
सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ मा मंसिर ४ मा हुने चुनावमा लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मुख्य प्रतिष्पर्धीका रूपमा छन् । सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा सिन्धुपाल्चोकको दुई वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ माओवादी केन्द्र र क्षेत्र नम्बर–२ कांग्रेसको भागमा परेको थियो ।
क्षेत्र नम्बर–१ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता माधव सापकोटा उम्मेदवार भएका छन् भने एमालेले सरेश नेपाललाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर–१ बाटै उम्मेदवार बन्न जोडबल गरेका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत भने क्षेत्र नम्बर–२ मा सरेर उम्मेदवार भएका छन् । क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यको लागि चुनाव लड्न सबै तयारी गरेका उनी उक्त क्षेत्र कांग्रेसको भागमा नपरेपछि अर्को निर्वाचन क्षेत्रमा सरेका हुन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा मतको हिसाबले मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै हो । तर, गठबन्धनका कारण उक्त क्षेत्रमा कांग्रेसको उम्मेदवार छैन । एमालेले भने कांग्रेसको उम्मेदवार नहुनुलाई अवसरको रूपमा लिएको छ ।
२०७४ को चुनावमा एमालेको सहयोगमा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले क्षेत्र नम्बर–१ बाट चुनाव जितेका थिए । सापकोटाले कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतलाई पराजित गरेका थिए ।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ को निर्वाचन नतिजा एमालेको लागि जित र हारको नतिजा बराबरीजस्तै छ । २०४८ को चुनावमा उक्त क्षेत्रबाट एमालेका अमृतकुमार बोहोराले कांग्रेसका बस्नेतलाई पराजित गरेका थिए । त्यसबेला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणा पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने गरेका थिए । ०५१ को मध्यावधि चुनाव पनि एमालेका बोहोराले नै जिते ।
२०५६ मा भने सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट एमालेले चुनाव हार्यो । कांग्रेसका बस्नेत सांसद बने । त्यसपछि, लामो समय चुनाव नै हुन पाएन । ०६४ को पहिलो संविधान सभा चुनावबाट भने सिन्धुपाल्चोकमा माओवादी केन्द्रको उदय भयो । त्यसबेलाको क्षेत्र नम्बर–२ बाट अग्नि सापकोटाले चुनाव जितेका थिए । २०७० मा भएको चुनावमा भने एमालेका उम्मेदवार अरुण नेपाल कांग्रेसका बस्नेतसँग ३२ मतले चुनाव हारेका थिए ।
२०७२ मा संविधान बनेपछि संघीय प्रणालीअनुसार निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा सिन्धुपाल्चोकमा क्षेत्र नम्बर–२ लाई १ र ३ मा बाँडेर दुई वटा मात्रै निर्वाचन क्षेत्र बनाइयो ।
