२६ जेठ २०८३, मंगलबार

हुम्ला–डोल्पामा मतगणना अनिश्चित, मतपेटिका अझैं गाउँमै

हुम्ला–डोल्पामा मतगणना अनिश्चित, मतपेटिका अझैं गाउँमै

निर्वाचन आयोगले मतपेटिका ढुवानी गर्न हेलिकोप्टरको व्यवस्था मिलाए पनि कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पामा भने अझैं मतपेटिका गाउँमा थन्किएका छन् । निर्वाचन सम्पन्न भएको ४८ घण्टा बितिसक्दासमेत हेलिकोप्टरले मतपेटिका ढुवानी गर्न सकेको छैन । आयोगले हुम्ला र डोल्पामा मतपेटिका ढुवानीका लागि नेपाली सेनाको हेलिकोप्टरलाई जिम्मा दिएको छ ।

हुम्लाका निर्वाचन अधिकारी श्याम रानाले आफूहरु हेलिकोप्टरको पखाईमा मंगलवार दिनभर सिमकोट विमानस्थलमा बसेको बताए । ‘हेलिकोप्टरमा प्राविधिक समस्या देखियो भन्ने सूचना आयो’, उनले भने, ‘जसले गर्दा मतपेटिका सदरमुकाम ल्याउन सकिएको छैन् ।’  

उनका अनुसार हुम्लाको सर्केगाड, अदानचुली, चंदेली, ताजाकोट गाउँपालिकाका मतपेटिका सर्केगाडमै थन्किएका छन् । यो क्षेत्रमा १४ हजार ७३८ मत खसेको थियो । सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका मतपेटिका भने मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा ल्याइएको छ । सर्केगाडबाट मतपेटिका ल्याउन ढिलाइले गणना अन्यौलमा परेको उनी बताउँछन् । 

डोल्पामा पनि हेलिकोप्टर नपुग्दा मतपेटिका अझैं गाउँमा छन् । डोल्पाका से–फोक्सेन्डो र डोल्पोबुद्ध गाउँपालिकाका केही मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम दुनै ल्याउन बाँकी छ । जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीका अनुसार मंगलबारसम्म जगदुल्ला र मुड्केचुलाबाट मतपेटिका ढुवानी गरिएको छ । 

हेलिकोप्टरले मतपेटिकासँगै मतदान अधिकृतलाई ल्याए पनि अन्य निर्वाचन कर्मचारी र सुरक्षाकर्मीहरु बाटोमै छन् । मतपेटिका सदरमुकाम ल्याउन ढिलाइले निर्वाचन कर्मचारी त्रासमा छन् । ‘कहाँ कसले तोडफोड गर्ने हुन की भन्ने चिन्ताले सताउने गरेको  छ, अन्य जिल्लामा नतिजा आइसक्दा हामीकहाँ मतपेटिका ल्याउन सकिएको छैन’, डोल्पाका निर्वाचन अधिकारी सार्कीले भने, ‘जिम्मेवारी लिएको नेपाली सेनाले ढुवानीमा बेवास्ता गर्दा तनाव बढेको छ ।’ 

मुगुमा भने पैदल मार्गबाटै मतपेटिका सदरमुकाम गमगढी ल्याइएको छ । मुगुका निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले सबै मतपेटिका आइपुगेको र बुधवार बिहानैदेखि गणना शुरु गरिने जानकारी दिए । कर्णालीका हुम्ला, मुगु र डोल्पाबाहेकका जिल्लामा गणना शुरु भइसकेको छ । 

मुगुमा बुधवारबाट गणना हुने टुंगो लागे पनि हुम्ला र डोल्पामा भने अनिश्चित छ । सुर्खेत १ को सिम्ता बहुमुखी केन्द्रमा मंगलवार पुनः मतदान भएको थियो । यस क्षेत्रमा राति १० बजेदेखि मतगणना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्