२७ जेठ २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

प्युठानको चुनावी हिसाबकिताब : पहिलो परीक्षामा पास होलान् सूर्य थापा ?

कात्तिक २५, २०७९
प्युठानको चुनावी हिसाबकिताब : पहिलो परीक्षामा पास होलान् सूर्य थापा ?

पत्रकारिता हुँदै एमालेको राजनीतिमा उदाएका युवा नेता सूर्य थापा कम्युनिस्टको ‘गढ’का रूपमा पहिचान बनाएको प्युठानबाट प्रतिनिधिसभामा सदस्य पदको उम्मेदवार छन् ।

अघिल्लो निर्वाचन (२०७४) मा एमालेसहितको सहयोगमा निर्वाचित गराइएकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उनको प्रतिस्पर्धी हुन् ।

एमाले पोलिटब्यूरो सदस्य समेत रहेका थापाले पहिलो पटकमै संसदीय परीक्षा उत्तीर्ण गर्छन् कि पौडेलले आफ्नो जीतको यात्रालाई जारी राख्छिन् भनेर अहिले प्युठानमा चासो र चर्चा व्यक्त भइरहेको छ ।

पौडेल चुनाव जितेर ५ वर्षसम्म जिल्ला नफर्केको प्युठानबासीको गुनासो छ ।

२०७० मा समानुपातिकतर्फबाट संविधान सभामा पुगेकी पौडेलले २०७४ मा एमाले र माओवादीको साथले चुनाव जितेकी थिइन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा उनलाई यसपटक कांग्रेस र माओवादीको साथ छ ।

संघारमा आइसकेको प्रतिनिधिसभा निर्वाचनमा थापा र पौडेल घरदैलोमा केन्द्रित छन् । आफूलाई जिताउन जनतालाई विनम्रतापूर्वक आग्रह गर्दै राति अबेरसम्मै नेताहरू गाउँ–गाउँ पुगिरहेका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई बलियो गरी साथ दिने नेता थापालाई तेस्रोपटक चुनावी मैदानमा उत्रिएकी जनमोर्चा उपाध्यक्ष पौडेलको चुनौती छ ।

प्युठान जनमोर्चाको पुरानो किल्ला मानिन्छ । कांग्रेस, माओवादी केन्द्रसहित अन्य दलको साथ दुर्गालाई छ ।

यता पौडेलका प्रतिस्पर्धी एमाले नेता थापा जिल्ला पार्टीमा बलियो पकड भएका नेता मानिन्छ । 

यसअघि पौडेलले कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन् ।

पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए । पौडेल मोहनविक्रम सिंहकी पत्नी हुन् । 

३० वर्षदेखिको राष्ट्रिय जनमोर्चाको ‘रजगज’ आफूले भत्काउने थापाले दाबी गरे ।  

‘जनताको आशाको नजर हामीप्रति छ,’ थापाले लोकान्तरसँग भने, ‘समग्र र योजनाबद्ध प्युठानको विकासको एजेन्डा लिएर हामी जनतामाझ पुग्दा अब साना दलले होइन शक्तिशाली पार्टीले प्युठानमा जित्नुपर्छ भनेर भन्नुभएको छ । म मात्र होइन, प्रदेशसभातर्फका दुवै उम्मेदवारले जित निकाल्छौं ।’

प्युठानलाई बदल्ने समग्र विकासको खाकासहित आफूले ५१ बुँदे प्रतिबद्धतापत्र जनतासमक्ष ल्याएको थापाको भनाइ छ । 

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापाले प्रेस सल्लाहकार भएर काम गरेका थिए ।

धेरै कम्युनिस्ट नेताहरू जन्मिए पनि प्युठानले विकासमा गति लिन नसकेको आमजनताको गुनासो रहँदै आएको छ ।

अहिलेसम्म जिल्लाबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरूले जिल्लाको विकासमा सोचेअनुसार योगदान दिन सकेनन् भन्ने गुनासो मतदाताहरू सुनाउँछन् ।

एमालेले प्रदेशसभातर्फ १ (१) मा तुलसीराम शर्मा र १ (२) मा हरि रिजाललाई उम्मेदवार बनाएको छ । 

शक्ति सन्तुलनका हिसाबले प्युठानमा पहिलो शक्ति र चौथो शक्तिबीच चुनावी प्रतिस्पर्धा भए पनि गठबन्धनको मत एमालेभन्दा बढी छ ।

