०८ साउन २०८३, शुक्रबार
संसदीय निर्वाचन

प्रदेश मन्त्रीहरूको चुनावी तयारी– दाबी संघका लागि, सम्भावना फेरि प्रदेशमा

भदौ २०, २०७९
प्रदेश मन्त्रीहरूको चुनावी तयारी– दाबी संघका लागि, सम्भावना फेरि प्रदेशमा

सरकारले घोषणा गरेकै मितिमा निर्वाचन भए प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अढाइ महिना मात्रै बाँकी छ । 

अहिले टिकट लिनका लागि नेताहरूको दौडधुप चलिरहेको छ । अझ गठबन्धन हुने भएपछि आफ्नो क्षेत्र कसरी सुरक्षित गर्ने भनेर नेताहरू लागिपरेका छन् ।

भागबन्डामा पार्टीको भागमा आफ्नो क्षेत्र पार्ने कसरतमा नेतादेखि सांसदसम्म लागिपरेका छन् । प्रदेश १ का मन्त्रीहरूले पनि संघ नभए प्रदेशमै उठ्ने गरी लबिङ शुरू गरेका छन् । 

प्रदेश १ मा एक राज्यमन्त्रीसहित १४ जना मन्त्री छन् । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको नेतृत्वमा प्रदेश सरकार छ ।

प्रदेश १ सरकारको नेतृत्व नेकपा (एस)का केन्द्रीय सचिव राजेन्द्र राईको नेतृत्वमा रहेको छ । राईसहित प्रदेश १ मा (एस)का ४ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री राईले संघमा उठ्ने तयारी गरिरहेका छन् ।

उनको नाम प्रतिनिधिसभाका लागि गृहजिल्ला भोजपुर र सुनसरी– १ बाट सिफारिश भइसकेको छ । 

उनले गृहजिल्ला भोजपुरबाटै चुनावमा उठ्ने समेत बताएका छन् । भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराँती बहालवाला सांसद हुन । उनले पनि भोजपुर नछाड्ने बताएका छन् ।

गत चुनावमा अजम्बर काङवाङ राईलाई राजेन्द्रले हराएका थिए । अजम्बर त्यति बेला जसपामा थिए भने अहिले माओवादीमा छन् ।

मुख्यमन्त्री राई १९ हजार २९७ मत ल्याएर विजयी बन्दा अजम्बरले ११ हजार ५४१ मत ल्याएका थिए । गत चुनावमा वाम गठबन्धन भएको थियो भने भोजपुरमा कांग्रेसले अजम्बरलाई सघाएको थियो । 

संघमा नै उठ्ने भनेर दाबी गरे पनि मुख्यमन्त्री राईले संघमा माओवादीको भागमा भोजपुर परे प्रदेशमा उठ्ने समेत तयारी गरिरहेका छन् ।

उनले केही दिनअघि फेसबूकमा स्टाटस लेख्दै भोजपुर नछाड्ने बताउनुले पनि प्रदेशमै उठ्ने तयारी रहेको संकेत गर्छ ।

उनले लेखेका छन्, ‘म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले सधैँ मान्नुपर्छ । र, अहिले खास उद्देश्यका लागि हाम्रो पार्टी गठबन्धनमा छ । गठबन्धनबाटै चुनाव लड्ने निर्णयमा छ, त्यसैले उम्मेदवारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु । गठबन्धनभित्र उछिनपाछिन गर्ने पक्षमा म छैन । र, नेताले चुनाव लड्नैपर्छ, सांसद बन्नैपर्छ भन्ने पनि छैन । पार्टी र गठबन्धनले मलाई उम्मेदवार नबनाउने निर्णय गर्‍यो भने म उम्मेदवार नबन्न तयार छु ।’

