
यूएईमा हजारौं मानिसले नयाँ हिन्दू मन्दिरको पहिलो झलक देखेका छन् ।
सेप्टेम्बर महिनामा खुलेको मन्दिरमा सबै धर्मावलम्बीहरू जान सक्छन् । मन्दिरमा १६ भगवानका मूर्ति छन् । पूजा गर्नेबाहेक अन्य मानिसलाई पनि मन्दिर जान अनुमति दिइएको छ ।
मन्दिरको भित्री भाग निकै सुन्दर छ । त्यसको मुख्य हलमा ईश्वरका मूर्तिहरू स्थापित छन् । हलमा ठूलो थ्रीडी प्रिन्टेड गुलाफी रंगको कमल छ ।
ईश्वर स्थापनाका बेलामा आयोजित कार्यक्रममा सहभागीहरूले मन्दिरको भित्री भाग हेर्न पाएका हुन् ।
जबेल अली नामक स्थानमा यो मन्दिर छ । त्यहाँ अनेकौं चर्च र गुरद्वारा पनि छन् ।
सेप्टेम्बर १ मा मन्दिर अनौपचारिक रूपमा खुलेको हो । क्यूआर सिस्टम उपयोग गरी भक्तजनले यस मन्दिरको दर्शन गरेका छन् ।
मन्दिर दर्शन गर्नका लागि सप्ताहान्तमा भीड हुने गरेको छ । भीड व्यवस्थापनका लागि क्यूआर सिस्टमको व्यवस्था गरिएको हो ।
मन्दिरमा अहिले निरन्तर मन्त्रोच्चारण गरिँदैछ । भारतबाट गएका १४ पण्डितले मन्त्रोच्चारण गरिरहेका छन् ।
बिहान साढे ७ बजेदेखि ११ बजेसम्म अनि अपराह्न साढे ३ बजेदेखि साढे ८ बजेसम्म मन्त्रोच्चारण गरिन्छ । दर्शनार्थीहरूले पनि मन्त्रोच्चारणमा सहभागी हुन पाउँछन् ।
अक्टोबर ५ देखि यो मन्दिर आधिकारिक रूपमा सबैका लागि खुल्नेछ । बिहान साढे ६ बजेदेखि राति ८ बजेसम्म मन्दिर खुला रहनेछ ।
अक्टोबरको अन्तिम दिनसम्मका लागि मन्दिर दर्शनको अपोइन्टमेन्ट फुल भइसकेको छ ।