
सुर्खेत–२ बाट २०५१ यताका सबै संसदीय निर्वाचन लड्दै आएका छन् कांग्रेस नेता हृदयराम थानी ।
संघीय संरचनापछि उनको चुनावी क्षेत्र बढेको छ । साबिकको क्षेत्र नम्बर–३ को भूगोल पनि २ मै गाभिएको छ । छैंठौ पटकको प्रतिस्पर्धामा बुधबार बिहान उनी यही क्षेत्रबाट तेस्रो जीत निकाल्न सफल भए ।
एमालेका जिल्ला अध्यक्ष अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पराजित गर्दै उनले प्रतिनिधिसभाको यात्रा तय गरेका छन् ।
यस पटकसमेत गरी ६ वटा आम चुनावमा प्रतिस्पर्धा गरेका थानीसँग जीतसंगै हारको अनुभव पनि उत्तिकै छ । २०५१ मा एमालेका यामलाल कँडेलसँग पराजित भएका उनी २०५६ मा उनै कँडेललाई हराउन सफल भए ।
२०६४ को संविधानसभा निर्वाचनमा पनि तेस्रोपटक कँडेलसंगै उनको प्रतिस्पर्धा भयो । अन्ततः कँडेल विजयी भए, थानीले हार बेहोर्नुपर्यो ।
२०७० को संविधानसभा निर्वाचनमा भने कँडेललाई हराएर थानीले अघिल्लो हारको बदला लिए । लगातार चार संसदीय निर्वाचनदेखि चल्दै आएको थानी–कँडेल जीत–हारको श्रृङ्खला २०७४ बाट भने विश्राम लागेको छ ।
त्यसो त थानी–कँडेलबीचको रोचक प्रतिस्पर्धा संसदीय राजनीतिमा मात्र होइन, शंकरदेव क्याम्पसदेखि चल्दै आएको हो । २०४० सालमा स्ववियू सभापतिमा उनीहरुबीच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा थानीले कँडेललाई हराएका थिए ।
२०७४ मा कँडेल मुख्यमन्त्री हुने आकांक्षासहित प्रदेशसभाका उम्मेदवार बने । आफ्ना पुराना प्रतिस्पर्धीले प्रदेशसभा रोजेपछि उनले नयाँ प्रतिस्पर्धीको सामना गर्नुपर्यो ।
वाम गठबन्धनका उम्मेदवार एमालेका नवराज रावतसँग उनी पराजित हुन पुगे । २०७४ को हारलाई जीतमा बदल्न थानीका लागि सहज बन्यो, सत्तारुढ दलको समर्थन । गठबन्धनको बलमा थानीले तेस्रो हारमात्र होइन, तेस्रो जीत पनि निकाल्न सफल भए ।
पार्टीभित्र महत्वपूर्ण पदमा नभएपनि कांगे्रसको केन्द्रीय राजनीतिमा थानी परिचित छन् । कांगे्रसभित्रको दुई लाइन संघर्षका कारण उनी सधैं चर्चामा रहने गर्दछन् ।
जिल्लामा पूर्णबहादुर खड्का र उनले फरक–फरक समूहको नेतृत्व गर्दै आएका छन् । थानीसँग सांसदका अतिरिक्त २०७३ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहकारी तथा गरिबी निवारणमन्त्री र २०५६ देखि २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि पुनस्र्थापित संसदमा राज्य व्यवस्था समितिको सभापति भएको अनुभव छ ।
२०१७ सालमा सुर्खेतको बयलकाँडामा जन्मिएका थानी वीरेन्द्रगनर नगरपालिका–१ का स्थायी बासिन्दा हुन । उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तरसम्मको औपचारिक शिक्षा पूरा गरेका छन् ।
२०३६ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई सभापतिको जिम्मेवारी पाएका उनी त्यसयता निरन्तर राजनीतिमा छन् ।
१३ औं महाधिवेशनमा लोकप्रित मतसहित केन्द्रीय सदस्य जिते पनि १४ औं महाधिवेशनमा भने एक मतले पराजित हुन पुगे । केन्द्रीय सदस्यमा थानी मात्र होइन, जिल्ला अधिवेशनमा उनको समुह पछारियो । थानी समूह पार्टी भूमिकाबाट किराना लागिरहेका बेला थानी प्रतिनिधिसभामा विजयी भएसँगै सुर्खेतमा उनीनिकट कार्यकताहरु थप उत्साही भएका छन् ।
निर्वाचित भएलगत्तै सार्वजनिक प्रतिक्रिया दिँदै थानीले चुनावमा गरेका वाचाहरु पुरा गर्ने अवसर मिलेको बताए । ‘मैंले जति चुनाव जिते, आफूले गरेका वाचा, प्रतिवद्धता पूरा गर्दै आएको छु’, उनले भने, ‘यसपटक पनि जनतासामु जे–जे प्रतिवद्धता गरेको छु, ती पूरा गर्न अहोरात्र खट्नेछु ।’
वीरेन्द्रनगरको खानेपानी समस्या, १३२ केभी प्रशारणलाइन, पश्चिम सुर्खेतको सडक विस्तार र वीरेन्द्रनगर चक्रपथ निर्माणलाई प्राथमिकतामा राख्ने उनको भनाई छ ।