निकट स्रोतका अनुसार उनले प्रदेशमा उठ्ने संकेत गर्दै यो स्टाटस लेखेका हुन् । 

प्रदेशमा उठ्दा गत चुनावमा भन्दा बढी मत ल्याउने उनको दाबी रहेको छ । मुख्यमन्त्री भएपछि आफ्नो क्षेत्रमा गरेको विकास नै चुनाव जित्ने आधार रहेको उनको दाबी छ । संंघमा माओवादीले पाए प्रदेश १ (क)मा कांग्रेस र प्रदेश १ (ख)मा उनले टिकट पाउने छन् । 

नेकपा एसका अन्य दुई जनाको नाम सिफारिश भएको छ । सामाजिक विकास मन्त्री राजन राईको नाम खोटाङबाट प्रतिनिधिसभामा सिफारिश भएको छ । गत चुनावमा कांग्रेसका सुवासकुमार पोख्रेललाई हराउँदै उनी विजयी भएका थिए । राजनले १८ हजार ९३३ मत ल्याउँदा पोख्रेलले १३ हजार ४११ मत ल्याएका थिए । राजन पनि प्रतिनिधिसभामा टिकट नपाए प्रदेशमै उठ्ने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ । 

यस्तै इलाम १ (क)बाट संस्कृति तथा पर्यटन मन्त्री खिनुलङ्वा लिम्बूको नाम सिफारिश भइसकेको छ । संघमा भने झलनाथ खनालको नाम सिफारिश भएकाले उनले प्रदेशमै उठ्ने इच्छा देखाएकी छिन् । गत चुनावमा खिनु १८ हजार ६८६ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्रकुमार राईले ९ हजार ३२७ मत मात्रै ल्याएका थिए । 

नेकपा एसबाट नै यातायात तथा सञ्चार मन्त्री बनेका उपेन्द्रप्रसाद घिमिरेले मोरङ क्षेत्र नम्बर १ बाट संघमा उठ्ने इच्छा देखाएका छन् । उर्लाबारी, मिक्लाजुङ तथा केराबारी गाउँपालिका यस क्षेत्रमा पर्छ । स्थानीय तहको निर्वाचनमा अन्य क्षेत्रभन्दा राम्रो मत आएकाले पनि गठबन्धन हुँदा मोरङ क्षेत्र नम्बर १ समाजवादीको भागमा पर्ने उनको दाबी रहेको छ । 

मोरङ क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले भने उम्मेदवारको नाम सिफारिश गरिसकेको छैन । संघमा नभए प्रदेशमै उठ्ने तयारीमा उनी रहेको निकट स्रोतले जनाएको छ । २०७४ को निर्वाचनमा घिमिरे १७ हजार ११७ मत ल्याएर विजयी बन्दा कांग्रेसका ईश्वरी कोइरालाले १४ हजार ३१० मत ल्याएका थिए । कोइरालाको निधन भइसकेको छ । 

प्रदेश १ मा माओवादीका ३ जना मन्त्री छन् । प्रदेश १ कै पावरफूल मन्त्रीका रूपमा इन्द्रबहादुर आङ्वोलाई लिने गरिन्छ । उनी शेरधन राईको पालामा आर्थिक मामिला तथा योजना मन्त्री थिए भने राजेन्द्र राईको पालामा पनि त्यही मन्त्रालय पाए । नेकपामा आएको विवादका कारण शेरधनले उनलाई सरकारबाट हटाएका थिए । 

प्रदेशमा दुईपटक मन्त्री भएकाले अब मुख्यमन्त्री दिने भए मात्रै प्रदेशमा दोहोरिने शर्त उनले नेताहरू समक्ष राखेका छन् । संघमा बार्गेनिङ गरेर मुख्यमन्त्री बन्ने दाउमा आङ्वो रहेको उनी निकट स्रोतले जनाएको छ । अघिल्लोपटक आङ्वो १६ हजार ९०८ मत ल्याएर विजयी बन्दा कांग्रेसका सुरेन्द्र दाहालले १२ हजार ११७ मत ल्याएका थिए । 