स्थानीय तह निर्वाचनको नतिजा अनुसार एमालेले ३९ हजार ८७७, कांग्रेसले २१ हजार ५४६, माओवादीले १७ हजार १६३, जनमोर्चाले १३ हजार ६१२ र एकीकृत समाजवादीले १ हजार ४१७ मत पाएका छन् ।

एक्ला–एक्लै चुनाव लड्दा एमाले बलियो भए पनि गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले थापालाई त्यति सहज छैन । जीतका लागि उनले विपक्षी गठबन्धनभित्रको विवादमा भर पर्नुपर्नेछ ।

गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेकी पौडेल १०१ बुँदे साझा प्रतिबद्धता लिएर जनताको घरदैलोमा पुगेकी छिन् । विभिन्न क्षेत्रगत विकासका एजेन्डाहरू उनको प्रतिबद्धतामा समेटिएको छ । 

गठबन्धनबाट प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश) र प्रदेशसभा २ मा कांग्रेसका सरोज थापा पनि तीनै प्रतिबद्धता बोकेर मतदाताको बीचमा पुगेका छन् । 

जनमोर्चा नेत्री तथा निवर्तमान प्रदेश सांसद तारा जिसीले गठबन्धन प्युठानमा मजबुत रहेकाले दुर्गा पौडेलको जीत सुनिश्चित रहेको दाबी गरिन् ।

‘एमालेभन्दा हामी १५ हजार मतले अगाडि छौं,’ जीसीले लोकान्तरसँग भनिन्, ‘निष्ठाको राजनीति गर्ने दुर्गालाई अन्तरघात हुँदैन । कांग्रेसमा असन्तुष्टि छैन । हामीले जीत सुनिश्चित देखेका छौं ।’

‘यसअघि पनि एमालेले जिल्लाबाट जितेको थियो, केही गरेन । अहिले जनमोर्चाले केही गरेर भनेर भ्रम सिर्जना गरिँदैछ । त्यो कुरा जनताले पत्याउँदैनन्,’ जिसीले थपिन् । 

प्रस्तावित चाल्नेटार विमानस्थलको विवादलाई समाधान गर्दै निर्माण कार्य अगाडि बढाउनेदेखि एक घर एक धारा पुर्‍याई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने प्रतिबद्धता गठबन्धनको छ ।

गठबन्धन र एमालेले अघि सारेका धेरैजसो प्रतिबद्धता मिल्दाजुल्दा छन् । 

गठबन्धनमा सहभागी पाँच दलमध्ये राजमोले देशभरमै प्युठान र बाग्लुङ– १ मा मात्र उम्मेदवारी दिएको छ ।

बाढीपहिरो र कोरोनाका बेला नागरिकको साथमा नरहेको आरोप पौडेलमाथि छ । मतदाताको आक्रोश खेप्दै पौडेल मत माग्न गाउँगाउँ पुगेकी छिन् । 

बहुदल आएपछि नेपालमा ६ वटा निर्वाचन सम्पन्न भए । प्युठानमा शुरूका २ निर्वाचनमा कांग्रेसले जिते पनि त्यसपछिका सबै निर्वाचन कम्युनिस्टले जितेका छन् ।

२०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसले जीत हासिल गर्‍यो । १ नम्बर क्षेत्रबाट कांग्रेसका शिवराज सुवेदी र २ नम्बर क्षेत्रबाट मुक्ति शर्माले जीत निकालेका थिए । 

२०५१ सालको मध्यावधि निर्वाचनमा १ नम्बर क्षेत्रबाट पुनः सुवेदी र २ नम्बर क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीले जिते । 

२०५६ सालको निर्वाचनमा भने दुवै क्षेत्रमा जनमोर्चाले जित्यो । १ नम्बर क्षेत्रबाट हरि आचार्य र २ नम्बर क्षेत्रबाट नवराज सुवेदी नै दोहोरिए । 

२०६२/०६३ को परिवर्तनपछि भएको पहिलो संविधानसभा निर्वाचनमा २ वटै क्षेत्रमा नेकपा माओवादी केन्द्रले जीत निकाल्यो । 

१ नम्बर क्षेत्रबाट नारायण अधिकारी र २ नम्बर क्षेत्रबाट दीपक केसीले जिते ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाका २ वटै क्षेत्र एमाले जित्यो । १ नम्बर क्षेत्रबाट तत्कालीन एमालेका प्रभावशाली नेता वामदेव गौतम र २ नम्बर क्षेत्रबाट हिरा केसीले जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्