२७ जेठ २०८३, बुधबार
प्रतिनिधि सभा निर्वाचन २०७९

यसपटक सोलुखुम्बुमा एमालेले इतिहास बनाउँदै छ- मानवीर राई [अन्तर्वार्ता]

कात्तिक १९, २०७९
यसपटक सोलुखुम्बुमा एमालेले इतिहास बनाउँदै छ- मानवीर राई [अन्तर्वार्ता]

समुन्द्री सतहबाट ६ सय मिटरदेखि ८ हजार ८४८ मिटर उचाइसम्म फैलिएको सोलुखुम्बु जिल्लामा जति मौसम चिसिएको छ त्यति नै चुनावी माहोल गर्माएको छ । 

सोलुखुम्बुमा गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका नेता बलबहादुर केसी सातौँ पटक चुनावी मैदानमा छन् भने एमाले नेता मानवीर राईले उनलाई चुनौती दिइरहेका छन् । 

सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा अहिलेसम्म जितको इतिहास बनाउन नसकेको एमालेका नेता राईका लागि व्यक्तिगत र सांगठानिक दुवै हिसाबले अवसर र चुनौती छ । राई पहिलो पटक चुनावी मैदानमा आएका हुन् । उनले जित निकाल्न सक्दा उनी र उनको पार्टी दुवैको लागि इतिहास कायम हुनेछ । 

सोलुखुम्बुको चुनावी माहोल, एमालेको चुनावी प्रचार र रणनीतिका बारेमा एमालेका उम्मेदवार मानवीर राईसँग गरिएको कुराकानीको सम्पादित अंश-

सोलुखुम्बु सगरमाथाको जिल्ला भनेर चिनिन्छ, मौसम झन्झन् चिसिँदै छ, चुनावी माहौल चाहिँ कत्तिको तातेको छ ? 

सोलुखुम्बु दुर्गम हिमाली जिल्ला भए पनि जनचेतनाको बढेको छ । जनतामा चेतना, नविनताको अनुभूति बढेको पाइन्छ । अघिल्ला निर्वाचनको माहौलमा जनसहभागिता हेर्दा पनि उनीहरूमा सचेतना अभिवृद्धि भएकै देखिन्छ । अहिले सोलुखुम्बुका जनताले नयाँ नेतृत्वको खोजी गरिरहेका छन् । त्यसो हुँदा सोलुखुम्बुको चुनावी माहौल निर्वाचन केन्द्रित भएर गर्माउँदै गएको छ ।

तपाईंले निर्वाचन प्रचार–प्रसार कसरी गरिरहनुभएको छ ? 

हामीले यसअघि अगुवा कार्यकर्ता भेला र छलफलका कार्यक्रम गर्‍यौं । अगुवा कार्यकर्तासँग जिल्लाभर नै भेटवार्ता, निर्वाचन केन्द्रित छलफल र योजना बनाउने काममा व्यस्त रह्यौं । त्यही सिलसिलामा काठमाडौंमा रहेका अगुवा कार्यकर्तासँग भेटघाट र छलफलको लागि काठमाडौंमा पनि कार्यक्रम आयोजना भएको थियो । हामी काठमाडौंदेखि सोलुखुम्बुसम्म नै प्रभावकारीरूपमा एमालेको पक्षमा चुनावी माहौल बनाउने प्रयत्न गरिरहेका छौँ । अब भने चुनावी सभा र घरदैलो कार्यक्रम गर्न पाइन्छ । अहिले हामी त्यसैमा लागिरिहेका छौं । 

सोलुखुम्बका जनताले नेकपा एमालेका उम्मेदवार मानवीर राईलाई नै किन मत दिनुपर्‍यो ? अन्य उम्मेदवारको तुलनामा तपाईंको विशेष क्षमता र योग्यता के हो ? 

म आफू मात्रै दाबी गरेर उम्मेदवार भएको होइन । मेरो उम्मेदवारी जनताको चाहना हो । म कुनै नेताको पछि लागेर, नेतालाई प्रभावित गरेर र खुशी पारेर टिकट पाएको उम्मेदवार होइन । यसपटकको चुनावमा एमालेकोतर्फबाट मानवीर राईको उम्मेदवारी जसरी पनि हुनुपर्छ, मानवीर राईको उम्मेदवारी हुँदा हामीलाई मतदान गर्न सहज हुन्छ भनेर सोलुखुम्बुका जनताले नै मागेको उम्मेदवार म हुँ । 