२०७४ को चुनावमा एमाले र माओवादी केन्द्रले देशभर चुनावी गठबन्धन गरेको थियो । सिन्धुपाल्चोकको २ वटा निर्वाचन क्षेत्रमध्ये १ बाट सापकोटा र २ बाट शेरबहादुर तामाङले चुनाव जितेका थिए । त्यसबेला चुनाव जितेर सांसद भएका सापकोटा पछिल्लो समय प्रतिनिधि सभाको सभामुख बने । यस पटक भने उनले चुनाव नलड्ने भनेपछि उनका भतिज माधव सापकोटालाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ ।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावको मत परिणाम हेर्ने हो भने सिन्धुपाल्चोक–१ मा कांग्रेस पहिलो दल हो भने एमाले दोस्रो र माओवादी तेस्रो दल हो । कांग्रेसले ३४ हजार ७६१ मत पाउँदा एमालेले २७ हजार ५९ र माओवादी केन्द्रले १९ हजार ३४४ मत पाएको छ । पहिलो हैसियतमा रहेको कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार सापकोटालाई हँसिया–हथौडामा मतदान गर्नुपर्ने छ ।
नेकपा एमालेले उम्मेदवार बनाएका नेता सरेश नेपाल भने उक्त क्षेत्रमा स्थापित नेता हुन् । ०७४ को चुनावमा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका नेपाल बागमती प्रदेशको उद्योग वन तथा वातावरणमन्त्री भएका थिए । जिल्लामा उनी भूमिहीनका पक्षमा वकालत गर्ने अगुवाकारूपमा चिनिन्छन् ।

२०४० सालमा भएको पिस्कर हत्याकाण्डको विरोधपछि उनी तत्कालीन पञ्चायतको खोजीमा परेका थिए । त्यसबेला उनले लामो समय भूमिगत भएर राजनीतिक जीवन बिताए । नेपालले २०४० देखि ०४३ सालसम्म जेल जीवन पनि बिताएका छन् ।
०४८ सालको चुनावमा उनले सिन्धुपाल्चोक जिल्ला विकास समितिको उपसभापति र ०५३ सभापति निर्वाचित भए । त्यसपछि भने उनले २०७४ सम्म चुनाव लड्ने अवसर पाएनन् । २०७४ मा एमाले उनलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको थियो ।
अहिले नेकपा एमालेमा केन्द्रीय सदस्य रहेका नेपाल २०६१ मा भूमि अधिकार मञ्च सरोकार समूहका अध्यक्ष भएका थिए । सुकुम्बासी समस्या समाधान आयोगका पूर्वकेन्द्रीय सदस्य, नेकपा एमाले केन्द्रीय लेखा परीक्षण आयोग सदस्यको रूपमा नेपालले राजनीतिक भूमिका निर्वाह गरेका छन् ।
सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका माधव सापकोटा भने सानै उमेरबाट कम्युनिष्ट आन्दोलनमा सक्रिय भएका हुन् ।
सापकोटा २०५१ सालमा अखिल क्रान्तिकारी बाल इकाइ समितिमा संगठित भएका थिए । ०५६ सालबाट उनी भूमिगतरूपमा माओवादी आन्दोलनमा सहभागी भएका थिए । माओवादीमा भूमिगत जीवन शुरू गरेपछि सापकोटा ०५८ मा जनमुक्ति सेनामा स्क्वाड कमान्डर बनेका थिए ।

०५९ मा प्लाटुन कमान्डर हुँदै ०६१ मा कम्पनीका कमिसार र ०६२ मा ११औँ बटालियन कमान्डर बन्ने अवसर पाएका थिए । पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि ०७१ मा जिल्ला पार्टी मोर्चा उनको काँधमा आएको थियो । ०७३ मा उनी माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य, ०७५ मा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपाको केन्द्रीय समिति सदस्य तथा जिल्ला सहइन्चार्जको भूमिका सापकोटालाई प्राप्त भएको थियो । अहिले उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन् भने सिन्धुपाल्चोकका पार्टी इन्चार्ज पनि हुन् ।
चुनावी चर्चा
सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा गठबन्धनको उम्मेदवार बनेका सापकोटालाई आफ्ना काका अग्निप्रसाद सापकोटाको विरासत धान्ने जिम्मेवारी आइलागेको छ । त्यहाँबाट चुनाव जितेका अग्नि पटक–पटक मन्त्री र सभामुखसम्मको राजकीय भूमिकामा पुगेका छन् । उनकै छत्र छायाँमा हुर्किएका माधव पहिलो पटक चुनावी मैदानमा छन् ।