माओवादीबाटै प्रतिनिधित्व गर्ने खानेपानी मन्त्री रामकुमार राई खोटाङ १ (ख) बाट निर्वाचित भएका हुन् । आफ्नो इच्छा संघमा भए पनि पार्टीको निर्णयानुसार अगाडि बढ्ने उनले बताएका छन् । अघिल्लोपटक उनले १८ हजार ३७२ मत पाउँदा कांग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत पाएका थिए ।

यस्तै झापा ४ (क) बाट निर्वाचित भएका झलकसिंह दर्लामी मगर कृषि मन्त्री छन् । उनी संघमा उठ्ने सम्भावना न्यून रहेको माओवादी केन्द्रका प्रदेश स्तरका एक नेताले बताए ।

ती नेताका अनुसार माओवादी केन्द्रले झापामा क्षेत्र नम्बर ५ अर्थात एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गठबन्धनमा दाबी गर्नेछ । अर्को क्षेत्र माओवादीले पाउने सम्भावना कम रहेकाले उनी संघका लागि उम्मेदवार बन्ने सम्भावना नगण्य छ ।

जनता समाजवादीका जयराम यादव प्रदेश १ का स्वास्थ्य मन्त्री हुन् । संविधानसभाका सदस्य समेत रहेका यादवले पाटीको निर्णयानुसार गर्ने बताएका छन् । ‘मेरो इच्छा संघमा हो तर म स्वतन्त्र होइन,’ उनले भने, ‘पार्टीले जे भन्छ, त्यही गर्छु ।’ समाजवादीका नेताका अनुसार उनी प्रदेशसभामै उठ्न तयारीमा लागिसकेका छन् । 

प्रदेश १ को दोस्रो दोस्रो ठूलो दल नेपाली कांग्रेसका ५ जना मन्त्री छन् । सडक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीको नेतृत्वमा कांग्रेसले सरकारमा पठाएको थियो । उदयपुर क्षेत्र नम्बर २ को १ (ख) बाट उनी निर्वाचित भएका हुन् । सो क्षेत्रमा माओवादीका हिमाल राई निर्वाचित भएका हुन् । 

प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाका विश्वास पात्र मानिएका कार्की प्रदेशमै उठेर मुख्यमन्त्री बन्ने दाउमा रहेका छन् । गत चुनावमा उनले १६ हजार ७०२ मत ल्याउँदा माओवादी केन्द्रका रामबहादुर थापा मगरले १५ हजार १९४ मत प्राप्त गरेका थिए । 

कांग्रेसकै केदार कार्की आन्तरिक मामिला तथा कानून मन्त्री छन् । उनी संस्थापन इतर समूहका हुन् । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट निर्वाचित कार्की प्रदेशमा उठ्ने लगभग पक्का जस्तै छ ।

क्षेत्र नम्बर –६ मा प्रतिनिधिसभामा नेता शेखर कोइरालाले टिकट पाउने लगभग पक्का छ । गठबन्धन भए ६ कै १ (क) बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्यले टिकट पाउने सम्भावना छ । 

गत चुनावमा मन्त्री कार्कीले ११ हजार २९८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका रमेश पोख्रेलले ८ हजार १२० मत प्राप्त गरेका थिए ।  

वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापालाई मोरङ क्षेत्र नम्बर ३ (ख) बाट कांग्रेस क्षेत्रीय कमिटीले उम्मेदवारका रूपमा सिफारिश गरेको छ ।

झापाका ओमप्रकाश सरवगीले पनि संघमा टिकट पाउने सम्भावना कम देखिएको कांग्रेसकै नेताहरू बताउँछन् । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतापप्रकाश हाङगामको पनि संघमा जाने सम्भावना ज्यादै न्यून रहेको नेताहरूको भनाइ रहेको छ । 

यस्तै लोकतान्त्रिक राष्ट्रिय मञ्च एक्ली सांसद एवं सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे पनि प्रदेशमै उठ्ने तयारीमा छिन् ।

salt training

कमेन्ट गर्नुहोस्