मैले, सोलुखुम्बुको ६ सय मिटरदेखि ८८४८ मिटर उचाइसम्मको भुगोलको नेतृत्व गर्नसक्छु र अभिभावकीय जिम्मेवारी निर्वाह गर्नसक्छु । म सोलुखुम्बको भुगोल र जनतासँग चिरपरिचित छु । त्यहाँको भूगोल, जातजाति, समुदाय, धर्म संस्कृति, विकास सबैको बारेमा ज्ञान राख्ने व्यक्ति हुँ । मलाई जनताले पनि त्यहीरूपमा चिनेका छन् । जनताको यही चाहना र सुझावको आधारमा मेरो पार्टीले मलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । सोलुखुम्बुको समग्र विकासको लागि मेरो आवश्यकता महसुस भएकाले जनताले मेरो माग गरेका छन् । 

अरू जिल्लामा म जाँन्दिन तर, सोलुखुम्बुमा गठबन्धन भनेको चाहिँ देखाइने र हल्ला गरिने चिज मात्रै हो । गठबन्धनलाई जनताले पचाएका छैनन् । गठबन्धनभित्रका दलका राजनीतिक कार्यकर्ता, कतिपय नेताहरू नै गठबन्धनको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरिरहेका छन्

सोलुखुम्बुका जनताले तपाईंलाई मत दिएर प्रतिनिधि सभा सदस्यमा जिताए भने तपाईंले गर्ने मुख्य प्राथमिकताका कामहरू के–के हुन् ? 

प्राकृतिक स्रोतको परिचालनमार्फत देशलाई नै सबैभन्दा धेरै रोयल्टी बुझाउने जिल्ला सोलुखुम्बु हो । जहाँ सगरमाथालगायत अग्ला हिमशिखरहरू छन् । त्यसपछि, जलविद्युत् आयोजनाबाट सोलुखुम्बुले रोयल्टी दिन सक्छ । दुधकोशी, लिखु, हुँगा लगायतका खोलानालामा प्रशस्त विद्युत् उत्पादन गर्न सक्ने अवस्था छ । कम्पनीहरूले ती नदीमा जलविद्युत् उत्पादनको लागि लाइन्सेस लिएर बसेका छन् । ती जलविद्युत् आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि वातावरण बनाउनुपर्ने छ । त्यसका लागि सडक यातायातको पहुँच पर्‍याउनुपर्ने छ । ती आयोजनाहरू चाँडो सम्पन्न हुँदा सोलुखुम्बुका ८ वटा स्थानीयतहले पनि रोयल्टी पाउँछन् । त्यो पैसाले स्थानीय जनताको आवश्यकताअनुसारका विकासका काम अघि बढाउन सकिन्छ । पर्यटन सोलुखुम्बुको अर्को महत्वपूर्ण क्षेत्र हो । त्यसलाई थप व्यवस्थित गराउन जरूरी छ । कतिपय ठाउँमा टेलिफोनको पहुँचसमेत छैन ।

सोलुखुम्बुको तल्लो भेगमा धेरै जातजाति, आदिवासी जनजातिहरूको बसोबास छ । त्यहाँ विभिन्न परम्परा, संस्कार, संस्कृति हेर्नका लागि पर्यटकहरू पुग्ने गरेका छन् । त्यसलाई थप व्यवस्थित गर्ने र प्रचार प्रसारको काम गराउनुपर्ने छ । सोलुखुम्बुमा साइक्लिङको सम्भावना छ । यो जनताको माग पनि हो । साइक्लिङको नयाँ अवधारणालाई कार्यान्वनय गराउने मेरो प्रयास हुन्छ । साइक्लिङका नयाँ खेलहरू खेलिने वातावरण सोलुखुम्बुमा बनाउन सकिन्छ ।

तपाईंले आफ्नो उम्मेदवारी जनताको माग हो त भन्नुभयो तर, सोलुखुम्बुको चुनावी अंक गणित हेर्दा सत्ता गठबन्धनको मतभार एमालेको भन्दा बढी छ । यो अवस्था हेर्दा त तपाईंको जित त्यति सहज त देखिँदैन नि ? 

मेरो जित अप्ठ्यारो छ भन्ने मैले महसुस गरेकै छैन । जनता सधैं एउटा राजनीतिक दल र व्यक्तिको पक्षमा हुँदैन । धरान, काठमाडौंको उदाहरण हेर्नुभयो भने जनता साझा हुन भन्ने नै हुन्छ । जनताले मतदान गर्नुअघि उम्मेदवार कस्तो छ भनेर हेर्छन् । विगतको चुनावमा खसेको मतको आधारमा एमाले र कांग्रेसको बीचमा तात्विक अन्तर छैन । गठबन्धनको जुन हाउगुजी छ, अरू जिल्लामा म जाँन्दिन तर, सोलुखुम्बुमा गठबन्धन भनेको चाहिँ देखाइने र हल्ला गरिने चिज मात्रै हो । गठबन्धनलाई जनताले पचाएका छैनन् । गठबन्धनभित्रका दलका राजनीतिक कार्यकर्ता, कतिपय नेताहरू नै गठबन्धनको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

टिकट वितरणको बेलामा पनि शुरुमा माओवादी केन्द्रले टिकट पाउने सहमति भइसकेको थियो । पायो अर्कैले । पार्टीबाट सिफारिस नै नभएका व्यक्तिले रातारात टिकट ल्याएर उम्मेदवारी दर्ता गर्दा कस्तो भयो होला ?

