
बेलायतमा १५ वर्ष भन्दा बढी समय पण्डित्याइँ गरेर कमाएको पैसालाई नेपालमै सदुपयोग गर्ने र सफल कृषि व्यवसायी बन्ने मेघनाथको सपना चकनाचुर भएको छ ।
नेपालमै कृषि कर्म गर्ने र सफल व्यवसायी बन्ने सोचाइ राखेर स्वदेश फर्किएका चितवन टाँडीका मेघनाथ सुवेदीको ५०० वटा गाई पाल्ने सपना टुटेको हो । उनले गाई फार्म सञ्चालन गर्न कृषि विकास बैंकबाट डेढ वर्ष अगाडि लिएको ऋण तिर्न नसकेपछि बैंकले उनको सारा सम्पत्ति लिलामीमा राखेको छ ।
सुवेदीले सूर्य मामाभाञ्जा गाई फार्मका लागि लिएको ऋण तिर्न नसकेपछि न उनको व्यवसाय हुन सक्यो न त सम्पत्ति नै रहने भयो । गाई फार्म चलाउन कृषि विकास बैंकबाट लिएको १५ करोड ८६ लाख रुपैयाँ तिर्न नसकेपछि सुवेदी र उनको फार्मको नाममा रहेको चितवनको विभिन्न स्थानका २३ कित्ता जग्गासहितको सम्पत्ति लिलामीमा चढेको हो ।
सुवेदी ३ वर्ष अगाडि नेपालमै नमूना गाई फार्म सञ्चालन गर्ने र कृषि पेशामा महत्त्वपूर्ण योगदान गर्ने उद्देश्य बोकेर नेपाल फर्किएका थिए । १५ वर्षभन्दा बढी समय बेलायतमा पण्डित्याइँ गर्दै आएका सुवेदीले काठमाडौंकी सुनिता पण्डितलाई व्यावसायिक साझेदार बनाएर चितवनमै गाई फार्म शुरू गरेका थिए । १७५ वटा गाई पुर्याइसकेका सुवेदीको व्यावसायिक योजना ५०० सय गाई पुर्याउने थियो ।
उनको उपयुक्त व्यावसायिक योजनालाई पत्याएर एनआईसी एशिया बैंकले त्यतिबेला १० करोड रुपैयाँ ऋण पत्याएको गरेको थियो ।
निजी बैंकबाट लिएको ऋणको ब्याज महंगो भयो भनेर त्यो ऋणलाई सुवेदीले डेढ वर्ष अगाडि मात्रै कृषि विकास बैंकमा सारेका थिए ।
सरकारले कृषिमा ब्याज अनुदान दिएकाले सुवेदीले सहुलियत कर्जामा ऋण पाएका थिए । उनले त्यो कर्जाको सदुपयोग गरेर व्यवसाय विस्तार गर्न सकेनन् । उनको व्यावसायिक योजना उपयुक्त लागेर एनआईसी एसिया बैंकले दिएको ऋणमा अझै पैसा थपेर कृषि विकास बैंकले उनको फार्ममा लगानी गरेको थियो ।
विडम्बना कृषि विकास बैंकबाट ऋण लिएपनि सुवेदीले एउटा पनि किस्ता तिरेनन् । बैंकको ऋण नतिरेपछि पटक–पटक ताकेता र प्रशस्त समय दिएर ऋण तिर्न बैंकले आग्रह गर्यो ।
बैंकको आग्रहलाई बेवास्ता गरेपछि उनले ऋण लिँदा राखेको धितो २९ साउनमा लिलामीमा राखिएको हो ।
कृषि विकास बैंकले यसअघि २५ जेठमै लिलामीको प्रक्रिया अगाडि बढाएको थियो । त्यतिबेला सुवेदीले नै उच्च अदालत पाटमा मुद्दा हालेर धितो रोक्का गर्न माग गरे ।
अदालतले २८ असारमा मात्रै लिलामी रोक्नु पर्ने आदेश दिएपछि पुनः ३५ दिने सूचना जारी गरेको कृषि विकास बैंकले जानकारी दिएको छ ।
कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार सुवेदीले बैंकको ऋण तिर्न बेवास्ता गरेको र बैंकको सम्पर्कमै आउन छाडेपछि धितो लिलामी गरेर कर्जा असुलको प्रक्रिया अगाडि बढाइएको हो ।
पौडेलले भने, ‘बैंकको ऋण नतिरेपछि धितो राखिएको सम्पत्ति लिलामी गरेर कर्जा लगानी उठाउन उठाउन खोजिएको हो । यो गाई फार्मका लागि लिएको ऋणको एउटा पनि किस्ता नआएपछि बैंकले आवश्यक प्रक्रिया पूरा गरेर लिलामीको प्रक्रिया अगाडि बढाएको उनले बताए ।
बैंकका अनुसार उक्त गाई फार्मले पेश गरेको योजना उपयुक्त भएरै ऋण लगानी भएको थियो । गाई फार्मले पेश गरेको योजनाअनुसार काम नगर्दा यसको लगानी डुबेको छ ।
गाई फार्म र सञ्चालकको नाममा रहेको जग्गा लिलामीबाट अब बैंकले ऋण उठाउने तयारी गरेको छ ।
कृषि विकासबाटै गाई फार्मका साथै सूर्या आयुर्वेदिक प्रालि चलाउन लिएको ऋण पनि उनीहरूले तिर्न सकेनन् ।
सूर्या आयुर्वेदिक चलाउन लिएको २ करोड ५१ लाख ९३ हजार तिर्न नसकेपछि उक्त आयुर्वेद उद्योगको नाममा रहेको सम्पत्तिसमेत लिलामीमा परेको छ ।
यो आयुर्वेद उद्योगमा उनै गाई फार्मकी साझेदार सुनिता पण्डित सञ्चालिका हुन् । उनलाई मेघनाथसहित अनिस र अमित पण्डितले धितो जमानीका रूपमा साथ दिएका थिए ।