
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फराकिलो मतान्तरसहित प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट सत्तारुढ गठबन्धनका उम्मेदवार डा. खगेन्द्र अधिकारीलाई साढे २८ हजार मतान्तरले पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणामअनुसार ओलीले ५२ हजार ३१५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी ५ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. अधिकारीले २३ हजार ७४१ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेसकुमार पोखरेलले १० हजार ८८६ मत प्राप्त गरे । ओलीले अधिकारीलाई २८ हजार ५७४ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।
फराकिलो मतान्तरको जितसँगै ओली तेस्रोपटक प्रधानमन्त्री बन्ने तयारीमा लाग्नेछन् । उनलाई एमालेले भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरिसकेको छ । एमाले मंसिर ४ पछि ओलीको नेतृत्वमा सरकार गठन गर्ने घोषणासहित निर्वाचनमा होमिएको थियो । उनले यसअघि संविधान जारी भएपछि २०७२ र २०७४ को निर्वाचनपछि दुईपटक सरकारको नेतृत्व गरिसकेका छन् ।
२०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रको सहयोगमा सरकार बनाएका ओलीले माओवादीसँग पार्टी एकतासमेत गरेका थिए । तर, सर्वोच्च अदालतले उक्त एकता बदर गरिदिएको थियो । अढाई वर्ष सरकारको नेतृत्व गरेका उनी दुईपटक संसद् विघटन गरेपछि आलोचित बनेका थिए । आफ्नै पार्टीका सांसदहरूले अदालतमा गएर उनलाई सरकारको नेतृत्वबाट च्यूत गराउन हस्ताक्षरसमेत गरेका थिए ।
ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको थियो । उनको परिवार २०२२ सालमा बसाइँ सरेर झापा झरेको थियो । उनी झापा ५ बाट निरन्तर निर्वाचन लड्दै आएका छन् । २०६४ बाहेकका सबै संसदीय निर्वाचन उनले सोही क्षेत्रबाट जित्दै आएका छन् । उनी निर्वाचन क्षेत्र परिवर्तन नगर्ने नेताका रूपमा रहेका छन् ।
२०६४ मा भने उनी तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङदेनसँग पराजित भएका थिए । २०७४ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनी फराकिलो मतान्तरसहित जितेका थिए । २०७४ मा पनि उनले कांग्रेसका डा. अधिकारीलाई नै पराजित गरेका थिए । उनीहरूबीच प्रतिनिधि सभा सदस्य पदका लागि दोस्रोपटक प्रतिष्पर्धा भएको हो । यसअघि २०७४ मा पनि ओलीले अधिकारीलाई करिब २८ हजार मतान्तरले नै पराजित गरेका थिए ।
पहिलो पटक डा. भट्टराईसँगको प्रतिष्पर्धामा ओलीलाई तत्कालीन नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीलेसमेत समर्थन गरेको थियो । यसपटक भने ओलीले राप्रपाको मात्र साथ पाएका थिए । माओवादी केन्द्र ५ दलीय गठबन्धनका रहेका कारण उनीविरुद्ध लागेको थियो ।