गठबन्धनभित्रको अन्तरविरोधको फाइदा एमाले र तपाईंलाई हुन्छ भन्नेमा हुनुहुन्छ ? 

उनीहरूबीचको अन्तरविरोधले नै सबै चिज निर्धारण गरेको छ भन्ने होइन । म त्यसो भन्दिन । तर, असन्तुष्टि र अन्तरकलको चाङ धेरै छन् । सबैभन्दा शक्तिशाली भनेको जनता हो । सोलुखुम्बुमा हुजुरबुवाले, बुबाले र अहिले छोरा नातिले पनि एउटै व्यक्तिलाई मत दिन्छन् भन्ने हुँदैन । अब समय फेरिइसक्यो । जनता एउटै व्यक्तिलाई भोट हाल्दा हाल्दा वाक्कदिक्क भइसके । जो पटक–पटक उम्मेदवार बन्नुभयो, विजयी पनि हुनुभयो तर, उहाँको विजय सोलुखुम्बुबासीको हितमा भएन । अहिले जनताले पनि पार्टीभन्दा पनि उम्मेदवारको लोकप्रियता हेर्न थालेका छन् ।

मेरो प्रतिस्पर्धी उम्मेदवारले अहिले सातौं पटक उम्मेदवारी दिनु भएको छ । उहाँले सोलुखुम्बुमा जनताको पक्षमा खासै काम गर्नुभएको छैन । जनतालाई सन्तुष्टि दिन सक्नुभएको छैन । विकासमा खास लागि नपरेको हुँदा जनता वाक्कदिक्क भएका छन् । त्यसकारण, जनताले परिवर्तन चाहेका छन् । परिवर्तनको पक्षमा रहेका जनताले चाहेको उम्मेवार म हुँ । मैले निष्कलंक भएर सबैको सेवा गरेको छु । कतिपय अवस्थामा पार्टी–पार्टी बीचको अन्तरकलहको खाडललाई पनि पुर्ने काम गरेको छु । म त जिल्लाभरकै साझा उम्मेदवार हुँ । मलाई सबै दलका कार्यकर्ताले भोट हाल्ने अवस्था छ । सोलुखुम्बुमा यस्तो अर्को उम्मेदवार छैन । 

तर, सोलुखुम्बुमा चुनावी आफ्नो पक्षमा पार्नका लागि विपक्षीहरूले हरेकजसो चुनावमा हर्कत गर्ने गरेका छन् । मतदाताहरूलाई ढुंगा हनाउने, कुटपिट गर्ने, वृद्धवृद्धाहरूलाई समेत ढुंगामुढा गरेर भोट हाल्न जान नदिने गरेको विगत छ । अपरिचित मान्छे लगेर विभिन्न हर्कत गरिएको थियो । तर, अहिले अवस्था त्यस्तो छैन । अहिले चेतनाको युग हो । प्रविधिको समय हो । हिजो जनतालाई ढाटेर चुनाव जित्नेहरूले थाहा पाउनुपर्छ की अब जनतालाई ढाट्ने कुरा सकिँदै गएको छ । अबको चुनावमा मतदाताले मलाई जिताउने छन् र मैले सोलुखुम्बुबासीलाई अभिभावकीय नेतृत्व दिन्छु । यसपटक सोलुखुम्बु एमालेले पार्टी जीवनमै नयाँ इतिहास बनाउने निश्चित छ । 

सोलुखुम्बुका मतदाताले चाहिँ तपाईंलाई कसरी बुझिदिउन् भन्ने चाहनुहुन्छ ?

म सबैको साझा प्रतिनिधि बन्न चाहन्छु । सबैले अभिभावकत्व महसुस गर्न सक्ने गरी काम गर्न चाहन्छु । समृद्ध सोलुखुम्बु, सुखी सोलुखुम्बु र पर्यटकीय सोलुखुम्बु निर्माण गर्नको लागि सबै जाति, क्षेत्र र समुदायलाई एकताबद्ध बनाएर लैजाने सपनासहित आएको उम्मेदवारको रूपमा जनताले बुझ्नुभएको छ । त्यसलाई आत्मसाथ गरिदिनुहोस् भन्ने अपेक्षा छ । म सधै भेदभाव र भ्रष्टाचारको विपक्षमा उभिँदै आएको छु । यसलाई आगामी दिनमा थप शसक्त बनाउनेछु । त्यसका लागि मलाई सोलुखुम्बुबासीको साथ चाहिएको छ । त्यो साथ मैले पाउँछु भन्ने विश्वास छ । 
 

salt training

कमेन्ट गर्नुहोस्