
ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोमा नवदुर्गा भवानी देवी नाच शुरू भएको छ । १२ वर्षमा एकचोटी हुने यो नाच शनिवारदेखि शुरू भएको हो । जात्रा झण्डै वर्षभरि नै चल्ने गर्दछ ।
२०७९ साउन १० गते गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । मन्दिरमा ताल्चा १२ वर्षे जात्राको क्रममा एक पटक मात्र लगाइन्छ । अन्य वर्षहरूमा ३ सय ६४ दिन नै खुला राख्ने परम्परा छ । यसरी लगाएको ताल्चा अब यही भाद्र ९ गते जुगचह्रे तिथिमा पूजाआजा गरी खोलिने छ ।
जात्रा शुरू भएसँगै ठेचो बस्तीमा भोजभतेर, बिहे, व्रतबन्ध निषेध हुन्छ । पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा झुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिँडडुल गर्न, सिट्टी, ताली, घण्ट बजाउन पाइँदैन ।
नवदुर्गा गुठीको आफ्नो बाजाबाहेक अन्य बाजागाजा बजाउन मिल्दैन । नवदुर्गाको पर्व–पूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदुर्गा गुठीको धुःखःनामक नाच सम्पन्न नभएसम्म लागू हुन्छ । धुःखःनामक नाच फागुन÷चैत तिर हुने गर्दछ ।
नवदुर्गा नाचमा १३ देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । नवदुर्गा गुठीमा ३४ जना गुठीयार छन् । परम्पराअनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास छ ।

देवगणहरुको तान्त्रिक र यान्त्रिकतवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गर्दछन् । इन्द्रायणी देवीको भने नृत्य गराइँदैन । श्वेत भैरव नृत्य १२ वर्षमा एक पटक मात्र गराइन्छ । प्राय श्वेत भैरव नाच दसै पछि साइत हेरी नचाउँदै आएको पाइन्छ ।
यो नाच पाटन दरबार क्षेत्रका लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पायो जात्रा) सँग पनि प्रत्येक्ष सम्बन्ध रहेको छ । भाषा वंशावलीमा उल्लेख भएअनुसार पाटन दरबारक्षेत्र केन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको पाइन्छ ।
वंशावलीमा ‘यिनी राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मूःस्वाँ नामक पुष्पका निमित्त मालीजात प्रख्यात गरेको’ उल्लेख छ । राजा मानदेवको पालामा मू छेआँगम घर स्थापना गरी खड्ग जात्रा चलाएको कुरा वंशावलीमा उल्लेख छ ।

जात्राको अर्को मुख्य आर्कषण सुनाकोठीमा गरिने कुल्पी यज्ञ पनि हो । रातभरि यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गलगायत गरगहनामा साधन गरी देवता प्रतिष्ठापन गर्ने गरिन्छ । नवदुर्गा गण र ठेचोबारेमा देवमाला वंशावलीमा यस्तो लेखिएको छ, ‘नेपाली सम्वत सालमा श्री राजाका पालामा श्री श्री नवदुर्गा जगाई ७०० घरको सहर बनाई प्रतिवर्ष नवदुर्गाको नाच पाटनमा दशैका टिकाको दिनल्याई श्री मनमानेश्वरीको स्वेष्ट देवतालाई भैरव कालीबाराही ३ जनाले फुलको मालालगाई पाटनको मूल चाकेमा नाच नचाउने समेत रीत चलाएको आजसम्म चलेकै छ ।’
ठेचोमा माथिल्लो लाछी टोलमा रहेको बालकुमारी मन्दिर केन्द्रित मूल ४ वटा गुठी छन् । तल्लो लाछी टोलस्थित ब्रम्हायणी मन्दिर केन्द्रित मूल ३ वटा गुठी छन् । जुन गुठीहरुले माथिल्लो लाछी र तल्लो लाछीमा भिन्नभिन्न वा ःखनामक नाच देखाउदा सम्पूर्ण पुजा सामाग्री दिने गर्दछ ।

१२ वर्षे जात्रा सञ्चालन गर्न गोदावरी नगरपालिकाकाबाट मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा २७ जनाको मूल व्यवस्थापन समिति गठन भएको छ । उपसंयोजकहरुमा गोदावरी नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष जगतबहादुर महर्जन, नवदुर्गा गुठीका नाइके भक्तलाल माली, नवदुर्गा भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली छन् । यसमा आर्थिक संयोजक धर्मराज माली, प्रचार प्रसार संयोजक विकास माली र स्वयेमसेवक संयोजक राजन्द्र माली रहेको नवदुर्गा भवानी देवी गुठीले जनाएको छ ।
नेपालका प्रसिद्ध नाचहरूमध्ये ललितपुर गोदावरवी नगरपालिका–१२ ठेचोको नवदुर्गा भवानी देवीको यो नाच पनि एक हो । यसबाहेक नेपाल मण्डलमा काठमाडौंको भद्रकाली खड्गी सिद्धि नाच, पचली भैरव नाच, नरदेवी नाच, देवी नाच, कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा, बोडेको निलबाराही, ललितपुरको हरिसिद्धि भवानी देवी नाच र खोकनाको रूद्रायणी नाच प्रख्यात छन् । प्रत्येक नाचको १२ वर्षे जात्राको आ–आफ्नो विषेशता छन् ।