
नवलपरासी जिल्ला पहिलो कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको छ । कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको सोमवार बसेको बैठकले जिल्लालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले ७ वटै पालिकामा १२ वर्षभन्दा माथिका सबै नागरिकहरूरुले खोपको मात्र पूरा गरेकाले जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको बताए । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । कोभिडविरुद्धको पूर्ण खोप घोषणामा नवलपरासी जिल्ला नेपालमै पहिलो बन्न सफल भएको उनले बताए ।
साउन ५ गतेभित्र सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि सोमवारबाट जिल्लालाई नै पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानालयले घोषणाका लागि सबै प्रक्रिया पूरा भएको प्रमाणित गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय प्रमुख ओम प्रकाश पंथीका अनुसार जिल्लाका ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, नियमित खोपतर्फ पनि सोमवार नै जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनाका बालबालिकाहरुले लगाउने १३ प्रकारका सबै खोप लगाएपछि जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेकी हुन् ।
नियमित खोपतर्फ पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको नवलपरासी भने नेपालमा पहिलो होइन । यसअघि अन्य जिल्लाहरु नियमित खोपमा पूर्ण खोप घोषणा भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । १६ देखि २३ महिनाका बालबालिकाहरुले खोप पाए÷नपाएको बारे गरिएको सर्वेक्षणमा १५ महिनासम्मका बालबालिकाहरुले पूरा खोप लगाएको पाइएपछि पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको हो । नियमिततर्फ ति उमेर समूहका कुल ४ हजार ८ सय ७ जना सबै बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।