
म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरुआत भएको छ । विसं २०६८ मा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गमा पर्यटकलाई आवतजावतका लागि पदमार्ग निर्माणले तीव्रता पाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट आइसफल पदमार्ग निर्माण सुरु गरिएको हो ।
पर्यटन विभागसँग दुई प्याकेजमा रु ७७÷७७ लाखमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले कार्यक्षेत्रमा आएर स्थलगत नाप जाँचसहित पदमार्ग निर्माण सुरु गरेको कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले बताए । उनका अनुसार, यस वर्ष रु एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौता भएको छ । आगामी असारभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि पदमार्ग निर्माणको कामअघि बढेको कम्पनीले जनाएको छ । पदमार्गअन्तर्गत रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधारा क्षेत्रमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण सुरु भएको छ । तीन सातादेखि चिमखोलाका २४ ओढारमा बास बसेर पदमार्ग निर्माण गरिरहेका छन् । तीन सातामा ससलधाराको उकालोमा करिब तीन सय मिटर ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको चिमखोलाका अगुवा गम पुनले बताए ।
यस क्षेत्रमा कूल एक सय ७३ किलोमिटर लामो पदमार्गको डिपीआर गरिएको र सोही बमोजिम पदमार्गलगायत पर्यटन पूर्वाधार निर्माणमा सङ्घ र प्रदेश सरकारसँग निरन्तर पहल गरिएको उनको भनाइ छ ।