सिन्धुपाल्चोक–१ मा गठबन्धनका शक्तिहरूले खुलेर सहयोग नगर्दा चुनावी जित निकाल्न त्यति सहज छैन । अर्कोतर्फ, उक्त क्षेत्रको प्रमुख शक्ति कांग्रेसको प्रतिनिधि सभामा उम्मेदवार नहुँदा कांग्रेसको मत चोर्न सजिलो हुने एमालेको विश्लेषण छ । राजनीतिक शक्तिको हिसाबले सिन्धुपाल्चोक–१ मा माओवादी केन्द्र र कांग्रेसको सम्बन्ध तिक्ततापूर्ण छ ।
उम्मेदवार दर्ताकै क्रममा कांग्रेस र माओवादी केन्द्रमा विभाजन देखिएको थियो । उनीहरूले सँगै निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएनन् । पछिल्ला दिनमा चुनावी प्रचारको क्रममा पनि माओवादी केन्द्रले कांग्रेसको खुलेर साथ र समर्थन नपाएको गुनासो माओवादी केन्द्रका नेताहरूको छ ।
माओवादी केन्द्रबाट २०७४ मा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर जितेका अमानसिंह तामाङ एमाले प्रवेश गरेर प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन् ।
उनको निर्वाचन क्षेत्र–२ मा भए पनि क्षेत्र नम्बर–१ को केही मतमा उनको प्रभाव रहने सिन्धुपाल्चोकका माओवादी नेताहरू स्वीकार्छन् । कांग्रेसले सहजै चुनावमा सहयोग गर्दा माधव सापकोटाले संसद्को यात्रा सुनिश्चित गर्न सक्छन् ।
गठबन्धनको तर्फबाट प्रदेश सभा–१ मा कांग्रेसको तर्फबाट मानकुमारी खडका (मसिना)ले उम्मेदवारी दर्ता गराएकी छन् । प्रदेश सभा–२ मा माओवादीको तर्फबाट सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
तर, एमालेको उम्मेदवार सरेश नेपाल पनि सापकोटाका लागि कमजोर उम्मेदवार होइनन् । क्षेत्र नम्बर–१ मा कांग्रेसको उम्मेदवार नभएको र कांग्रेसका मतदाताले माओवादीलाई भन्दा एमालेलाई नै सघाउने विश्लेषण सिन्धुपाल्चोक एमालेको छ । कांग्रेसको उम्मेदवार नहुनुलाई नै सिन्धुपाल्चोक एमालेले जितलाई सजिलो बनाउने पक्षकोरूपमा विश्लेषण गरिरहेको छ ।
माओवादी अस्थिर भएको कारण देशको राजनीति बिग्रिएको र अबको चुनावबाट माओवादीलाई परास्त गरेर एमाले र कांग्रेसको प्रतिस्पर्धा हुने अवस्था बनाउनुपर्ने भन्दै एमालेका नेताहरूले भाषण गर्ने गरेका छन् ।
एमालेले एक्लै चुनावी प्रतिस्पर्धामा भाग लिएको भए पनि सिन्धु एमालेभित्रको अन्तरविरोध मिलाउनुपर्ने चुनौती सरेश नेपालमाथि छ । सिन्धुपाल्चोक एमालेका दुई हस्तीहरू अरुण नेपाल र सरेश नेपालकै सम्बन्ध सौहार्द छैन । नाताले उनीहरू दाजु–भाइ पर्छन् । तर, सिन्धुपाल्चोकबाट केन्द्रीय राजनीतिमा को हाबी हुने भन्ने लडाइँले उनीहरूको सम्बन्ध बिग्रदै आएको छ । एमालेमा अरुण नेपाल १० बुँदे पक्षधर हुन् भने सरेश नेपाल एमाले अध्यक्ष केपी ओलीनिकट मानिन्छन् ।
एमालेको तर्फबाट प्रदेश सभा–१ मा युद्धविक्रम तामाङ (डिबी)ले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा–२ मा होमनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका अध्यक्ष कमल नेपाल भने एमालेको मजबुत संगठन नै सिन्धुपाल्चोकमा एमालेको जितको आधार रहेको बताउँछन् । ‘एमालेले गरेको काम जनतामा स्पष्ट छन् । हाम्रो नीति र विचार उत्कृष्ट छ जसलाई जनताले मन पराएका छन् । उम्मेदवार पनि जनताले चाहेअनुसारकै छन् । गठबन्धनले देशको विकास गर्दैन भन्ने पछिल्ला केही महिनामा स्पष्ट भइसकेको छ’, नेपाल भन्छन् ।