग गरेको आरोप उनीहरूलाई लगाएका थिए । गगन थापाले संस्थापन इतर खेमाको गुटको बैठकमा सहभागी भएको भनेर पनि केन्द्रीय कमिटी बैठकमा विषय उठान भएको थियो । 

शनिबारको बैठकमा थापाले सबै विषयको खुलेर प्रतिवाद गरेका छन् । उनले कांग्रेस नेतृत्वको सरकारको बचाउ गर्ने ठाउँ नै नभएको भन्दै प्रधानमन्त्री समेत रहेको देउवाको आलोचना गरेका थिए ।

थापाले बैठकमा भनेका थिए, ‘हिजो सरकार कसरी चलाउने हामी देखाउँछौ भनेर संसदमा भन्यौं । तर, आज हामीले सरकारको प्रतिरक्षा गर्ने अवस्था छ ? हिजो ओली सरकारको तीव्र आलोचना गर्‍यौं । आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’

पार्टी चलाउने विषयमा पनि देउवा उदासीन भएको थापाले बैठकमा बताएका थिए । उनले भने, ‘कांग्रेसको विधानले सभापतिले गर्ने भनेर १३ वटा काम तोकेको छ । सभापतिले चाहेको भए उक्त काम एक हप्ताभित्र टुंगो लगाउन सक्नुहुन्थ्यो । सभापतिले यो काम नगर्ने भए महामन्त्रीलाई अख्तियारी दिनुहोस् । हामी गरेर देखाउँछौं ।’

कांग्रेसको भातृ संस्था, शुभेच्छुक संस्था बनाउँदा सभापतिको खेमाकै हुनुपर्ने ? भन्दै प्रश्न गरेका थापाले सुशील कोइरालाको समयमा भ्रातृ संस्थाको विषयलाई लिएर देउवाले राजीनामा दिएको विषय पनि सम्झाएका थिए ।

संस्थापन इतरको भेलामा गएको भन्दै केन्द्रीय सदस्यले गरेको आलोचनामा महामन्त्री थापाले सभापतिले पार्टीमा घर नदिएपछि पार्टी प्यालेसमा बैठक बसेको बताएका थिए । 

बैठकमा आक्रामक शैलीमा प्रस्तुत भएका थापाले भनेका  थिए, ‘बूढानीलकण्ठमा गुटको बैठक बसेर यहाँ आइपुगेकाहरूले पार्टी प्यालेसमा बैठक बसेको भनेर चिच्याउने ? घर हुनेले घरमा बस्छ, नहुने पार्टी प्यालेसमा बस्छ ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बैठकमा सभापति देउवाको आलोचना गरेका थिए । 

भ्रातृ संस्थाको नेतृत्व चयन गर्न तदारुकता नदेखाएको, पार्टीका सह–महामन्त्रीहरूलाई जिम्मेवारी नदिएको, फरक मत राख्नेहरूलाई बेवास्ता गरेको भन्दै शर्माले सभापति देउवाको आलोचना गरेका थिए । 

उनले पार्टी सभापतिलाई असहयोग गरेको आरोपबारे पनि बैठकमा प्रस्टीकरण दिएका थिए । उनले भनेका थिए, ‘विभाग ६ महिनामा बनाउने वैधानिक व्यवस्था छ त्यसअनुसार बनाऔं भन्नु र बनाउनु सभापतिलाई सहयोग हो कि असहयोग हो ? हजारौं युवा जिम्मेवारीविहीन छन् । भ्रातृ संस्थालाई पूर्णता दिएर सबैलाई परिचालित गरौं भन्नु असहयोग हो ? विरोध हो ? कि संगठनको काममा गति दिऊँ भन्ने भावना हो ?’

शर्माले पनि देउवा नेतृत्वको सरकारको कामको खुलेर आलोचना गरेका थिए । सरकारले गल्ति सच्याउन नचाहेको शर्माको आरोप थियो । नेपालको आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गर्नुपर्ने, केपी ओली नेतृत्वको सरकारको बेलामा प्रधानमन्त्री कार्यालयमा गाभिएका संस्थाहरूलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने लगायतको काम सरकारले गर्न नसकेको शर्माको भनाई थियो ।

दुई महामन्त्रीको कुरा सुनेपछि सभापति देउवाले पनि आफूलाई खेद्ने काम नगर्न भनेका थिए ।

सबै केन्द्रीय सदस्यको सामु पार्टी सभापतिविरूद्ध मुख खोलेका दुई महामन्त्रीले आगामी दिनमा पार्टीलाई विधिअनुसार चलाउन आवश्यक परे सभापतिसँग संघर्ष गर्ने सन्देश दिएका छन् ।

महामन्त्रीद्वयको यो फेरिएको शैलीलाई सभापति देउवाले कसरी ट्याकल गर्छन् उनको आगामी कार्यशैलीले बताउने छ । 

salt training

कमेन्ट गर्नुहोस्